डढेलोसँगै बढ्यो वायु प्रदूषण, आँखाका बिरामी बढ्दै

आँखा उपचार केन्द्र शीतलपाटीकी स्वास्थ्यकर्मी तथा इन्चार्ज निशा सेर्पाइलीले डढेलोबाट भएको वायु प्रदूषणले आँखा पोल्ने, चिलाउने समस्या भएका बिरामी दैनिक ४० जनासम्म स्वास्थ्यकेन्द्रमा आउन थालेको बताइन् ।

वैशाख ९, २०८३

विप्लव महर्जन

Air pollution increases with fires, eye diseases on the rise

What you should know

सल्यान — दैनिकजसो वनमा लाग्ने डढेलोका कारण निस्केको धूवाँले सल्यानमा वायु प्रदूषण बढ्दै गएको छ । सुरक्षाकर्मी, सम्बन्धित निकाय र सामुदायिक वनका उपभोक्ता मिलेर एक ठाउँमा लागेको डढेलो नियन्त्रण गर्न नपाउँदै स्थानीयको लापरबाहीका कारण अर्को स्थानमा डढेला सल्किँदा वायु प्रदूषण बढ्दै गएको हो । 

वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा विभिन्न किसिमको असर पर्न थालेको छ । प्रदूषणका कारण जिल्लावासीमा श्वासप्रश्वास, आँखा पोल्ने, पाक्ने, पिरो हुने, टाउको दुख्ने घाँटी खसखस गर्ने, नाक बन्द हुने, छालामा एलर्जी हुने समस्या देखिन थालेको छ । डढेलोका कारण धूवाँ फैलिँदा दमको रोग भएका वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । 

प्रदूषणका कारण अस्पताल तथा स्वास्थ्यसंस्थामा बिरामी बढ्न थालेका छन् । वायु प्रदूषणले जिल्ला अस्पताल सल्यानमा श्वासप्रश्वासमा समस्या भएका बिरामी उपचार गर्न आइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए । श्वासप्रश्वास तथा दम रोगसम्बन्धी दैनिक १०/१२ जना बिरामी अस्पतालमा आइरहेका तर भर्ना गर्नुपर्ने अवस्था नरहेको उनले जानकारी गराए । वायु प्रदूषणले सबैभन्दा बढी दम र आँखाका रोगीलाई असर गर्ने भएकाले घरदेखि बाहिर निस्किँदा मास्क तथा चस्मा लगाउन डा. बुढा मगरले जिल्लावासीलाई आग्रह गरेका छन् । 

आँखा उपचार केन्द्र शीतलपाटीकी स्वास्थ्यकर्मी तथा इन्चार्ज निशा सेर्पाइलीले डढेलोबाट भएको वायु प्रदूषणले आँखा पोल्ने, चिलाउने समस्या भएका बिरामी दैनिक ४० जनासम्म स्वास्थ्यकेन्द्रमा आउन थालेको बताइन् । साताअघिसम्म दैनिक २०/२५ जना बिरामी उपचारका लागि आउनेमा पछिल्लो समयमा यो संख्या बढेको उनले जानकारी गराइन् । ‘प्रदूषणका कारण आँखा पाक्न थालेको छ,’ उनले भनिन् । प्रदूषणबाट बच्न चस्मा अनिवार्य लगाउन र बाहिर गएर घर फर्केपछि पानीले आँखा सफा गर्न उनले जिल्लावासीलाई आग्रह गरेकी छिन् । 

प्रदूषणका कारण अहिले बजारमा हिँडडुल गर्न गाह्रो हुन थालेको र श्वास फेर्दा धूवाँ गन्ध आउने र नाकभित्र कालो जम्ने गरेको कुमाख गाउँपालिका सल्यानका वन तथा वातावरण अधिकृत जीवन शर्माले बताए । प्रदूषणकै कारण गाउँमा बिरामी बढिरहेको उनले जानकारी गराए । ‘वातावरण विभागको तथ्यांक अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वायु प्रदूषणको तह १ सय ६६ छ । सुर्खेतबाट सल्यान नजिकै भएकाले उस्तै उस्तै हुन सक्छ,’ उनले भने । वायु प्रदूषणबाट बच्न वनमा डढेलो लाग्न नदिन पालिकाबासीलाई सल्लाह तथा सुझाव दिँदै आएको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully