गत चैतको पहिलो साता परेको अविरल वर्षाले फिल्ड भत्किएको र विद्यालय भवन पनि जोखिममा रहेको रमा माविबाट एसईईमा सहभागी भएका सबै ३९ विद्यार्थी सफल भएका छन् ।
What you should know
कालीकोट — पहिरोको जोखिममा रहेका नरहरिनाथका दुई माविको एसईई नतिजा शतप्रतिशत आएको छ । पहिरोको जोखिमामा रहेको नरहिरनाथ–३ कुमालगाउँस्थित रमा मावि र वडा नं ४ विश्वकुना मावि गोठीबाट एसईई दिएका शतप्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका हुन् ।
गत चैतको पहिलो साता परेको अविरल वर्षाले फिल्ड भत्किएको र विद्यालय भवन पनि जोखिममा रहेको रमा माविबाट एसईईमा सहभागी भएका सबै ३९ विद्यार्थी सफल भएका छन् । नियमिततर्फ परीक्षामा सहभागी भएका सबै विद्यार्थी ग्रेडिङमा पर्न सफल भएका हुन् । प्रधानाध्यापक तपेन्द्र महताराले सबै विद्यार्थी सफल भएकाले गर्व लागेको बताए । उनले वर्षाले पढ्ने कक्षाकोठा र खेल्ने मैदान नहुँदा पनि पठनपाठनमा रमा मावि गाउँपालिकाकै उत्कृष्ट बन्न सफल भएकामा खुसी लागेको सुनाए ।
त्यस्तै, पहिरोको जोखिममा रहेको विश्वकुना माविबाट एसईईमा सहभागी २१ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् । पहिरोको जोखिममा रहेको नरहरिनाथ–६ माल्कोट रातीमाटास्थित शान्ति माविबाट परीक्षा दिएका २८ मध्ये २२ विद्यार्थी उत्तीर्ण भए भने ६ जना पुरकमा परेको प्रधानाध्यापक हरिशचन्द्र बटालाले बताए । ‘पहिरोले विद्यालय कतिखेर बग्छ भन्ने चिन्ताका बीच पनि पठनपाठन गरियो,’ उनले भने, ‘अझै पनि विद्यालय भवन जोखिममै छ ।’ आफूहरुले विद्यार्थीलाई चौरमा राखेर पठनपाठन गराएको उनले सुनाए ।
कालीकोटको मष्टो सरस्वतीका विद्यार्थी ।
दलित समुदायको बाहुल्य भएको माल्कोट सेरापाटास्थित नन्दादेवी माविबाट एसईईमा सहभागी भएका १९ मध्ये १६ जना ग्रेडेड हुन सफल भएका छन् भने ३ जना ननग्रेडमा परे । पहिलो पटक नन्दादेवी माविबाट ८४ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको वडाध्यक्ष पौराम विश्वकर्माले बताए ।
गाउँपालिकाका ३ सय ९३ विद्यार्थी परीक्षामा सहभागी भएकामा ३ सय ९ जना अर्थात् ८४ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसरी नरहरिनाथ जिल्लामै उत्कृष्ट पालिका बनेको छ । यहाँको जनता मावि रुप्साबाट परीक्षा दिएका ६२ मध्ये ५९ ९५ प्रतिशत, पहिरोले विस्थापित दीपेन्द्रबाट नयाँबस्तीका २० मध्ये १८, जनप्रभात मावि लालुका ६१ मध्ये ५०, मंगलासैनी माविका ४६ मध्ये ३४, नन्दादेवी मावि कोटवाडाका ६८ मध्ये ५० जना उत्तीर्ण भएका छन् भने नरहरिनाथ–७ उत्छवस्थित रुपादेवी माविबाट परीक्षा दिएका २९ जनाको नतिजा प्राविधिक कारण प्रकाशन नभएको गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत केशवराज खनालले बताए ।
शतप्रतिशत नतिजा ल्याउन सफल कालीकोटको नरहरिनाथ–४ स्थित विश्वकुना मावि गोठीका विद्यार्थी ।
कालीकोटका ९ वटै स्थानीय तहबाट परीक्षा दिएका नियमिततर्फ ३ हजार १४ जना विद्यार्थीमध्ये यसपटक २ हजार २ सय ४ जना अर्थात् ७३ प्रतिशत विद्यार्थी सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईंले बताए । उनका अनुसार जिल्लाभर ८ सय १० अर्थात् २७ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् । उनका अनुसार कालीकोटबाट परीक्षा दिएकामध्ये ३ दशमलव ६० देखि ४ जीपीए अर्थात् ए प्लस ल्याउने ७६, ३ दशमलव २० देखि ३ दशमलव ६० ए ल्याउने ४ सय १, २ दशमलव ८० देखि ३ दशमलव २० बी प्लस ल्याउने ९ सय ७ जना, २ दशमलव ४० देखि २ दशमलव ८० बी ल्याउने ७ सय ४३, २ देखि २ दशमलव ४० सी प्लस ल्याउने ७७ जना छन् भने ८ सय १० जना एनजी अर्थात् ननग्रेडेडमा परे ।
आवासीय राखेको रास्कोटबाट ६१ प्रतिशत उत्तीर्ण
एसईईको नतिजा सुधार गर्न यहाँको रासकोट नगरपालिकाले चारवटै माविमा पालिकाको सहकार्यमा गत मंसिरदेखि विद्यार्थीलाई आवासीय सुविधासहित पठनपाठन गराएर ६१ प्रतिशत विद्यार्थी सफल भएका छन् ।
यहाँको बडिमालिका मावि रास्कोटबाट परीक्षामा सम्मिलित १ सय १६ मध्ये ८२, कालाशिल्ला मावि गोर्खाली गाउँबाट परीक्षा दिएका ८९ मध्ये ६३, जनजागृति मावि फूकोटका ८४ मध्ये ५६ र मोतीराम मावि सिप्खानाका ७७ मध्ये २३ जना उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख खेमराज शाहीले बताए । उनका अनुसार रास्कोटबाट परीक्षा दिएका जम्मा ३ सय ६६ मध्ये २ सय २४ उत्तीर्ण भए । बडिमालिकाबाट एसईई दिएका सबै अंग्रेजीमा उत्तीर्ण भएको शिक्षक कृष्णप्रसाद बरालले बताए ।
शान्नित्रिवेणीको नतिजा कमजोर
यहाँको शान्नित्रिवेणी गाउँपालिकाबाट परीक्षा दिएका ३ सय ९ जना मध्ये १ सय ३९ अर्थात् ४६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । गत वर्ष उत्कृष्ट नतिजा ल्याएको शंकर मावि यसपटक सबैभन्दा पछि परेको छ । गत वर्ष ६२ जना पास गर्न सफल शंकर माविमा यस वर्ष परीक्षा दिएका ३४ मध्ये ५ जना मात्र उत्तीर्ण भएका छन् । गत वर्ष कमजोर नतिजा ल्याएको सान्नीत्रिवेणी–३ लुयाटास्थित विद्याज्योति मावि यसपटक ७१ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण गरेर गाउँपालिकामै उत्कृष्ट बनेको छ ।
विद्याज्योतिबाट परीक्षा दिएका २८ मध्ये २०, कालिका मावि डाडाखेतबाट परीक्षा दिएका ४४ मध्ये २८, जनज्योति मावि तिकुवाबाट परीक्षा दिएका २९ मध्ये १८, पंचदेवल मावि मेहेलमुडीबाट परीक्षा दिएका ४७ मध्ये २९, सरस्वती मावि पोरिवनका ३४ मध्ये १८, मष्टो सरस्वतीका ४२ मध्ये १० र डाँफे मावि मुम्राका ५१ मध्ये ११ जना मात्र सफल भए । पालिकाभर २ जनाले ए प्लस ल्याएको शिक्षा शाखा प्रमुख मदन शाहीले बताए ।
