गत वर्ष डोल्पामा झण्डै १२ हजारले यार्सा संकलन गरेका थिए । जसबाट करिब ५० लाख रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।
What you should know
सुर्खेत — यार्सागुम्बा संकलनका लागि यस वर्ष डोल्पामा जेठ १० र मुगुमा जेठ १३ गतेदेखि पाटनहरू खुल्ने भएका छन् । डोल्पामा शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्रका झण्डै २० र मुगुमा मुगमकार्मारोङ गाउँपालिकाभित्रका १५ वटा पाटन खुलाउन लागिएको हो ।
मुगुमकार्मारोङका विभिन्न वन तथा पाटन क्षेत्रमा यार्सा संकलन गर्न जिल्लाबाहिरकालाई २ हजार ५ सय र जिल्लाभित्रका स्थानीयलाई २ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार पालिकाले यार्सा संकलनका लागि कार्यविधिसमेत निर्माण गरेको छ ।
‘चोरीपैठारी नियन्त्रणका लागि बर्सेनि निश्चित समय तोकेर पाटन खोल्छौ, यो वर्षदेखि मापदण्डभित्र रहेर यार्सा संकलन गर्न कार्यविधि बनाएका छौं,’ उनले भने, ‘जैविक विविधतामा असर नपर्ने गरी यार्सा संकलन गर्न पनि कार्यविधि बनाइएको हो ।’ यार्सा संकलनलाई व्यवस्थित गर्न झण्डै डेढ सय स्वयंसेवक परिचालन गरिने उनले जानकारी दिए । उनका अनुसार थप सुरक्षाकर्मी र स्वाथ्यकर्मी पनि पाटन क्षेत्रमा परिचालन गरिनेछ ।
गाउँपालिकाका अनुसार सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके, हाङदाङ, छापाखोलालगायत दुई दर्जन पाटनमा यार्सा पाइन्छ । गत वर्ष मुगुसहित छिमेकी जिल्लाका झण्डै १० हजार संकलकले यार्सा संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले बताए । उनका अनुसार गत वर्ष संकलकबाट झण्डै ६५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
डोल्पाको शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयअन्तर्गतका राष्ट्रिय वनहरूमा यार्सा संकलनका लागि जेठ ५, ६ र ७ गते प्रवेश शुल्क बुझाउने व्यवस्था गरिएको छ । यस वर्ष १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई पाटन प्रवेशमा निषेध गरिएको निकुञ्जका निमित्त प्रमुख विज्ञान सेनले बताए । उनका अनुसार यार्सागुम्बा संकलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दालाई ५ सय, डोल्पाका स्थानीयका लागि २ हजार र जिल्लाबाहिरका नागरिकका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
सुरक्षाका लागि पाटन क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइने सर्वदलीय बैठकले निर्णय गरेको उनले जानकारी दिए । गत वर्ष डोल्पामा झण्डै १२ हजारले यार्सा संकलन गरेका थिए । जसबाट करिब ५० लाख रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।
