अहिले स्थानीय बजारमा नुन प्रतिकिलो ४० रुपैयाँमा किन्नुपर्छ । अनुदानको नुन भने किलोको ९ रुपैयाँमा बिक्री गरिएको वडाध्यक्ष हर्कधन तामाङले जनाए ।
What you should know
सुर्खेत — हुम्लाको चंखेली गाउँपालिका–५ नेक्पाका पूर्ण बुढा नुनका लागि एकतर्फी झन्डै ६ घण्टा पैदल हिँड्न बाध्य छन् । ‘गाउँमा सडक सुविधा छैन, नुन ल्याउन पालिकाको केन्द्र पिप्लाङ पुग्नैपर्छ,’ उनले भने, ‘झिसमिसेमा उठेर त्यहाँ गई नुन ल्याएर फर्कंदा साँझ पर्छ ।’
चंखेलीमा चैत पहिलो साता यो वर्षका लागि अनुदानको नुन पुगेको थियो । पालिकाले प्रतिपरिवार ५० किलो नुन वितरणको व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए । जसका लागि वडाको सिफारिस चाहिने व्यवस्था गरिएको थियो ।
वडाभरिका ७० घरधुरीले हिँडेर भए पनि सहज रूपमा नुन पाएको वडाध्यक्ष हर्कधन तामाङले बताए । गत वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँ डिपो स्थापना गरेको थियो । त्यसअघि स्थानीयले चिनियाँ नुन प्रयोग गर्थे । अहिले स्थानीय बजारमा नुन प्रतिकिलो ४० रुपैयाँमा किन्नुपर्छ । अनुदानको नुन भने किलोको ९ रुपैयाँमा बिक्री गरिएको वडाध्यक्ष तामाङले जनाए । उनका अनुसार वडामा ५० क्विन्टल नुन भाग परेको थियो । पालिकाभरिका लागि ४ सय ७० क्विन्टल नुन आएकामा अपुग भएपछि थप २ सय क्विन्टल माग गरिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।
ताँजाकोट गाउँपालिकामा झन्डै एक वर्षपछि सोमबार मात्र नुन पुगेको छ । गत वर्ष पनि वैशाख दोस्रो साता अघिल्लो आर्थिक वर्षको नुन गाउँपालिकामा पुर्याइएको थियो । यो वर्ष ४ सय ७० क्विन्टल नुन ढुवानी भएकामा ४ सय ३० क्विन्टल स्थानीयलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । ‘सधैं वर्षमा एकपल्ट नुन आउँछ, यो वर्ष प्रतिपरिवार २५ किलोका दरले भाग लगाएर नुन दिएका छौं, थप नुन आएपछि २५ किलोका दरले बेच्छौं,’ उनले भने, ‘अरू जिल्लातिर ठूला समस्या होलान्, हामीलाई भने सधैं नुनकै समस्या हुने भयो ।’
ठेकेदारको बेवास्ताले आर्थिक वर्ष सुरु भएको ९ महिनापछि नुन आएको अध्यक्ष जैसीले जनाए । उनका अनुसार अझै ४० क्विन्टल नुन आएको छैन । पाँच वडालाई ७० देखि ११० क्विन्टल नुन भागबन्डा गरी बिक्री गरिएको उनको भनाइ छ ।
सदरमुकाम सिमकोटस्थित साल्ट ट्रेडिङको शाखा कार्यालयबाट सातामा एक दिन सोमबार नुन वितरण हुन्छ । सदरमुकामबाहिर ठेकेदारले ढुवानी गरेको नुन गाउँपालिकाको केन्द्रमा पुगेपछि जनप्रतिनिधिले वडागत रूपमा भागबन्डा गर्ने गरेको साल्ट ट्रेडिङ हुम्लाका प्रमुख राजबहादुर लामाले बताए । ‘गाउँका डिपोमा कर्मचारी नहुँदा समस्या भयो, अहिले वर्षभरि पुग्ने नुन एकैपल्ट दिने गरेका छौं,’ उनले भने, ‘अपुग भए स्थानीयले सदरमुकाम आएर नुन ल्याउनु हुन्छ ।’
यस वर्षका लागि अदानचुली गाउँपालिकाका लागि माग गरिएको ६ सय ४८ क्विन्टल नुन अझै आइनपुगेको शाखा प्रमुख लामाले जनाए । उनका अनुसार ताँजाकोट, अदानचुली, सर्केगार्ड, चंखेली र नाम्खा गाउँपालिकाका लागि नुन वितरण भइसकेको छ । खार्पुनाथका बासिन्दाले सदरमुकाम सिमकोटबाटै नुन खरिद गर्ने गरेका छन् । सदरमुकामबाट सातामा एक दिन सोमबार नागरिकताको प्रतिलिपिका आधारमा प्रतिव्यक्ति ११ किलो नुन वितरण गर्ने गरिएको छ ।
वर्षमा एकपल्ट आउने नुन पनि आर्थिक वर्ष सुरु भएको १० महिनासम्म नआएको अदानचुली गाउँपालिका–२ का हरिशचन्द्र रोकायाको भनाइ छ । ‘ढुवानी अनुदानको नुन एक त आउँदैन, आए पनि परिवारका सबै सदस्य र बस्तुभाउलाई पुग्दैन,’ उनले भने, ‘त्यसैले बजारको नुन प्रतिकिलो ४० रुपैयाँमा किनेर उपभोग गर्नुपर्ने बाध्यता छ ।’
यो वर्षका लागि निर्धारण गरिएको नुनको कोटा अपुग भएपछि दुई साताअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले चंखेली र सर्केगार्ड गाउँपालिकाका लागि थप १ हजार ५ सय क्विन्टल नुन माग गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्द बताउँछन् । ‘अब वर्षायाम सुरु हुँदै छ, यातायातका साधन चल्दैनन्,’ उनले भने, ‘त्यसैले आपत्कालीन अवस्थाका लागि पनि थप नुन चाहिएको हो ।’ उनका अनुसार ७ वटा गाउँपालिकाका लागि यो वर्ष ४ हजार ३ सय १० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ ।
सर्वदलीय बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सिमकोट र खार्पुनाथमा २ हजार ५ सय, नाम्खाका लागि ६ सय ३० र सर्केगार्डका लागि १ हजार ५ सय क्विन्टल कोटा निर्धारण गरेको छ । त्यस्तै अदानचुली र ताँजाकोटका लागि १ हजार ५ सय क्विन्टल गरी ६ हजार १ सय ३० क्विन्टल नुनको कोटा माग गरेको उनले जनाए । हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेलीका बासिन्दाले बर्सेनि नुनको अभाव भोग्दै आएको जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्माले बताए ।
‘सिमकोट र खार्पुमा त जसोतसो स्थानीयले नुन पाएका छन्, अरू पालिकामा वर्षमा एकपल्ट नुन आउँछ, त्यो बेला किन्न नसके बजारकै महँगो नुन उपभोग गर्नुपर्ने बाध्यता भयो,’ उनले भने, ‘यहाँका सबैजसो गाउँमा पशुपालन हुन्छ, पशुबस्तुलाई खोलेमा अनिवार्य नुन आवश्यक हुन्छ, ५० किलो नुन वर्षभरि आफूले खाने कि चौपायालाई खुवाउने ?’
पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांकअनुसार जिल्लाभरि झन्डै साढे ९ लाख पशुचौपाया पालिएका छन् । हिमाली र पहाडी क्षेत्रमा पालिने पशुबस्तुलाई दैनिक कम्तीमा २० ग्राम नुन चाहिने पशुविज्ञ कमल शर्माले बताए ।
व्यक्तिलाई स्वस्थ रहन प्रतिदिन ५ ग्राम नुन आवश्यक पर्ने भए पनि कर्णालीमा औसतमा प्रतिदिन ९.१ ग्राम नुनको उपभोग भइरहेको विभिन्न तथ्यांकले देखाएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले जनाए ।
