सरकारले तोकेको समयअगावै विद्यालय सञ्चालन गर्दै कर्णालीका पाँच स्थानीय तह

नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारतभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको भन्दै आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने निर्णय गरेको पालिकाका जनप्रतिनिधिको भनाइ ।

वैशाख ९, २०८३

तृप्ति शाही

Five local levels in Karnali are operating schools ahead of schedule set by the government.

What you should know

वीरेन्द्रनगर — सरकारले वैशाख १५ गतेबाट भर्ना अभियान र २१ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । शिक्षा नियमावली २०७८ ले नयाँ शैक्षिक सत्र २ वैशाख र पठनपाठन १६ वैशाखबाट सञ्चालन गर्नु भनेको छ ।

तर कर्णालीका पाँच स्थानीय तहले भने केन्द्र सरकारले तोकेको समयअगावै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । साथै उनीहरूले सरकारले आइतबार दिन थालेको बिदा पनि नदिने भएका छन् । 

संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिएको आधार प्रयोग गरी आइतबारसमेत बिदा नदिने निर्णय गरेका हुन् । 

नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारतभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको भन्दै आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने निर्णय गरेको पालिकाका जनप्रतिनिधिको भनाइ छ ।

डोल्पाको मुड्केचुला गाउँपालिकाको ३ वैशाखमा बसेको गाउँ शिक्षा समितिको बैठकले सरकारले गरेको निर्णय लागू गर्न कठिनाइ भएको जनाएको छ । हिमाली जिल्ला पर्ने भएकाले आइतबार बिदा दिँदा पाठ्यक्रमअनुसारको पाठ्यभार पूरा गर्न नसकिने भन्दै यस्तो निर्णय गरेको पालिकाले जनाएको छ । सरकारको निर्णयले हिमाली जिल्लामा चिसोलगायतका कारणले पाठ्यभार पूरा गर्न सकस हुने भन्दै दुवै निर्णय कार्यान्वयन नगर्ने गाउँपालिकाको भनाइ छ । 

हिमाली जिल्लामा पुसमा १५ र माघमा ३० दिन गरी ४५ दिन बिदा हुँदै आएकामा आइतबार बिदा दिँदा तोकिएको वार्षिक पाठ्यक्रमअनुसार कुनै पनि कक्षाको पाठ्यभार पूरा गर्न नसकिने बताएको छ । गाउँशिक्षा समितिको निर्णयअनुसार नियमित विद्यालय सञ्चालन गर्न १५ वैशाख नकुर्न पालिकामा सञ्चालित सम्पूर्ण विद्यालयलाई निर्देशन दिइएको छ ।

यस्तै, डोल्पाकै ठूली भेरी नगरपालिकाले पनि सरकारको निर्णय कार्यान्वय नगरेर पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । नगरपालिकाको नगर शिक्षा समितिले पालिकामा सञ्चालित सम्पूर्ण सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरूमा आइतबार पनि पठनपाठन सुचारु हुने जनाएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलबहादुर रोकायाका अनुसार मंगलबारदेखि शुक्रबार (८ वैशाखदेखि ११ गते) सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न र १३ वैशाखबाट कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको छ । यस्तै यहाँकै काइके गाउँपालिकाले पनि आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गोविन्द घर्तीका अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने संघीय सरकारको निर्णय कार्यान्वयनका विषयमा छलफल भयो । तर आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको कार्यपालिका बैठकले पनि ७ वैशाखबाट विद्यालय अभियान सुरु गरिसकेको जनाएको छ । यस्तै आइतबार बिदा नदिने निर्णय पनि पालिकाले गरेको छ । 

दुई दिन बिदा दिँदा वार्षिक पाठ्यभार पूरा गर्न नसकिने भन्दै आइतबार बिदा नदिने निर्णय गरिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष प्रेमकली बुढाले जानकारी दिइन् । यस्तै, जुम्लाकै तातोपानी गाउँपालिकाले पनि पालिकाका २९ वटै सामुदायिक विद्यालयमा आइतबार बिदा नदिने निर्णय गरेको छ । 

पालिकाले १४ वैशाखसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने र १५ बाट नियमित कक्षा सञ्चालन गर्ने तयारी थालेको शिक्षा शाखा प्रमुख सुरतबहादुर शाहीले बताए ।

यस्तै सुर्खेतको अमरज्योति मावि नेवारेमा कक्षा ११ को पठनपाठन जारी छ । कोर्स पूरा नभएकाले पढाइ जारी रहेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । उनका अनुसार अहिले कक्ष्ाँ ११ को मात्र पढाइ जारी छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully