कुपोषणले ग्रस्त हुम्लाका ११ बालबालिकाको जुम्ला ल्याएर उपचार गरिँदै

जिल्लामा पोषण पुनर्स्थापना केन्द्र नहुँदा हुम्लाको ताजाकोट गाउँपालिकामा अति शीघ्र कुपोषण देखिएका १६ जनामध्ये ११ बालबालिकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो ।

वैशाख २४, २०८३

डीबी बुढा

11 malnourished children from Humla are being treated in Jumla

What you should know

जुम्ला — हुम्लाको ताजाकोट गाउँपालिकामा कुपोषणले ग्रस्त भेटिएका ११ बालबालिकालाई उपचारका लागि जुम्ला पुर्‍याइएको छ । ताजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले ११ जना अति कुपोषित बालबालिकालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाएको हो ।

ताजाकोट–१ देखि ५ वडाका सबै बस्तीमा पोषण लेखाजोखा गर्दा अति शीघ्र कुपोषण देखिएका ५ वर्षमूनिका ११ बालबालिकालाई पोषण पुनःस्थापना केन्द्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको हो । १० जना आमाहरु आफ्ना बालबालिकाको उपचारका लागि सँगै प्रतिष्ठान पुगेका छन् । ताजाकोट स्वास्थ्य शाखाका अनुसार अति शीघ्र कुपोषण देखिएका बालबालिका ६ महिनादेखि ३ वर्ष उमेर समूहका छन् ।

पालिकाको स्वास्थ्य शाखाले दुई साता लगाएर सबै ५ वटा वडाका बालबालिकाको पोषणको अवस्था जाँच गरेको हो । गाउँटोलमा महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र स्वास्थ्य शाखाको सबै जनशक्ति परिचालन गरेर कुल ६ सय ५० बालबालिकामा पोषणको अवस्था जाँच भएको थियो । जसमा १६ बालबालिका अति शीघ्र कुपोषित भेटिएका हुन् । ५० जनामा खतराको संकेत देखिए पनि नियमित उपचार गरेर निको हुने देखिएको र ५ सय ८४ बालबालिका स्वस्थ भेटिएको पालिकाका स्वास्थ्य शाखा संयोजक तथा वडा २ स्थित मैला स्वास्थ्य चौकी प्रमुख धनराज ढकालले बताए ।

उनका अनुसार अति शीघ्र कुपोषण देखिएका १६ जनामध्ये ११ लाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पोषण पुनःस्थापना केन्द्रमा पठाइएको हो । ५ जनालाई कता पठाउने भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए ।

कुपोषणको जोखिम संकेत देखिएका ५० बालकालिकाको घरदैलोमा स्वास्थ्यकर्मी र स्वयमसेविका खटाएर स्वास्थ्य शिक्षा र सर्वोतम पिठो बनाउने तरिका सिकाइरहेको उनले बताए । ‘कडा कुपोषण देखिएका ११ बालबालिकाको जिल्लामा उपचार सम्भव नभएर प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा रहेको पोषण पुर्नस्थापना केन्द्रमा रेफर गरेको हो,’ संयोजक ढकालले भने । पालिकास्थित स्वास्थ्य शाखाले पहिलो चरणमा गाउँपालिकाभरिका बालबालिकाको पोषण लेखाजोखा गरी महिला स्वास्थ्य स्वयंसेविकाले अति कुषोषण (रातो कार्ड) संकेत गरेका थिए ।

दोस्रो चरणमा मैला स्वास्थ्य चौकीमा पुनः परीक्षण गर्दा पनि पोषण पुनर्स्थापना केन्द्रमै उपचार आवश्यक देखिएको हो । उपचारका लागि बालबालिकालाई अस्पतालसम्म पुर्‍याउने व्यवस्था गाउँपालिकाले गरेको छ । उपचार अवधिसम्म स्याहारको जिम्मा अस्पतालमा सञ्चालन गरिएको पोषण पुनर्स्थापना केन्द्रले गर्नेछ । पोषणको अवस्था पहिचानका लागि बच्चाको पाखुराको नाप, उचाइ र तौल लिइन्छ । स्वयमसेविका स्तरबाट हरेक महिना बालबालिकाको नापजाँच लिइन्छ । ती बालबालिकाहरुमा उमेर अनुसार तौल र उचाइ नबढेको, खाना नखाने गरेको पाइएको हो ।

१४ वैशाखमा ताजाकोट गाउँपालिकाले प्रतिष्ठानलाई पत्र पठाएर कुपोषित बालबालिकालाई पोषण पुनःस्थापना केन्द्रमा राखेर उपचार गरिदिन आग्रह गरेको थियो । प्रतिष्ठानका पोषण म्यानेजर महेन्द्र हमालले पोषणको समस्या देखिएका बालबालिकालाई २ देखि ६ हप्तासम्म राखेर उपचार गरिने बताए । बालबालिकाको स्वास्थ्यमा सुधार आउने बित्तिकै घर फर्काउने गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. कमल थानीले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जिल्लाका हरेक स्वास्थ्य संस्थामा सामान्य र मध्यम कुपोषणको उपचार सेवा दिँदै आए पनि अति शीघ्र कुपोषण भएका बालबालिका रेफर गर्नुको विकल्प नभएको बताए । ‘हुम्लाका २६ वटै स्वास्थ्य संस्थामा सामान्य र मध्यम खालको कुपोषणको उपचार सम्भव छ,’ उनले भने, ‘पोषण पुनः स्थापना केन्द्र नहुँदासम्म अति शीघ्र कुपोषणको उपचार गर्न जिल्लामा सम्भव छैन । अहिले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल वा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउनुपरेको छ ।’ साना बालबालिकामा अति शीघ्र कुपोषण देखिए पोषण पुनःस्थापना केन्द्रमा रेफर गर्नुको विकल्प नहुने उनले बताए ।

यसअघि जिल्लाको मैला र मदना स्वास्थ्य चौकीमा कुपोषणको उपचारका लागि ‘ओटिसी सेन्टर’ संचालनमा थिए । प्रदेश पोषण महाशाखाबाट आरयुटीएफ (बनिबनाउ खाना) आउन बन्द भएपछि झण्डै दुई वर्षदेखि दुवै ओटिसी सेन्टर बन्द छन् । ओटीसी सेन्टर संचालनमा भएका बेला कुपोषण देखिएका बालबालिकालाई आरयुटीएफ खाना दिइने गरिएको थियो ।

ग्रामीण क्षेत्रमा किशोरी अवस्थामै विवाह गर्नु, बच्चा जन्माएपछि पौष्टिक आहारा नपाउनु, जङफुडलगायतका खाने कुरा खुवाउँदा यहाँका बालबालिकामा कुपोषणको समस्या बढ्दो क्रममा रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले बताए । उनले जिल्लामा एक वर्षदेखि कुपोषणको अवस्था अध्ययन भइरहेको बताए । उनका अनुसार हुम्लामा नाम्खाबाहेक सबै स्थानीय तहमा कुपोषणको अवस्था भयावह छ । उनले भने, ‘हुम्लामा कुपोषणको अवस्था डर लाग्दो छ । त्यही भएर एक वर्षदेखि नियमित स्क्रिनिङ भइरहेको छ ।’

स्वयंसेविकामार्फत नियमित स्क्रिनिङ भइरहेको उनले बताए । कर्णालीमा कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख जिल्ला अस्पतालमा मात्र पोषण पुनःस्थापना केन्द्र छन् । डा. तिवारीले कर्णालीको चौथो पुनःस्थापना केन्द्र हुम्लामा स्थापना हुन लागेको बताए । उनका अनुसार ढिलोमा साउन १ देखि हुम्लामा पोषण पुनःस्थापना केन्द्रको सेवा सुरु हुने छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully