सञ्चार र विद्युत् माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

स्थानीय तह र प्रदेश सरकारसमक्ष पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि आफू बाध्य भएर धर्नामा बस्नुपरेको उनले बताएका छन् ।

जेष्ठ ३, २०८३

ज्योति कटुवाल

Ward chairpersons sit on a sit-in at the Chief Minister's Office demanding communication and electricity.

सुर्खेत — कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले सडक, सञ्चार र विद्युत् सेवाजस्ता आधारभूत पूर्वाधार विस्तारको माग राख्दै कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्ना दिएका छन् ।

रिजालले घुईयाबारी स्वामीबास बबई सडकको स्तरवृद्धि तथा कालोपत्रे, नेपाल टेलिकमको टावर निर्माण र गाउँमा विद्युत् विस्तारको काम तत्काल अघि बढाउनुपर्ने माग राखेर तीनदिन यता मुख्यमन्त्री कार्यालय अघि झुल टागेर बसेका छन् ।

स्थानीय तह र प्रदेश सरकारसमक्ष पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि आफू बाध्य भएर धर्नामा बस्नुपरेको उनले बताएका छन् । उनका अनुसार उक्त क्षेत्रका बासिन्दा अहिले पनि सहज सडक पहुँच, भरपर्दो सञ्चार सेवा र नियमित विद्युत्‌बाट वञ्चित छन् । 

वर्षायाममा सडक हिलाम्मे र अवरुद्ध हुँदा बिरामी ओसारपसार, खाद्यान्न ढुवानी तथा विद्यार्थीको आवतजावतमा समस्या हुने गरेको उनले बताए । ‘सडक नहुँदा जनताले राज्यको अनुभूति गर्न पाएका छैनन्,’ रिजालले भने, ‘विकासका सामान्य पूर्वाधारका लागिसमेत आन्दोलन गर्नुपर्ने अवस्था दुःखद हो ।’

विद्युतीकरण नहुँदा स्थानीयले अझै परम्परागत इन्धन र सोलारकै भर पर्नुपरेको भन्दै उनले ग्रामीण बस्तीलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्न माग गरे । ‘सडक, सञ्चार र विद्युत् अहिलेको समयमा विलासिताका विषय होइनन्, आधारभूत आवश्यकता हुन्,’ उनले भने ।

रिजालले माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् । उनले प्रदेश सरकार जनताको आधारभूत आवश्यकता र दुर्गम क्षेत्रको समस्याप्रति संवेदनशील बन्नुपर्ने बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully