नयाँ वर्षको पहिलो दिन कालिकोटमा बाघ-बिरालो मेला

एक सातदेखि घर-आँगन लिपपोत गरेर चोखो खाना खाएर वैशाख १ गतेका दिन अधिकारी परिवारका दुई खलकमध्ये कर्मकाण्ड गरेका मध्येबाट जेठो सन्तानपट्टिको बाघ बन्ने र कान्छोपट्टिको बिरालो बनेर जिउलोमा कुद्ने र त्यही गाउँका अरूले भेट्टाएर समातेपछि बाजागाजासहित ७४ घरधुरीमै पुगेर नाचगान गर्दै धूमधामले पूजाआजा गर्ने चलन छ ।

वैशाख २, २०८३

तुलाराम पाण्डे

Tiger and cat fair in Kalikot on the first day of the New Year

कालिकोट — नयाँ वर्षको  आगमनसँगै हरेक वर्ष शुभकालिका-३ भर्ता भाउसैन गाउँमा आयोजना हुने बाघ-बिरालो मेला सम्पन्न भएको छ । हरेक साल नयाँ वर्षको दिन पुर्खौंदेखि चल्दै आएको मेलामा भाउसैन गाउँका ७४ घरधुरी अधिकारी खलकले बाघ-बिरालो मेला आयोजना गरेर परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

वैशाख १ गते तागाको दिन स्थानीय पर्व अधिकारी बाघ बनेका थिए भने किरण अधिकारी बिरालो बनेका थिए । एक सातदेखि घर-आँगन लिपपोत गरेर चोखो खाना खाएर वैशाख १ गतेका दिन अधिकारी परिवारका दुई खलकमध्ये कर्मकाण्ड गरेका मध्येबाट जेठो सन्तानपट्टिको बाघ बन्ने र कान्छोपट्टिको बिरालो बनेर जिउलोमा कुद्ने र त्यही गाउँका अरूले भेट्टाएर समातेपछि बाजागाजासहित ७४ घरधुरीमै पुगेर नाचगान गर्दै धूमधामले पूजाआजा गर्ने चलन रहेको स्थानीय हेमन्त अधिकारीले बताए ।

'विन्द्रासैनी देवीको खुसीका लागि बाघ र बिरालो बनेर कुद्ने चलन छ,' उनले भने, 'पुर्खौंदेखि हरेक वर्ष नयाँ सालको दिन भर्तामा बाघ-बिरालो मेला लाग्ने गरेको छ ।' अधिकारी परिवारकै अगल-अलग परिवारबाट बाघ-बिरालो बन्ने र अरूले लखेटेर समातेपछि धूमधामले बाजा बजाउँदै घरघरमा पुगेर पूजा गर्ने गरिन्छ ।

बाघ र बिरालो बनाएर पूजा गरे पशुवस्तुको रक्षा हुने र गाउँमा पनि रोगब्याधिको डर नहुने जनविश्वासले मेला संचालन गर्दै परम्परा चलाइएको शुभकालिका-३ का युवा छत्र रोक्का मगरले बताए । परम्परागत मेला भए पनि पाक्ने बेलाको गहुँ बारीमा कुद्ने चलन सुधार्नु पर्ने स्थानीय उर्मिला तिमिल्सिनाले बताइन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully