बुधबार बेलुकी झन्डै एक घन्टा वर्षासँगै परेको असिनाले कपुरकोट गाउँपालिका–५ मा बेमौसमी तरकारी, छत्रेश्वरी गाउँपालिका १ र २ मा सुन्तला किवी, टिमुर, त्रिवेणी गाउँपालिका–३ मा सुन्तला र बाग्चौर नगरपालिका ७, ८ र ९ मा सुन्तला र काट्न बाँकी रहेको गहुँबाली सखाप पारेको हो ।
काठमाडौँ — वर्षासहित परेको असिनाले सल्यानमा किसानले लगाएको बेमौसमी तरकारी, फुलफूल, टिमुर र काट्न बाँकी रहेको गहुँबाली सखाप पारेको छ । बुधबार बेलुकी झन्डै एक घन्टा वर्षासँगै परेको असिनाले कपुरकोट गाउँपालिका–५ मा बेमौसमी तरकारी, छत्रेश्वरी गाउँपालिका १ र २ मा सुन्तला किवी, टिमुर, त्रिवेणी गाउँपालिका–३ मा सुन्तला र बाग्चौर नगरपालिका ७, ८ र ९ मा सुन्तला र काट्न बाँकी रहेको गहुँबाली सखाप पारेको हो ।
फूल लागेका बेमौसमी तरकारी, फल लागेको सुन्तला, किवी, टिमुर र काट्न बाँकी रहेको गहुँबाली, सखाप पारेपछि चार पालिकाका १ हजार बढी किसान प्रभावित भएका छन् । तरकारी, सुन्तला, टिमुर र किवी बिक्री गरेर सहज जिविकोपार्जन मात्र नभई लाखौं आम्दानी गर्दै आएका किसान चिन्तित भएका छन् ।
झन्डै एक घन्टा वर्षासँगै परेको असिनाले आफ्नो बगैंचामा भर्खर फल लागेका स्याउ र किवी सबै सखाप भएको र पात झर्दा बोट नाङ्गै भएको छत्रेश्वरी गाउँपालिका–२ गुराँसेका किसान चित्रबहादुर केसीले बताए । स्याउ, किवी मात्र नभई बिउ उत्पादनका लागि लगाएको रायोको साग थिचिमिची भएको उनले जानकारी गराए ।
‘मैले १० रोपनीमा किवी र १० रोपनीमा स्याउ लगाएको थिए । वार्षिक ६ लाख कमाई हुन्थ्यो । घर खर्च सजिलै चल्थ्यो । यसपाली मलजलमा भएको खर्च नउठ्ने भएको छ,’ उनले भने । ६ रोपनी बढी जग्गामा टमाटर, काउली, बन्दा, सिमी, भेँडेखुर्सानी, काँक्रो लगाएका कपुरकोट गाउँपालिका–५ का किसान रामकुमार रसाईलीले असिनाले केही बोट मात्रै बचेको र बाँकी सबै भाँचिएर थिचिमिची भएका बताए ।
असिनाले गर्दा ३/४ लाख बराबरको आर्थिक क्षति भएको उनले जानकारी गराए । ‘बेमौसमी तरकारीबाट वार्षिक ५/६ लाख आम्दानी हुनेमा यसपाली मेहनत त्यत्तिकै खेर गएको छ । बिउ किन्न लागेको खर्च उठाउनसमेत गाह्रो हुने देखिएको छ,’ उनले भने । असिनाले आफ्नो मात्र नभई सबै किसानको तरकारीमा क्षति पुगेको उनको भनाइ छ ।
त्रिवेणी गाउँपालिका–३ पिमखोलाका किसान पोखरराज डाँगीले असिनाले आफ्नो मात्र नभई सय किसानले लगाएको सुन्तलामा क्षति पुगेको बताए । क्षतिपूर्तिको लागि उनले सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् ।
बाग्चौर नगरपालिका–९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीले बुधबार बेलुकी परेको असिनाले कोटमौला लगायत आसपासमा किसानको बगैंचामा फलेका सुन्तलाका फल, पात झारेको र किसानले काटन बाँकी रहेका गहुँबाली सखाप पारेको बताए ।
आफ्नो वडामा मात्रै ३ सय बढी किसान प्रभावित भएका उनले जानकारी गराए । ‘बाग्चौर नगरपालिका–८ र ९ कोटमौलाका किसानले सुन्तला बिक्री गरेर वार्षिक २५ करोड बढफ भित्र्याउँदै आएका थिए । किसानको जीवनस्तरमा सुधार मात्र आएको थिएन । जिमिजग्गा, घर , गाडी जोडेका थिए । आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिलाएका थिए । आफ्नो आयआर्जनको मुख्य माध्यम नै सुन्तला बनाएका थिए । असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन्,’ उनले भने । असिनाले पुर्याएको क्षतिको विवरण संकलन गरेर पालिकामा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।
यता छत्रेश्वरी गाउँपालिका १ का वडाध्यक्ष प्रकाश हमालले वडा नं १ र २ का असिनाले किवी, टिमुर र सुन्तलामा ७० प्रतिशत भन्दा बढी क्षति भएको बताए । जसबाट ५ सय बढी किसान प्रभावित भएका उनले जानकारी गराए । ‘वडा नं १ र २ का किसानको मुख्य नगदेबालीको रुपमा सुन्तला, किवी, स्याउ, टिमुर र रायोको साग थियो । क्षति पुगेपछि किसानको जिविकोपार्जनमा धेरै असर पर्ने देखिएको छ,’ उनले भने । असिनाले सुन्तला, किवी, स्याउमा मात्रै ३/४ करोडको आर्थिक क्षति भएको हुनसक्ने उनको भनाइ छ ।
कपुरकोट गाउँपालिका–५ का वडाध्यक्ष होमराज खड्काले असिनाले वडाका सबै किसानले लगाएको बेमौसमी तरकारीमा क्षति पुर्याएको र बोट भाँचिएर सखापै भएको बताए । असिनाले क्षति पुगेपछि ३ सय ५० किसान प्रभावित भएको उनले जानकारी गराए । असिनाले यसपाली मात्र नभई पटक–पटक क्षति पुर्याएको उनको भनाइ छ ।
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले असिनाले बुधबार मात्र नभई एक महिना अघि पनि गहुँबाली लगायत फलफूलमा धेरै क्षति पुगेको र क्षतिको विवरण संकलन भैरहेको बताए । विवरण संकलन भएपछि किसानलाई कूल क्षतिको २० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने उनले जानकारी गराए ।
