चिकित्सक नहुँदा सल्यान अस्पतालमा सातादेखि शल्यक्रिया सेवा बन्द

शल्यक्रिया सेवा बन्द भएपछि नजिकै न्यून शुल्कमा उपचार सुविधा पाएका बिरामी धेरै खर्चेर दाङ, नेपालगन्ज, सुर्खेत धाउन बाध्य भएका छन् ।

वैशाख ५, २०८३

विप्लव महर्जन

Surgery services closed for a week at Salyan Hospital due to lack of doctors

What you should know

सल्यान — जिल्ला अस्पताल सल्यानमा एक सातादेखि शल्यक्रिया सेवा बन्द भएको छ । चिकित्सकको अभावमा गत चैक्र २८ गतेदेखि शल्यत्रिया सेवा बन्द भएको हो । 

शल्यक्रिया सेवा बन्द भएपछि नजिकै न्यून शुल्कमा सुविधा पाएका बिरामी अहिले धेरै रकम खर्चेर दाङ, नेपालगन्ज, सुर्खेत धाउन बाध्य भएका छन् । दुई/तीन घन्टा गाडी तथा एम्बुलेन्समा सवार गरेर बाहिर जानुपर्दा जटिल समस्या भएका गर्भवतीलाई बढी समस्या हुने गरेको छ ।  

जटिल समस्या भएका गर्भवतीलाई लक्षित गरी जिल्ला अस्फताल सल्यानमा डेढ दशकअघि शल्यक्रिया सेवा सुरु गरिएको थियो । शल्यत्रिया सेवा ठप्प भएपछि विभिन्न पालिकामा रहेका आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट रिफर भएर आएका महिला बढी प्रभावित भएका छन् । जिल्लाका विभिन्न ग्रामिण क्षेत्रबाट गाडी रिजर्भ गरी जिल्ला अस्पताल आउने र त्यहाँबाट बाहिर जानु पर्दा जिलाबासीलाई सास्ती भएको छ । 

जिल्ला अस्पताल सल्यानमा कार्यरत एमडिजिपी डा. बुद्धिनाथ शाह विरामी भएर उपचारमा रहेको र अर्का डा. अशिम अधिकारी एमडी पढ्न गएपछि अस्पतालमा शल्यक्रिया सेवा रोकिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए । 

सेवा प्रभावित भएपछि संघ र प्रदेश सरकारलाई जानकारी गराएर चिकित्सको माग गरेको उनले बताए । ‘जिल्ला अस्पताल सल्यानमा महिनामा एक सय भन्दा बढी सुत्केरी हुने गर्छन्, त्यसमध्ये जटिल समस्या भएका १०/१२ जनाको शल्यक्रिया गुर्नपर्छ । जिल्ला अस्पताल आएका विरामीलाई बाहिर पठाउन नपरोस् भन्ने चाहन्छौं । चिकित्सक नभएपछि बाध्य भएर अहिले बाहिर पठाउनु परेको छ,’ उनले भने । दक्ष जनशक्तिको अभावमा बेलाबेला जिल्ला अस्पतालमा समस्या देखिरहने उनले बताए ।  

जिल्ला अस्पताल सल्यानमा चिकित्सक नभएर शल्यक्रिया सेवा बन्द रहेको खबर पाएपछि २३ वर्षकी एक गर्भवतीलाई बिहीबार सुर्खेत लगेको छिमेकी बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाका दिपक रानाले बताए । कालिमाटी हुँदै सुर्खेत जानु पर्दा धेरै समय लागेको र गाडी भाडा मात्रै १० हजार लागेको उनले बताए ।

‘जिल्ला अस्पताल सेवा पाएको भए निःशुल्क शल्यक्रिया हुन्थ्यो । यातायातमा बढीमा तीन हजारसम्म खर्च लाग्थ्यो । अस्पतालबाट सुत्केरी भत्ता पनि पाउँथे,’ उनले भने ।  चिकित्सकको अभावमा शल्यक्रिया सेवा बन्द भएपछि जटिल समस्या भएका गर्भवतीले घरनजिकैको अस्पतालबाट सेवा पाउन बञ्चित हुन परेको शारदा नगरपालिका–८ का डम्मर खड्काले बताए ।

२०४४ सालमा स्थापना भएको १५ शय्या अनुमति भएको जिल्ला अस्पतालले ४० भन्दा बढी बेड राखेर विभिन्न किसिमका सेवा दिँदै आएको छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully