आइतबार बेलुकी आधा घण्टाभन्दा बढी परेको असिनाले बन्गाड कुपिण्डे, शारदा, बाग्चौर, कुमाखका किसानको उत्पादनमा क्षति पुर्याएको हो ।
सल्यान — वर्षासहित परेको असिनाले सल्यानमा किसानको खेतबारीमा पाकेका गहुँबाली, फलफूल र तरकारीमा क्षति पुर्याएको छ । आइतबार बेलुकी आधा घण्टाभन्दा बढी परेको असिनाले बन्गाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका, बाग्चौर नगरपालिका, कुमाख गाउँपालिकाका किसानको उत्पादनमा क्षति पुर्याएको हो ।
आफूले पाँच रोपनीमा लगाएको विभिन्न जातको तरकारीमध्ये बन्दागोभी बाहेक सबै सखाप भएको र १० रोपनीमा लगाएको अनार, कागतीमा क्षति पुगेको शारदा नगरपालिका-४ का किसान इन्द्र शर्माले बताए । ‘टमाटर पाक्न थालेका थिए भने केही फल्न थालेका थिए, सिमी फलेका थिए, भर्खर रोपेका करेला, लौका, घिरौलाका सबै सखाप भए,’ उनले भने, ‘भर्खर गाना लाग्न थालेका प्याज सबै ढलेका छन् । अनारका दाना झरेर भुइँभरि रात्तै छ । पात झियाझिया भएका छन् ।’
बन्गाड कुपिण्डे-९ का किसान टेकबहादुर बुढाथोकीले आफनो १० रोपनीमा पाकेको गहुँबालीमा असिना पानीले क्षति पुर्याएको बताए । असिनापानीले सबै गहुँ ढालेको र बाला पानीले भिजेका उनले जानकारी गराए । ‘१० रोपनीमा जग्गामा तीन मुरी जति गहुँ उत्पादन हुन्थ्यो, बिहान भात र बेलुकी रोटी खाए तीन महिना सजिलै खर्च टर्थ्यो सबै सकियो,’ उनले भने ।
बाग्चौर नगरपालिका-९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीले कोटमौला लगायत आसपासमा किसानले बगैंचामा फल लागेका सुन्तला र बिक्री गर्नका लागि राखेका बेर्नामा क्षति पुर्याएको बताए । असिनाले सुन्तलामा क्षति पुर्याएपछि दुई सयभन्दा बढी किसान प्रभावित भएका उनले जानकारी गराए । ‘किसानले सुन्तला बिक्री गरेर वार्षिक २५ करोड भित्रयाउँदै आएका थिए । उत्पादन घट्ने भएपछि चिन्ता छाएको छ,' उनले भने ।
बन्गाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष रुद्र परियारले किसानको पाखोबारीमा पाकेर काट्न ठिक्क भएको गहुँबाली मात्र नभई, किसानले व्यावसायिक रुपमा लगाएको टिमुर, स्याउमा क्षति पुगेको बताए । क्षतिको विवरण संकलनका लागि किसानको पाखोबारी तथा फलफूल बगैंचामा निरीक्षण गर्न थालिएको उनको भनाइ छ । 'क्षतिको विवरण संकलन गरेर क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाउँछौं,' उनले भने ।
जिल्लाका धेरै स्थानमा क्षति भयो भन्ने जानकारी आए पनि पूर्ण विवरण आउन समय लाग्ने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए ।
