कर्णालीमा बिटुमिन संकट, सडक कालोपत्र रोकियो

चालू आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएका सडक खण्डहरू प्रभावित हुँदा प्रदेश सरकारको कालोपत्र लक्ष्य अनुसारको काम कम हुने भएको छ ।

वैशाख २२, २०८३

ज्योति कटुवाल

Bitumen crisis in Karnali, road blacktopping halted

सुर्खेत — कालोपत्रमा प्रयोग हुने मुख्य कच्चा पदार्थ बिटुमिन अभाव हुँदा कर्णाली प्रदेशका सडक आयोजना रोकिएका छन् । चालू आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएका सडक खण्डहरू प्रभावित हुँदा प्रदेश सरकारको कालोपत्र लक्ष्य अनुसारको काम कम हुने भएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा १६१ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । तर कालोपत्र गर्ने मुख्य सिजनमै बिटुमिन अभाव भएपछि लक्ष्य पूरा नहुने निश्चित भएको छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमका अनुसार आवश्यक सामग्री अभावकै कारण काम प्रभावित भएको हो । ‘कालोपत्र गर्ने सिजनमै बिटुमिन नपाउँदा लक्ष्यमा गम्भीर असर परेको छ, पाए पनि तेब्बर महंगो छ । हाम्रो लक्ष पूरा गर्न कसले तेब्बर महंगो रकम हालेर काम गर्छ’, उनले भने ।

Bitumen crisis in Karnali, road blacktopping halted

निर्माण व्यवसायीहरूले फागुनको मध्यसम्म बिटुमिनको मूल्य प्रतिकेजी ९० रुपैयाँ थियो । हाल बजारमा पाइहालेमा २५० रुपैयाँसम्म पुगेको छ । ‘यस्तो महँगोमा सामग्री ल्याएर कसरी काम गर्ने?’ कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव मानव बम भन्छन्, ‘बजेट खर्च हुने मुख्य समयमा नै बिटुमिन अभाव हुँदा काम रोकियो ।’

Bitumen crisis in Karnali, road blacktopping halted

प्रदेश सरकारका अनुसार चैत मसान्तसम्म कर्णालीमा ५३.२६ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ । सुर्खेतमा ५९.७ किलोमिटर लक्ष्य राखिए पनि २०.२८ किलोमिटर मात्रै सम्पन्न भएको छ । सल्यानमा १५ किलोमिटरमध्ये करिब साढे ६ किलोमिटर, दैलेखमा १० किलोमिटरमध्ये ६ किलोमिटर मात्रै कालोपत्र भएको छ । रुकुम पश्चिममा २० किलोमिटर लक्ष्य राखिए थियो तर हालसम्म १.२० किलोमिटर मात्रै कालोपत्र भएको छ । जाजरकोटमा ३ किलोमिटर लक्ष्यमा १.२० किलोमिटर, डोल्पामा २ किलोमिटर लक्ष्यमा १३० मिटर मात्रै काम भएको छ । जुम्लामा साढे २ किलोमिटर लक्ष्यमा ८५० मिटर, मुगुमा ४ किलोमिटर लक्ष्यमा ६०० मिटर मात्रै कालोपत्र भएको छ । कालिकोट र हुम्लामा भने हालसम्म कुनै प्रगति भएको छैन ।

ग्रामीण सडक सुधार परियोजनाअन्तर्गत ३९ किलोमिटरमध्ये १६.५० किलोमिटर मात्रै कालोपत्र भएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully