एसईईमा कर्णालीबाट १९ हजार ९५ विद्यार्थी उत्तीर्ण

परीक्षामा सहभागीमध्ये १३ हजार २ सय ४१ विद्यार्थी ननग्रेडेड, अधिकांश अंग्रेजी, गणित र विज्ञान विषयमा कमजोर ।

वैशाख २९, २०८३

कृष्णप्रसाद गौतम

19,095 students from Karnali pass SEE

What you should know

सुर्खेत — कर्णालीमा गत वर्षको एसईईमा सहभागी भएका ३२ हजार ३ सय ३६ विद्यार्थीमध्ये ५९.६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार १९ हजार ९५ विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागीमध्ये १३ हजार २ सय ४१ विद्यार्थी ननग्रेडेड भएको निर्देशनालयले जनाएको छ । 

यस वर्षको नतिजा गत वर्षभन्दा झण्डै १०.४ प्रतिशतले कम हो । गत वर्ष प्रदेशबाट ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८० सालमा कर्णालीको उत्तीर्ण प्रतिशत ७१ थियो । निमित्त शिक्षा निर्देशक दीपा हमालका अनुसार कर्णालीमा यस वर्ष सबैभन्दा धेरै मुगुमा ७५.९ र सबैभन्दा कम दैलेखमा ३१.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विषयगत शिक्षकको अभाव, विद्यार्थी नियमित विद्यालयमा उपस्थित नहुनु, चाडपर्व, निर्वाचन र जेनजी आन्दोलनका कारण केही समय पढाइ नहुनु, पाठ्यपुस्तक समयमै नपुग्नुलगायत कारण नतिजा खस्किएको उनले बताइन् ।

‘शैक्षिक पूर्वाधार र लगानी बर्सेनि बढिरहेको छ, तर शिक्षण सिकाइस्तर कमजोर हुँदै गयो, जसको असर एसईईको नतिजामा परिरहेको छ,’ उनले भनिन्, ‘सबैभन्दा धेरै अंग्रेजी, गणित र विज्ञान विषयमा ननग्रेडेड भएका छन्, जसको मुख्य कारण विषयगत शिक्षकको अभाव हो ।’ उनका अनुसार कर्णालीमा माध्यमिक तहमा झण्डै ५८ प्रतिशत विषयगत शिक्षकको अभाव छ । 

कर्णालीमा यस वर्ष ३६ जनाले सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याएका छन् । जसमध्ये दैलेखमा २, सल्यानमा ६, कालीकोटमा १ र सुर्खेतमा १८ जनाले ४ जीपीए ल्याएको निर्देशनालयको तथ्यांक छ । यस वर्ष हुम्लामा ९ सय ५० मध्ये ४ सय ६९, मुगुमा १ हजार ३ सय ९४ मध्ये १ हजार ५८, जाजरकोटमा ७ हजार १ सय २२ मध्ये २ हजार १ सय २२ र रुकुम पश्चिममा ३ हजार ७ सय ८० मध्ये २ हजार ९ सय ९९ विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै जुम्लामा २ हजार १ सय ३३ मध्ये १ हजार ४ सय ५४, डोल्पामा ६ सय ३४ मध्ये २ सय ९७, दैलेखमा ४ हजार ३ सय ६ मध्ये १ हजार ३ सय ७०, सल्यानमा ३ हजार ९ सय ८७ मध्ये २ हजार ७ सय ३२, कालीकोटमा ३ हजार १४ मध्ये २ हजार २ सय ४ र सुर्खेतमा ७ हजार १ सय ८८ मध्ये ४ हजार १ सय ८३ जना उत्तीर्ण भएका छन्। 

सुर्खेतमा भने यस वर्ष विगत वर्षभन्दा नतिजा राम्रो आएको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत नारायण पौडेलले बताए । उनका अनुसार गत वर्ष ५६ प्रतिशत तथा शैक्षिक सत्र–२०८० मा ५४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully