ठेकेदारको लापरवाहीले अस्पताल भवन निर्माणमा ढिलाई हुँदा स्थानीयले सामान्य उपचारका लागि पनि खलंगा धाउनु परेको छ।
What you should know
जुम्ला — कनकासुन्दरी गाउँपालिकामा तत्कालीन अध्यक्ष नरबीर रावतले २०७७ मंसिरमा १५ बेडको अस्पतालका लागि भवन शिलान्यास गरे । कनकासुन्दरी-५ स्थित हाटसिंजामा निर्माणाधीन अस्पतालको भवन निर्माण अहिलेसम्म पूरा हुन सकेको छैन । शिलान्यास भएको सात वर्षसम्म पनि अस्पतालको भवन निर्माण सकिएर सेवा सुरु नहुनु दुःखद भएको स्थानीयको गुनासो छ ।
अस्पताल भवन निर्माणको लागि २२ जना स्थानीयले ३ हजार ५ सय वर्गमिटर जग्गा निशुल्क उपलब्ध गराएका थिए । तर निर्माण व्यवसायीको लापरवाहीका कारण भवन समयमै नबनेपछि स्थानीय निराश छन् ।
भवनका लागि ठेकेदार कम्पनीले १५ करोड रुपैयाँमा सम्झौता गरेको छ । सम्झौतामा तीन वर्षभित्र भवन निर्माण गर्ने उल्लेख छ । तर टिडीआर लक्ष्मी मजदुर निर्माण सेवाले पेस्की लिएर पनि कामले गति लिन सकिरहेको छैन ।
अस्पताल भवन निर्माणको लागि प्राविधिक सहयोग सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले गरेको थियो । एकातिर ठेकेदारको चरम लापरवाही र अर्कोतिर गाउँपालिकाको निरन्तर ताकेता नहुँदा अस्पताल निर्माण अलपत्र गरेको स्थानीयको गुनासो छ ।
कनकासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले अहिले अस्पताल भवनको निर्माण कार्यले गति लिएको बताए । भवन निर्माणको काम अलपत्र थियो । ठेकेदार कम्पनी नै सम्पर्कमा थिएन ।
अहिले जुम्लाका अर्जुनसिंह कठायतले कामको जिम्मा लिएपछि निर्माणको काम अघि बढेको छ । सुरुमा ठेकेदारले १ करोड २८ लाख रुपैयाँ पेस्की लिएर काम अलपत्र छाडेका थिए । पहिलो रनिङ बिल १ करोड ४ लाख रुपैयाँ पनि भुक्तानी भइसकेको छ । दोस्रो रनिङ बिल ५५ लाख रुपैयाँको भुक्तानी प्रक्रियामा छ । पहिले ठेकेदारको बदमासीले भवन समयमै बन्न नसकेको र अहिले म्याद थपेर तीब्र गतिमा काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
२०७७ मंसिर २१ मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले तिला गाउँपालिकामा ३ कुडारीमा १० बेडको अस्पताल भवनको शिलान्यास गरेका थिए । २०७९ माघसम्म भवन निर्माण भइसक्नुपर्ने सम्झौता थियो । तर अहिलेसम्म अस्पताल बन्न सकिरहेको छैन ।
संघीय सरकारको १२ करोड रुपैयाँको लागतमा अस्पताल बन्न लागेको थियो । अहिलेसम्म भवन बनेको छैन । सरकारले समयमै बजेट नपठाएकोले पटकपटक पालिकाले म्याद थपेर काम गर्नुपरेको पालिकाले जनाएको छ । ठेक्काको म्याद दुई पटक म्याद थप्नु परेको अध्यक्ष मोतिलाल रोकायाले बताए । उनका अनुसार अस्पताल निर्माणका लागि खानी खड्का र कमल जित जेभी निर्माण सेवाले काम गरिरहेका छन् ।
अस्पताल निर्माणको काम अन्तिम चरणमा छ । आगामी असारसम्म हस्तान्तरण गर्ने तयारी छ । झ्यालढोका जोड्नेदेखि रंगरोहन गर्ने काम बाँकी छ । संघीय सरकारको हरेक स्थानीय तहमा ५ देखि १५ बेडको अस्पताल निर्माण गर्ने योजना अनुसार कर्णालीका ४२ स्थानीय तहमा ४२ वटा अस्पताल निर्माणका लागि छनौट भएका थिए । त्यतिबेलाकै योजना अनुसार जुम्लाका कनकासुन्दरी र तिला गाउँपालिकाले अस्पताल भवन निर्माण थालेका थिए । अहिले यी पालिकावासीले सामान्य बिरामी हुँदा पनि उपचार गराउन खलंगा पुग्नुपर्ने बाध्यता छ ।
