२जी सेवा पुगेको यतिका वर्षसम्म पनि इन्टरनेटसहितको प्रभावकारी सेवा उपलब्ध नहुँदा स्थानीयको दैनिक जीवन प्रभावित बनेको छ।
What you should know
डोल्पा — हिमाली जिल्ला डोल्पाको दुर्गम शे–फोक्सुण्डो गाउँपालिकामा अझै पनि प्रभावकारी सञ्चार सेवा नपुग्दा स्थानीय बासिन्दा समस्यामा परेका छन्। विभिन्न सरकारले ‘डिजिटल नेपाल’का कार्यक्रम अघि बढाए पनि माथिल्लो डोल्पा अझै २जी नेटवर्कमा सीमित रहेको गुनासो छ।
विसं २०७६ मा उपल्लो डोल्पाका विभिन्न स्थानमा नेपाल टेलिकम ले २जी सेवा विस्तार गरेपछि केही सहज भएको थियो। तर आठ वर्ष बितिसक्दा पनि त्यहाँ ४जी सेवा विस्तार हुन सकेको छैन। २जी सेवा पुगेको यतिका वर्षसम्म पनि इन्टरनेटसहितको प्रभावकारी सेवा उपलब्ध नहुँदा स्थानीयको दैनिक जीवन प्रभावित बनेको छ।
कमजोर नेटवर्कका कारण सामान्य इन्टरनेट सेवा प्रयोग गर्नसमेत समस्या हुने गरेको स्थानीयको गुनासो छ। त्यसमाथि बादल लाग्दा वा हिमपात हुँदा सञ्चालनमा रहेका टावरसमेत हप्तौंसम्म अवरुद्ध हुने गरेका छन्।
गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ भन्छन्, 'देशभर ५जी र ६जी को चर्चा भइरहँदा हाम्रो क्षेत्र अझै २जीमै सीमित हुनु दुःखद हो। यहाँका नागरिक आधारभूत सञ्चार सेवाबाटै वञ्चित छन्।'
उनका अनुसार अनलाइन सेवा, डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि अझै पनि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ। इन्टरनेट अभावका कारण स्थानीय सरकारका काम-कारबाहीसमेत प्रभावित भएका छन्। 'माथिल्लो डोल्पामा इन्टरनेट सेवाको कुनै विकल्प छैन, त्यसैले यहाँ तत्काल ४जी वा उच्चगतिको इन्टरनेट सेवा विस्तार गर्नुपर्छ,' उनले भने।
दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावका कारण सञ्चार सेवा विस्तारमा ढिलाइ भइरहेको जनाइए पनि स्थानीयले छिटो समाधानको अपेक्षा गरेका छन्। माथिल्लो डोल्पामा सञ्चार सेवा विस्तारका लागि जिल्ला, प्रदेश र संघीय तहमा पटक–पटक पहल भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको जनप्रतिनिधिको गुनासो छ।
सहर केन्द्रित विकासको आलोचना भइरहँदा हिमाली भेगमा अझै आधारभूत सञ्चार सेवा नपुग्नुले डिजिटल विभाजन थप गहिरिँदै गएको सरोकारवालाहरू बताउँछन्।
