१२ वर्षीयाको ११ वर्षपछि फर्कियो दृष्टि

मान्म र नरहरिनाथमा आयोजना गरिएको शिविरमा २ सय २ जनाको नि:शुल्क मोतिबिन्दु शल्यक्रिया भई दृष्टि फर्किएको छ भने ८ सय ५० जनाले आँखा परीक्षण गराएका छन्।

वैशाख २६, २०८३

तुलाराम पाण्डे

12-year-old's vision returns after 11 years

What you should know

कालीकोट — शुभकालिका–७ मुग्राहाकी १२ वर्षीया प्रिंयका विश्वकर्माले ११ वर्षअघि गुमाएको दाहिने आँखाको दृष्टि फर्किएपछि खुसी छन् । एक वर्षको उमेरमा बामे सर्दै आँगनमा खेल्ने क्रममा गहुँको छ्वालीले घोच्चिएर मोतिबिन्दु हुँदा बन्द गुमेकाे दृष्टि गतसाता मान्ममा आयोजना भएकाे शिविरबाट फर्किएको हो । 

स्थानीय बडरुख आधारभूत विद्यालयमा कक्षा ३ पढ्ने प्रियंका सानीआमा सरितासित मान्मको आँखा उपचार शिविरमा आएकी थिइन् । हजुरआमा, आमा, दुई भाइ, पाँच बहिनीसहित १० जनाको परिवारमा रहेकी प्रियंकाका बुवा कपुरे परिवारको लालनपालनको लागि भारतको बैग्लोरमा छन् । उनी चैत ११ गते बैंग्लोर गएका हुन् ।  

हिमालयन आँखा अस्पताल पोखराबाट शिविरमा आएका बाल नेत्ररोग विशेषज्ञ डा. हरिविक्रम अधिकारीको टोलीले उनको आँखाको पट्टी खोलेपछि प्रियंका ज्योति फर्किँदा खुसीले उफ्रिदै खुसीले चिच्याइन् । 
दृष्टि गुमेपछि साथीभाई होच्याउन थालेपछि उनले गतवर्ष केही दिन विद्यालय जानै छाडेकी थिइन् । पछि आमाले विद्यालयमै गएर होच्याउने साथीहरुसित कुरा गरेपछि पुन: विद्यालय जान थालेको उनले बताइन् ।  

५ वर्षदेखि दुवै आँखाको दृष्टि गुमाएकी पचालझरना ३ खार्दुकी ७७ वर्षीया खिनता कठायतको पनि दृष्टि फर्किएको छ । कान्छो छोरा दलबहादुरले खार्दु गाउँबाट ५ घण्टा पिठ्यूमा बोकेर जार्रकोटबाट गाडीमा राखेर मान्म ल्याएकी उनले शिविरबाट ज्योति पाएपछि खुसी हुँदै भनिन्, ‘नयाँ जीवन पाए । पहिलेजस्तै देख्ने भए ।’ दुवै आँखाको मोतिबिन्दुको शल्यक्रियापछि आमाले आँखा देखेको सुनाउँदै उनका छोरा दलबहादुरले स्थानीय लवजमा भने, ‘घर बाटी (बाट) ल्याउने बेला पिड्नाउदी (पिठ्यूमा) बोकेर ल्यायाको हौं,( ल्याएको थिए) । अब त लौडो (लौरी) टेकेर हड्न (हिँड्न) सक्छु भन्याकी छन् (भन्नुभएको छ) ।’ 

७ वर्षअघि धमिलो हुँदै गएका उनका दुवै आँखा ५ वर्षअघि पूर्णरुपमा बन्द भएका थिए । दुबै आँखाको शल्यक्रिया गरेर पुन: दृष्टि फर्किएका खाडाचक्र–८ एैछेनाका ७२ वर्षीय नैने अधिकारी एक वर्षदेखि गुमेको आँखाको दृष्टि पुन: फर्किएर देख्न सक्ने भएपछि औधी खुसी छन् । ‘आँखा नदेखेर अन्धकारमा हुँदा जीवन त मरेतुज्य हुने रहेछ । पुन: आँखा देखेपछि नयाँ जुनी पाएपस्तो लाग्याको छ । उनी शिविरमा आउँदा छोराको पिठ्यूमा आएका थिए । घर जाँदा हिँडेर फर्किए ।’

मान्ममा आयोजित शिविरमा मोतिबिन्दुले दृष्टि गुमेका १ सय ७३ र नरहरिनाथको कुमालगाउँको शिविरमा २९ गरी २ सय २ जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रियापछि पुन: आँखा देख्नसक्ने भएको आँखा उपचार केन्द्र मान्मका प्रमुख डबल अधिकारीले बताए । 

मान्मको शिविरमा आएका ४ सय ८४ र नरहरिनाथमा ३ सय ६५ को नि:शुल्क आँखा परीक्षण भएको थियो । शिविरमा महिला बढी लाभान्वित भएको नेपाल नेत्र ज्योति संघ कालीकोटका अध्यक्ष खडानन्द पाण्डेले बताए । ‘घरबाट बाहिर जान नसक्ने दिदीबहिनीले आफ्नै ठाउँमा आँखा जाँच, नि:शुल्क चश्मा र औषधिसहित शल्यक्रियाको सुविधा पाए,’ उनले भने ।  

आइ केएर फाउण्डेसन नेदरल्याण्ड र रिड्ली आइ केएरको आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति संघ कालीकोट स्थानीय आयोजक भएर नि:शुल्क मोतिबिन्दु शल्यक्रिया शिविर संचालन भएको हो । शिविरमा दैलेख, जुम्लासहित जिल्लाका ९ वटै स्थानीय तहबाट आँखाका बिरामी आएका थिए ।  

४० वर्षअघि सुर्खेतबाट पैदल हिँडेर कर्णालीकी आमा भनेर चिनिने नेदरल्याण्डकी नागरिक डा. मार्रगेट होवेयले विकट कर्णालीका कालीकोट, जुम्ला, मुगु र हुम्लाका बासिन्दाका लागि सुरु गरेको नि:शुल्क आँखा शिविर हालसम्म पनि निरन्तर चलिरहेको आइ केएर फाउण्डेशन नेदरल्याण्डका कन्टी डाइरेक्टर अनिल गोर्खालीले बताए ।

उनका अनुसार ४० वर्षको अवधिमा कर्णालीका ४ जिल्ला कालीकोट, जुम्ला, मुगु र हुम्लाका गरी ८० हजार आँखा रोगीको शल्यक्रिया भइसकेको छ । सडक नहुँदा पनि डा. मार्रगेट सुर्खेतबाट पैदल हिँडेर दैलेख, कालीकोट हुँदै कर्णालीका विकट जिल्लामा आँखा शिविर चलाउन आएको उनले सम्झिए । यो संस्थाले विगत ४० वर्षदेखि कालीकोट, जुम्ला, मुगु र हुम्लालगायतका जिल्लामा आँखा अस्पतालको भवन, उपकरण र जनशक्तिमा सहयोग गर्दै आएको छ ।

कर्णालीमा आँखा उपचारमा उल्लेखनीय योगदान गरेवापत राजा वीरेन्द्रबाट ‘गोरखा दक्षिण बाहु’ पदक पाएकी मार्रगेटको योगदान कर्णालीवासीले भुल्न नसक्ने कालीकोटका पुराना राजनीतिज्ञ तथा संविधानसभा सदस्य तुलाराज विष्टले बताए । प्रत्येक वर्ष आयोजना हुने शिविरले सहरका अस्पताल जान नसक्ने आँखाका विरामीलाई नि:शुल्क शिविर संचालन गरेर गुन लगाएको नेत्र ज्योति संघका आजीवन सदस्य समेत रहेका ७६ वर्षीय विष्टले बताए । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully