समयमै नगए मुहानमा पानी भर्न नपाउने भएपछि स्थानीय महिला उज्यालो नहुँदै उठ्छन् ।
सल्यान — सडक निर्माणका क्रममा डोजरले पाइप काटेर फालेपछि जिल्लाको छत्रेस्वरी गाउँपालिका–१ सिन्दुरेका स्थानीय खानेपानीको लागि दुई महिनादेखि एक घन्टा हिँडेर मुहान धाउन बाध्य छन् । काटिएको पाइप जडानमा ढिलाई हुँदा स्थानीय खानेपानीको लागि एक घन्टा हिँडेर मुहान धाउन बाध्य भएका हुन् ।
खानेपानीको लागि गाग्री बोकेर उकालो, ओरालो लामो समय हिँड्नुपर्दा स्थानीय महिलालाई सास्ती भएको छ । समयमै नगए मुहानमा पानी भर्न नपाउने भएपछि स्थानीय महिला उज्यालो नहुँदै उठ्छन् । दुई महिनादेखि धारामा पानी आउन छाडेपछि बस्तीका २५ घर प्रभावित भएका छन् ।
केही महिनाअघिसम्म घर नजिकैको धारामा पानी भर्दै आएका स्थानीय डोजरले काटेर फालेको पाइप जडानमा निर्माण कम्पनीले ध्यान नदिएको र समितिले पनि आफनै लगानीमा पाइप किनेर जडान गर्न नसकेपछि एक गाग्री पानीको लागि एक घन्टा हिँड्न बाध्य हुनु परेको स्थानीय प्रेम चन्दले बताए । मदन भण्डारी राजमार्ग निर्माणको क्रममा डोजरले दुई महिनाअघि चार किलोमिटर पाइप काटेर फालेको उनको भनाइ छ ।
‘बारम्बार हामीले निर्माण कम्पनीलाई आग्रह गरेका थियौं । कम्पनीले चासो नदेखाएपछि हामीले टंकीसम्म टुंक्राटाक्री पाइप जोडेका थियौं । पाइप जडान गरे पनि पर्याप्त पानी आएन । पहिला दैनिक धारामा पानी भर्न पाउथे । पर्याप्त पानी नहुँदा अहिले तीन दिनको पालो आउँछ । एक घरले २ सय लिटरभन्दा बढी पानी भर्न पाउँदैनन् । दुई सय लिटर पानीले नपुग्ने भएपछि स्थानीय महिला मुहान धाउन बाध्य छन्,’ उनले भने ।
धारामा पानी आउन छाडेपछि बिहानै मुहान धाउनुपर्दा धेरै गाह्रो हुने गरेको स्थानीय महिला रीता चन्दले बताइन् । गर्मी बढेसँगै मुहानमा पानी सुक्दै गएपछि एक गाग्री पानीको लागि लामो समय कुर्नुपर्ने अवस्था आउन थालेको उनले जानकारी गराइन् । अहिले धारामा पानी नआए पनि मासिक शुल्क भने तिरिरहनुपरेको उनको भनाइ छ ।
खानेपानी उपभोक्ता समितीका अध्यक्ष नीमबहादुर चन्दले निर्माण कम्पनीले मर्मत नगरिदिने र समितिले चार किलोमिटर पाइप किनेर जडान गर्न नसक्ने भएकाले टुक्राटाक्री पाइप जडान गरेर अर्को मुहानबाट पानी ल्याए पनि पर्याप्त नभएको बताए ।
काटिएको पाइप पुन: जडानको लागि माग राख्दै आएपछि पालिकामा कार्यरत सुस्वा परियोजनाका प्राविधिक टोली आएर नापजाँच गरेका र ५०/५० प्रतिशत लागत अनुदानमा काम गर्ने भनेपछि समितिले रकम जम्मा गर्न नसक्दा काम अगाडि बढन नसकेको उनले जानकारी गराए । ‘बस्तीमा खानेपानीको समस्या भएपछि खानेपानी तथा ऊर्जा विकास कार्यालयले चार वर्ष अघि ४३ लाख रकम खर्चेर कोटमौला नजिकैको मुहानबाट पानी ल्याएर उक्त योजना सम्पन्न गरेको थियो । प्रत्येक घरमा धारा जडान गरेपछि स्थानीय महिलालाई पानीको लागि कुवा, मुहान धाउन पर्दैनथ्यो । डोजरले काटेको पाइप समयमै नजोड्दा विगतमा जस्तो समस्या दोहोरिएको छ’ उनले भने ।
यता छत्रेस्वरी गाउँपालिका–१ का वडाध्यक्ष प्रकाश हमालले सडक निर्माण गर्दा क्षति भएको पाइप जडानका लागि पालिकामा माग गरेको बताए । स्थानीय उपभोक्ताले सडक निर्माण कम्पनीलाई जानकारी नगराउँदा समस्या भएको उनले जानकारी गराए ।
