चार सडकमा कालोपत्रे नै रोकियो
What you should know
सल्यान — अमेरिका, इजरायल–इरान युद्धका कारण पेट्रोलियम पदार्थको मुल्यवृद्धि तथा बिटुमिनको अभावका कारण सल्यानका एक दर्जनभन्दा बढी योजना प्रभावित भएका छन् । जसमध्ये सडक डिभिजन कार्यालय दाङबाट सञ्चालित कालोपत्रेका लागि तयारी अवस्थामा रहेका चारवटा सडकमा काम नै रोकिएको छ ।
यस्तै, बिटुमिन सहजै नपाउँदा ६ सडक योजना प्रभावित भएका छन् । पूर्वाधार विकास कार्यालय सल्यानबाट सञ्चालित पाँचवटा सडक र एकवटा पुल समेत अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय दाङले सल्यान क्षेत्रमा पर्ने राप्ती राजमार्ग र भित्री सडक खण्डको लागि ५५ करोड र पूर्वाधार विकास कार्यालय सल्यानले ७३ करोड विनियोजन गरेको थियो । जसमध्ये सडक डिभिजन कार्यालय दाङले २९ किलोमिटर र पूर्वाधार विकास कार्यालय सल्यानले ३४ किलोमिटर कालापत्रे गर्नुपर्ने थियो ।
पूर्वाधार विकास कार्यालय सल्यानले खलंगा-बालुवासंग्रही, थारमारे–रागेचौर–चौरजहारी र सोलाबाङ्गरिम सडक खण्डमा केही किलोमिटर कालोपत्रेको काम गत वर्ष सम्पन्न गरिसकेको छ ।
बिटुमिनको अभाव पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तोकेको समयमा ठेकेदारले सम्पन्न गर्न नसक्ने देखिएको छ । समयमै काम सम्पन्न हुन नसक्दा जिल्लावासी प्रभावित मात्र नभई विगतमा जस्तै धुलाम्मे सडकमा यात्रा गर्न बाध्य हुनु पर्नेछ ।
सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अशोक चौधरीका अनुसार बिटुमिनको अभावमा राप्ती राजमार्गअन्तर्गत खरिबोट आसपासको सडक, लुहाम–टुनिबोट, खलंगा–कालिमाटी र रारा राजमार्गअन्तर्गत रागेचौर–बुरेलीखोला सडक खण्ड कालोपत्रेको काम रोकिएको छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राप्ती राजमार्गअन्तर्गत राम्री–हर्नेटी र टुनिबोट–सम्दीमोड सडक निर्माण प्रभावित भएको छ । जसका कारण काममा ढिलासुस्ती भएको छ ।
युद्ध यथावत रहे र पेट्रोलियम पदार्थको मूल्य बढदै गए तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी चौधरीले जानकारी दिए । ‘निर्माण कम्पनीले अहिले राप्ती राजमार्गको राम्री–हर्नेटी, टुनिबोट–सम्दीमोड सडकमा पर्खाल लगाउने, नाला खन्ने, सडक चौडा बनाउने काम गरिरहेका छन् । तर, भनेको समयमा पेट्रोलियम पदार्थ नपाउने, मूल्यवृद्धिले गर्दा समयमा किन्न नसक्ने अवस्थाले गर्दा पहिला जस्तो कामले तीव्रता दिन सकेका छैनन्,’ उनले भने ।
पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी भरत शर्माले कालिमाटी–बालुवा, खलंगा–जयतपानी–बालुवासंग्रही, थारमारे–रागेचौर–चौरजहारी, सोलाबाङ्ग–रिम र बाग्चौर पुलको काम प्रभावित भएको बताए । निर्माण कम्पनीले कालोपत्रेको लागि बेस सम्याउने काम लगभग सम्पन्न गरिसके पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बिटुमिन अभावका कारण अन्य काम गर्न बाध्य भएको उनले जानकारी गराए । उनका अनुसार बिटुमिनको अभाव बढदै गए सडक कालोपत्रे रोकिन सक्छ । पूर्वाधार विकास कार्यालय सल्यानले जिल्लाभरी ३३ योजना सञ्चालन गरेकोमा साना योजनामा त्यस्तो समस्या नदेखिएको उनको भनाइ छ ।
कालिमाटी–बालुवा सडक पाँच किलोमिटर कालोपत्रे गर्ने जिम्मेवारी पाएका मंगलदीप कुम्भेश्वर अभियान जेभीका ठेकेदार राजबहादुर शाहीले प्रर्याप्त मात्रामा बिटुमिन पाउन नसकेको र विभिन्न कम्पनीसँग सम्पर्क गर्दै आए पनि मूल्य बढ्दै गएकाले फागुनदेखि सुरु गर्नुपर्ने कालोपत्रे अहिलेसम्म सुरु गर्न नसकेको बताए ।
बिटुमिन नपाउँदा अहिले सडकमा बेस हाल्ने काम मात्रै गरिरहेको उनले जानकारी गराए । ‘केही महिना अघिसम्म बिटुमिन ८० रुपैयाँ प्रतिकिलो थियो । युद्धका कारण अभावसँगै प्रतिकिलो १७० पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य उत्तिकै बढेको छ । ‘मूल्य घट्ला र बिटुमिन ल्याएर काम गरौंला भनेर पर्खेर बसिरहेका छौं । घट्ने सम्भावना देखिँदैन्,’ उनले भने, ‘केही कम्पनीसँग सम्पर्क भैरहेको छ । पहिलाको भन्दा दोब्बर मूल्य बढेकाले अन्यौलमा छौं । सरकारले घाटापूर्ति गर्छ भने तत्काल काम गर्न तयार छौं । निर्माणको काम ९३ प्रतिशत सम्पन्न भैसकेको छ । इक्युपमेन्ट तयारी अवस्थामा छ । बिटुमिन सहज रुपमा पाएमा जेठभित्रै काम सम्पन्न हुन्छ ।’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा बिटुमिनको अभावमा थारमारे–चौरजहारी सडक खण्डको रागेचौर क्षेत्रमा करिब डेढ महिना काम रोक्नु परेको धुलिखेल एप्लाइट जेभीका ठेकेदारका मुकुन्द तिवारीले बताए । बिटुमिन अभावसँगै अहिले २० टन जोहो गरेर काम अगाडि बढाए पनि बीचैमा रोकिने अवस्था आएको उनले जानकारी दिए । ‘२० टनले एक किलोमिटर सडक कालोपत्रे हुन्छ । मैले कालोपत्रे गर्नुपर्ने तीन किलोमिटर हो । जम्मा ९ किलोमिटरमध्ये अन्य सम्पन्न गरिसकेको छु । बिटुमिनको लागि कम्पनीसँग कुराकानी भइरहेको छ । तर, कम्पनीले मागअनुसार पुर्याउन नसक्ने जानकारी गराएपछि काम गर्न गाह्रो भएको छ । बिटुमिन पाएको भए चैतमा काम सम्पन्न गरिसक्थ्यौं । अहिले जेठमा पनि सकिएला जस्तो छैन । सम्बन्धित निकायले ताकेता गरिरहेको छ । हाम्रो प्रयास जारी छ । तर, आवश्यक सामाग्री नपाएपछि हामीले के गर्न सक्छौं,’ उनले भने ।
खलंगा–बालुवासंग्रही सडकको ११ किलोमिटर सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालय सल्यानले १७ करोड विनियोजन गरेकोमा त्यसबाट चार सय मिटर मात्र कालोपत्रे गर्न बाँकी रहेकोमा बेसको काम सम्पन्न भएको दुई साता जति भैसकेको र बिटुमिन नपाउँदा कालोपत्रे गर्न नसकेको गाल्वा–धुलिखेल जेभीका ठेकेदार प्रमोदकुमार श्रेष्ठले बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले काम गर्न कठिनाई भएको र आर्थिक मारमा परेको उनले जानकारी गराए ।
