मेडिकल अधिकृत आएपछि बन्द भएको शल्यक्रिया सेवा पुन संचालनमा आएको हो ।
सल्यान — जिल्ला अस्पताल सल्यानमा चिकित्सको अभावमा बन्द भएको शल्यक्रिया सेवा १० दिनपछि संचालनमा आएको छ । मेडिकल अधिकृत आएपछि बन्द भएको शल्यक्रिया सेवा पुन संचालनमा आएको हो ।
चिकित्सकको अभावमा शल्यक्रिया सेवा गत चैत २८ देखि बन्द भएको थियो । शल्यक्रिया सेवा बन्द भएपछि दाङ, नेपालगन्ज, सुर्खेत धाउन बाध्य भएका विरामी अहिले जिल्ला अस्पतालबाटै पुन सेवा पाउन थालेका छन्।
मेडिकल अधिकृत डा. सुमन यादव आएपछि रोकिएको शल्यक्रिया सेवा संचालनमा आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए । यता कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गाईनोकोलोजिष्ट पठाएको पत्र आएको उनले बताए ।
जिल्ला अस्पताल सल्यानमा महिनामा एक सय भन्दा बढी सुत्केरी हुने गरेका छन् । जसमध्ये जटिल समस्या भएका १०/१२ जनाको शल्यक्रिया हुने गरेको बुढामगरले जानकारी दिए ।
