सचेतनाले पनि रोकिएन डढेलो

बारम्बार सचेतना कार्यक्रम गरे पनि उपभोक्ताको लापरवाही र निभाउन उपकरण अभावमा डढेलो नियन्त्रणमा सफलता मिल्न सकेको छैन ।

वैशाख ४, २०८३

विप्लव महर्जन

Even awareness did not stop the fire.

सल्यान — प्रत्येक वर्ष डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघलगायत सरकारी–गैर सरकारी संस्थाले डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्छन् । यस वर्ष पनि विभिन्न स्थानमा यस्ता कार्यक्रमले निरन्तरता पाए ।

वर्षैपिच्छे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि जिल्लामा डढेलो नियन्त्रणमा छैन । यसपटक गर्मी चढ्न नपाउँदै चैत दोस्रो सातादेखि डढेलो फैलिन थाल्यो । सल्ली कुसुमले हिँडडुल गर्न समस्या, हरियो घाँस पलाएपछि पशुचौपायालाई आहारा हुने, वर्षातको पानीले घाँसपात डढेर निस्किएको खरानी बगाउँदा खेतमा मल हुने भन्दै लुकिछिपी उपभोक्ताले आगो लगाउँदा डढेलो नियन्त्रणमा आउन नसकेको हो । 

गत वर्ष जिल्लास्थित १ हजार ४ सय ९ हेक्टर वनमा डढेलो लागेको थियो । अघिल्लो वर्ष ३ हजार हेक्टर भन्दा बढी वनमा जलेको थियो । यसपाली जिल्लाका दुई दर्जन भन्दा बढी सामुदायिक र राष्ट्रिय वनमा डढेलो लागिसकेको छ ।

जिल्लाको शारदा नगरपालिका–१, ३, ४, ११ वडाका विभिन्न सामुदायिक वन, बन्गाड कुपिण्डे नगरपालिकाका केही सामुदायिक वन र कालिमाटी गाउँपालिका ५, ६ का केही वनमा डढेलो लागिरहेको छ । वनमा लागेको डढेलोले गर्मी बढ्न थालेको छ भने वातावरणमा त्यत्तिकै असर पर्न थालेको छ । 

नेपाली सेना, प्रहरी, सशस्त्र र स्थानीय उपभोक्ता डढेलो नियन्त्रणमा खटिने गरेका छन् । दमकल नहुँदा स्याउलाको भरमा आगो निभाउन बाध्य छन् । डढेलाले एक वर्षमा दुई दर्जन भन्दा घर जलेका छन् । शारदा–११ खैराबाङ्गस्थित चन्द्रेश्वरी सामुदायिक वनमा लगातार तीन दिनदेखि डढेलो लागिरहेको र हावाहुरी चलिरहेकाले नियन्त्रणमा लिन कठिनाई भएको शारदा–११ वडाध्यक्ष राजेशकुमार शर्माले बताए । 

जंगलमा गएका गोठाला वा अरु कसैले आगो लगाएको हुनसक्ने उनले जानकारी दिए । कालिमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले आफ्नो क्षेक्रका सामुदायिक वनमा दुई सातादेखि डढेलो लागिरहेको बताए । कालिमाटी–७ बाट बाँके निकुन्ज नजिकै छ । निकुन्जबाट वन्यजन्तु बस्तीमा आइरहन्छन् । वन्यजन्तुको आत्रमणबाट जोगिन पनि स्थानीय उपभोक्ताले आगो लगाउने गरेको उनले बताए ।  

बन्गाड कुपिण्डे–६ का रत्नबहादुर खडकाले मानवीय हेलचेक्रयाइँले डढेलो लाग्ने गरेको बताए । उनका अनुसार गर्मीमा सल्लाको कुसुम झर्दा बाटो चिप्लो हुने भएकाले कतिले लुकिछिपी आगो लगाउने गरेका छन् । सल्ली कसुमले नयाँ घाँस पलाउन नदिने भएकाले आहाराकालागि डढेलो लाउने गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले उपभोक्ताकै लापरवाहीले वनमा प्रत्येक वर्ष डढेलो लाग्ने गरेको बताए । वनमा डढेलो लाग्नबाट बचाउन प्रयास भइरहे पनि सफलता हाँसिल गर्न नसकिएको उनले बताए । 

प्राकृतिक भन्दा मानवीय कारण धेरै आगो लाग्ने गरेको डिभिजन वन कार्यालय प्रमुख टेकबहादुर रावलले बताए। वनमा कसले डढेलो लगायो भन्ने खुल्न नसकेको र कोही पनि पक्राउमा नपरेको उनले जानकारी दिए ।

उनका अनुसार कालिमाटी गाउँपालिका, दोस्रोमा बन्गाड कुपिण्डे नगरपालिका र तेस्रोमा शारदा नगरपालिकामा धेरै डढेलो लाग्ने गरेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले डढेलो नियन्त्रणबारे सम्बन्धित निकायले सचेतना फैलाउँदै आए पनि झिनो स्वार्थमा परेर उपभोक्ता वनमा आगो लगाउन सक्रिय भएको देखिएको बताए ।  

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully