सुधारिएको चुलोले धूवाँमुक्त बन्दै दुर्गम बस्तीका भान्सा

सन् २०२९ सम्म धूवाँमुक्त पालिका बनाउने उद्देश्यअनुसार अहिले जुम्ला र कालीकोटका ४ हजारभन्दा धेरै घरमा सुधारिएको फलामे चुलो प्रयोग भइरहेको छ ।

वैशाख १५, २०८३

डीबी बुढा

Kitchens in remote settlements become smoke-free with improved stoves

What you should know

जुम्ला — तिला गाउँपालिका–१ की जयपुरा सार्कीले माटोको चुलो हटाएर सुधारिएको फलामे चुलोमा खाना पकाउन थालेकी छिन् । पकाउने बेला धूवाँले कोठा भरिने र कालो हुने समस्या हटेपछि उनलाई सहज भएको छ । ‘पहिले धूवाँ धुलोले घरनै कालो बनाइरहेको थियो । भाँडादेखि कपडासम्म फोहोर हुने अवस्था थियो । अचेल घर पनि सफा छ, स्वास्थ्य पनि बिग्रेको छैन ।’ 

तिला गाउँपालिका–२ की बाटुल्ली रावत सुधारिएको चुलोको प्रयोग गर्दा घरभित्र र बाहिरको वातावरणमा समेत सुधार आएको बताउँछिन् । ‘पहिले बिजुली थिएन । सल्लाको झरो बाल्ने चलन थियो । अदान वरिपरी मोसो थुप्रिन्थ्यो,’ उनले भनिन्, ‘सुधारिएको चुलोको प्रयोगले आँखा पाक्ने, अनुहार कालो देखिने र श्वास बढ्ने समस्या कम भएको छ ।’ उनका अनुसार सुधारिएको चुलोमा दाउराको खपत पनि घट्दा कामको बोझ घटेको छ । ‘जंगल पनि जोगिने, स्वास्थ्यमा पनि समस्या नहुने, सुधारिएको चुल्हो प्रयोग गर्दा धेरै कुरामा सुधार आएको छ,’ रावतले भनिन् । 

सन् २०२९ सम्म धूवाँमुक्त पालिका बनाउने उद्देश्यले अहिले जुम्ला र कालीकोटका ४ हजार भन्दा धेरै घरमा सुधारिएको फलामे चुलो प्रयोग भइरहेको छ । जुम्लाको तिला र हिमा गाउँपालिकामा २ हजार २१ तथा कालीकोटको महाबै गाउँपालिका र तिलागुफा नगरपालिकामा २ हजार १ सय ७९ वटा फलामको सुधारिएको चुलो उपलब्ध गराइएको छ । 

स्थानीय तहको समन्वयमा सहयोगी हातहरुको समूह (सहास) नेपालले सञ्चालन गरेको जलवायु संरक्षण परियोजना अर्न्तगत ग्रामीण भेगका महिलालाई भान्साभित्रको धूवाँबाट स्वस्थ रहन सुधारिएको फलामे चुलो दिइएको हो । संस्थाको ९० प्रतिशत र समुदाय वा स्थानीय सरकारको १० प्रतिशत लगानी रहेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully