रास्कोटमा इलाका प्रशासन: गाउँमै नागरिकता पाउँदा दंग

रास्कोटमा इलाका प्रशासन कार्यालय खुलेसँगै पचालझरना, पलाता, सान्नीत्रिवेणीलगायत स्थानीय तहका बासिन्दालाई प्रशासनको सेवा लिन समय र खर्च बचत हुने भएको छ।

वैशाख ८, २०८३

तुलाराम पाण्डे

Area Administration in Raskot: Shocked to receive citizenship in the village

What you should know

कालीकोट — पचालझरना–४ राम्नाकोटकी १६ वर्षीया सलिना सेजुवाल घरनजिकैको रास्कोटबाट नागरिकता लिइन् ।

उनले सोमबार रास्कोट–५ आरसिपि बजारमा संचालनमा आएको इलाका प्रशासन कार्यालयबाट नागरिकता पाएकी हुन् । ‘नागरिकता बनाउन कम्तीमा ५ हजार खर्च गरेर मान्म जानुपर्थ्यो,’ एसईई दिएर नतिजाको पर्खाइमा रहेकी सलिनाले भनिन्, ‘घरनजिकैबाट सेवा पाउँदा सजिलो भएको छ ।’ उनले यसअघि नागरिकताको लागि पचालझरनाबाट रास्कोट, सान्नत्रिवेणी, नरहरिनाथ हुँदै मान्म पुग्नुपर्ने बाध्यता रहेको सुनाइन् । 

पचालझरना रास्कोटसँग जोडिएको स्थानीय तह हो । घरनजिकै इलाका प्रशासन आएपछि समय र पैसा दुवै बचत भएको बताइन् । छोरीको नागरिकता बनाउन साथमा आएका उनका बुवा खड्गराज सेजुवालले सदरमुकाम मान्मभन्दा दुरी छोटो भए पनि पलाता र पचालझरना गाउँपालिकाका बासिन्दाका लागि रास्कोटसम्म सिधा गाडी नचल्दासम्म सेवा लिन कठिन नै भएको सुनाए ।

‘जाजरकोट र घाटपारीचौरबाट सिधैं मान्मको गाडी पाइन्छ,’ उनले भने ‘रास्कोट चल्ने गाडी नहुँदा सर्वसाधारणलाई आउन कठिन नै छ ।’ उनले नागरिकतालगायतका सेवा लिन आउने रास्कोट बारिहका स्थानीय तहका बासिन्दाका लागि नगरपालिकाले सिधा यातायातको व्यवस्था गनुपर्ने बताए । 

रास्कोट–५ स्युनाका ७८ वर्षीय सर्जन रोकाया नागरिकताको प्रतिलिपि गाउँमै पाउँदा खुसी छन् । एक वर्षअघि नागरिकता हराएपछि जेष्ठ नागरिक भत्ताको नवीकरण गर्न नपाएका रोकायाले सोमबार घरनजिकै खुलेको इलाका प्रशासन कार्यालयबाट नागरिकता पाए । खुट्टाको अपांगता भएका रोकायाले हराएको नागरिकताको प्रतिलिपि लिन सदरमुकाम मान्म जान नसक्दा सामाजिक सुरक्षाको नवीकरण गर्न नपाएको सुनाए । 

पहिलो पटक ०४८ फागुन ६ गते सदरमुकाम मान्मबाट नागरिकता लिएका सर्जनले गाउँमै नागरिकता पाएपछि खुसी हुँदै भने,‘आफ्नै गाउँबाट नागरिकता पाउने धोको बल्ल पूरा भयो ।’ उनका अनुसार ०३४ मा जुम्लाबाट अलगिएर बनेको कान्छो जिल्ला कालीकोटको सदरमुकाम मान्मलाई रास्कोट सार्ने चर्चा चले पनि सम्भव भएको थिएन । घनाबस्ती, मिलेको भूगोल, राम्रो कृषि उत्पादन हुने रास्कोटमा सदरमुकाम सार्न तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य धर्मदत्त उपाध्यायले ०४० देखि ०४५ सम्म राजदरवारमा बिन्ती पत्र चढाएर पहल गरेका थिए । 

तिला र कर्णाली नदीले दुई भागमा विभाजित कालीकोटमा ९ वटा स्थानीय तह छन् । भौगोलिक विकटताले सदरकुकाम मान्मबाट टाढा पर्ने, पलाता, पचालझरना, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका ५० हजार बासिन्दा लाभान्वित हुने गरी सोमबारदेखि रास्कोटमा इलाका प्रशासन कार्यालयले सेवा सुरु गरेको हो ।

सदरमुकाम मान्मस्थित जिल्ला प्रशासनबाट खाडाचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, महाबै र नरहरिनाथ गाउँपालिकाका बासिन्दाले मात्र सेवा लिने छन् । रास्कोटको इलाका प्रशासनले मान्मको जिल्ला प्रशासनमा हुने सेवाग्राहीको चाप घट्ने सहायक प्रजिअ जनक शर्माले बताए ।

उनले मान्मस्थित जिल्ला प्रशासनबाट दैनिक ५०/६० वटा नागरिकता  जारी हुने गरेको सुनाउँदै एसईई रिजल्ट लगत्तै र दसैंको बेला दैनिक २ सयसम्म नागरिकता वितरण हुने गरेको सुनाए । उनका अनुसार इलाका प्रशासनबाट नयाँ नागरिकता, प्रतिलिपि, राष्ट्रिय परिचय पत्र, पिछडिएको क्षेत्र, खसआर्यको सिफारिसलगायतका सेवा प्रदान हुने छन् । 

रास्कोटबाटै जिल्ला प्रशासनले दिने सेवा पाउँदा मान्म आउने ३ हजार गाडी भाडा र २ हजार अन्य खर्च बचत हुने नागरिक समाजका अगुवा टिकाराज उपाध्यायले बताए । ‘पैसा पनि जोगियो । समयको पनि बचत भयो,’ उनले भने । 

सोमबार इलाका प्रशासन कार्यालयबाट चार जनालाई नयाँ नागरिकता, ६ जनालाई प्रतिलिपि, १२ जनाको राष्ट्रिय परिचय पत्र बनाएको थियो भने एक जनालाई नाबालक परिचय पत्र र दुई जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको कायममुकायम शाखा अधिकृत नवराज बमले बताए ।  

रास्कोट–५ का वडाध्यक्ष मन तिरुवाको घर भाडामा लिएर कार्यालय संचालन गरिएको इलाका प्रशासन कार्यालयको नयाँ भवन असारसम्म निर्माण सकिने प्रजिअ गोकर्णराज सुयलले बताए । उनले इलाका प्रशासनका लागि ६ जना कर्मचारीको दरबन्दी स्व्कीृत भएको जानकारी दिए । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully