सैन्य ‘अन्तिम दलेल कवाज’ सम्पन्न, १०८ जना दिक्षित

उत्तरपश्चिम पृतना मुख्यालयअन्तर्गत कालीबहादुर गण, कपासे व्यारेकमा सिरियल नम्बर ३८ सैनिक आधार तालिमको ‘अन्तिम दलेल कवाज’ समापन भएको हो ।

वैशाख १२, २०८३

ज्योति कटुवाल

Military 'Final Parade' completes, 108 graduates

काठमाडौँ — सुर्खेतस्थित कालिबहादुर गणमा सैन्य आधारभूत तालिम सम्पन्न भएको छ । उत्तरपश्चिम पृतना मुख्यालयअन्तर्गत कालीबहादुर गण, कपासे व्यारेकमा सिरियल नम्बर ३८ सैनिक आधार तालिमको ‘अन्तिम दलेल कवाज’ समापन भएको हो ।

२०८२ असार २ गतेदेखि सुरु भएको सैन्य आधार तालिम शुक्रबार सम्पन्न गरिएको हो । तालिम समापनका अवसरमा सैन्य जवानहरूले अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै १ सय ८ जना जना सैन्यहरू दीक्षित भएको गणपति प्रमुख सेनानी बासु खत्रीले बताए ।

तालिममा ६ प्रदेशका ३५ जनजाती, क्षेत्री ३९, दलित २७, ब्रामण ७ जना सहभागी रहेका थिए । लुम्बिनी प्रदेश, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बाग्मती र मदेश प्रदेशका सैन्य दीक्षित भएका हुन् । उत्तरपश्चिम पृतना हेडक्वारका पृतनापति (उपरथी) दिपेश जंग शाहले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्यमान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएका सबैलाई बधाई दिएका थिए ।

‘सेना बलियो भए मात्र देश बलियो हुन्छ । सिपाहीको कर्तव्य, जिम्मेवारी एवम् दायित्वलाई निर्वाह गर्नु पर्छ,’ उनले भने, ‘जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम कटिबद्ध रहनु होला ।’

उक्त तालिममा सर्वोकृष्ट हुने सैन्य दिपक बुढालाई प्रतीक स्वरूप खुकुरीद्वारा पुरस्कृत गरिएको थियो । गणपति खत्रीका अनुसार जवानहरुलाई जुनियर लिडरसिप तथा विभिन्न सैनिक कला र कौसलता सम्बन्धी तालिम दिएको बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully