दुई महिनामै सल्यानमा सय बढी सामुदायिक वनमा डढेलो

सामुदायिक वनमा लागेको डढेलोका कारण सात सय मिटर पाइप जलेपछि सातादेखि मुहानबाट गाग्रीमा पानी बोकेर ल्याई खानु परेको छत्रेश्वरी गाउँपालिका–५ का पूर्ण भण्डारीले बताए ।

वैशाख १६, २०८३

विप्लव महर्जन

More than 100 community forests burned in Salyan in two months

What you should know

सल्यान —  

गर्मी मौसम सुरु भएसँगै सल्यानका वनमा डढेलो लाग्ने क्रम बढेको छ । चैत र वैशाख महिनामा मात्रै सय सामुदायिक र राष्ट्रिय वनमा डढेलो लागेको छ । डढेलोले ६ हजार हेक्टर बढी वनमा क्षति पुगेको छ । मानवीय लापरबाहीका कारण गर्मी मौसम सुरु भएसँगै वनमा डढेलो लाग्ने क्रम बढेको हो । 

डिभिजन वन कार्यालय सल्यानको तथ्यांक अनुसार जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका विभिन्न स्थानमा रहेका ३४, शारदा नगरपालिकाका १७, कालिमाटी गाउँपालिकाका १७, छत्रेश्वरीका १६, कपुरकोटका ६ र त्रिवेणी गाउँपालिकाका १६ सामुदायिक वनमा डढेलो लागिसकेको छ । शनिबार र आइतबार दुई दिनको वर्षातले वनमा लागेको डढेलो नियन्त्रणमा आएको थियो । अहिले फेरि डढेलो लाग्न थालिसकेको छ । 

हुन त डिभिजन वन कार्यालय सल्यानले डढेलो नियन्त्रणसम्बन्धी कार्यक्रम प्रत्येक वर्ष संचालन गर्दै आएको छ तर प्रभावकारी हुन सकेको छैन । नियन्त्रण कार्यक्रम प्रभावकारी नहुँदा डढेलोबाटै यस वर्ष जिल्लाका केही स्थानमा सामुदायिक वनको आसपासमा भएका बस्तीका आधा दर्जन घर र दर्जन बढी खानेपानी योजनाका पाइप जलेर नष्ट भएका छन् । सयौं स–साना विरुवा स्वाहा भएका छन् भने जंगली जनावर र पंक्षीको बासस्थान उजाडिएको छ । प्रत्येक वर्ष लाग्ने डढेलोले दर्जनौं बस्ती जोखिममा पर्दै आएका छन् ।  

डढेलोले पाइप जल्नुका साथै मुहानमा असर परेपछि केही स्थानमा अहिले खानेपानीका लागि स्थानीयलाई समस्या भएको छ भने घर जलेका परिवार प्रभावित भएका छन् । पछिल्लो समयमा वर्षात भए पनि डढेलोबाट निस्केको धूवाँका कारण वायु प्रदूषण पूर्ण रूपमा नियन्त्रणमा नआउँदा  जिल्लामा आँखा र दम रोगका बिरामी बढेका छन् ।  

कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले गर्मी मौसम सुरु भएसँगै चैतको अन्तिम सातादेखि वनमा डढेलो लागिरहेको र अहिलेसम्म वडाका ८/१० वटा सामुदायिक वनमा डढेलो लागिसकेको बताए । ‘वडाका केही वनमा अहिले पनि डढेलो लागिरहेको छ,’ उनले भने, ‘यसले वातावरण प्रदूषित बनाइरहेको छ ।’ उनका अनुसार डढेलोका कारण वननजिकैका बस्ती जोखिममा पर्दै आएका छन् भने धुलेमा भदे रानाको घर र खानेपानी योजनाको पाइप जलेर नष्ट भएको छ ।  

घरमा भएको खाद्यान्न र लत्ताकपडा सबै जलेर खरानी भएपछि भदे रानालाई बस्न र खान समस्या भएको उनले बताए । ‘स्थानीय खानेपानीको समस्या झेलिरहेका छन्,’ उनले भने, ‘घुइयाबारी आसपासमा वर्षात नहुँदा डढेलोको धूवाँका कारण स्थानीयको स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको छ ।’

सामुदायिक वनमा लागेको डढेलोका कारण सात सय मिटर पाइप जलेपछि सातादेखि मुहानबाट गाग्रीमा पानी बोकेर ल्याई खानु परेको छत्रेश्वरी गाउँपालिका–५ का पूर्ण भण्डारीले बताए । वडाभित्रका सात सामुदायिक वनमा डढेलो लागेको उनले सुनाए । उनका अनुसार डढेलोका कारण जंगल नजिकै भएका घर मुस्किलले जोगिएका छन् ।

गत साता शारदा नगरपालिका–४ मा रहेको सामुदायिक वनमा केही दिनसम्म भीषण डढेलो लागेको र बस्ती नजिकै पुगेपछि भागाभाग भएको स्थानीय विमला शर्माले बताइन् । डढेलोका कारण दुई जनाको घरमा क्षति हुनुका साथै दर्जनौं घर, प्राविधिक शिक्षालय जोखिममा परेको उनले जानकारी दिइन् । ‘प्रहरी, सेना, सशस्त्र र स्थानीय मिलेर पाँच घन्टा बढीको प्रयास र ट्यांकरबाट मगाएको पानीले डढेलो नियन्त्रणमा लिन सफल भएका थियौं,’ उनले भनिन् । 

कपुरकोट रेन्जपोस्टकी रेन्जर कमला घर्तीले वडा नं ५ स्थित सामुदायिक वनमा डढेलो लाग्दा बस्ती उच्च जोखिममा परेपछि आगो निभाउने क्रममा आफूसहित चार जना घाइते भएको बताइन् । आगो निभाउने उपकरण केही नहुँदा स्याउलाकै भरमा आगो निभाउनु परेको दुःखेसो पनि उनले सुनाइन् । 

मानवीय लापरबाहीकै कारण वनमा डढेलो लाग्ने गरेको र डढेलो नियन्त्रणमा लिने यन्त्र केही नभएपछि अहिले ज्यान जोखिममा पारेर आगो निभाउनु परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले बताए । डढेलो नियन्त्रणका लागि विभिन्न आधुनिक सामग्री माग गर्दै आए पनि सम्बन्धित निकायले आवश्यकता अनुसार उपलब्ध गराउन नसकेको उनको गुनासो छ । 

डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले डढेलो नियन्त्रणका लागि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आए पनि मानवीय लापरबाही बढिरहेका कारण डढेलो नियन्त्रणमा लिन समस्या भइरहेको बताए ।

छत्रेश्वरी गाउँपालिकाको बस्तीनजिकै केही दिनअघि लागेको डढेलो । तस्बिरः कान्तिपुर । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully