दुर्गमको सडक सपना: दुई महिनादेखि डोजरले एउटै पहरा फुटाइँदै

कडा चट्टान, अप्ठ्यारो भूगोल र बजेट अभावका कारण नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ–रुप्सा सडक दुई वर्षमा एक किलोमिटर मात्रै खुलेको छ।

वैशाख १, २०८३

तुलाराम पाण्डे

Durgam's road dream: Dozers have been tearing apart the same wall for two months

What you should know

कालीकोट — नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँबाट रुप्सा जोड्ने सात किलोमिटर सडक निर्माण सुरु गरिएको दुई वर्षमा १ किलोमिटरमात्रै ट्रयाक खुलेको छ ।

कर्णाली रोजगार, मुख्यमन्त्री रोजगार र पालिका अनुदानबाट सजिलो ठाउँको सडक स्थानीयले गैंती, बेल्चा र साबेल जस्ता औजारबाट खने पनि अप्ठेरो भागमा गाउँपालिकाले ठेक्का लगाएर काम सुरु गरेको हो । 
गाउँपालिकाले दुवैतर्फबाट ठेक्का लगाएर काम गरिरहेको छ ।

डोजरले भीर फुटाउन थालेको दुई महिना भयो । नरहरिनाथ–५ रुप्साका अगुवा राजेन्द्र सहकारीले तीन किलोमिटर कडा चट्टान भएकाले कहिले छिचोलिने भन्ने एकिन नभएको बताए । उनले कुमालगाउँको गोठीदेखि अदेला हुँदै रुप्सासम्म पैदल हिँड्नु परेको बताए । 

कडा चट्टान र भिरालो जमीनमा स्थानीय उपभोक्ताबाट सडक खन्न सम्भव नभएपछि गाउँपालिकाले संघीय समपुरक कोषबाट प्राप्त बजेटमा लागत साझेदारी गरेर ६ महिनाअघि ठेक्का लगाएको हो । कुमालगाउँको गोठीबाट अदेलातर्फको दुई किलोमिटरका लागि २ करोड रुपैयाँमा लगाएको ठेक्का नन्दमाता किरण जेभीले पाएको छ ।

रुप्सासम्म छिटो यातायात पुर्‍याउन तल र माथि दुवैतर्फबाट ठेक्का लगाएर काम गराइरहेको गाउँपालिकाले उपाध्यक्ष कमलकुमार शाहले बताए । माथि रुप्साबाट र तल अर्को ६ करोडको ठेक्कामार्फत सद्भाव एसकेटी जेभीले दुई महिनादेखि डोजर लगाएर चट्टानमा काम गरिरहेको उनले बताए । उनका अनुसार मेहेलमुडी हुँदै रुप्सा लेकबाट तल झारिएको डोजरले माथिबाट तलतिर भीर फुटाइरहेको छ भने कुमालगाउँतर्फबाट माथितिर पनि डोजरले काम गरिरहेको छ । 

गाउँपालिकाको केन्द्र कुमालगाउँबाट ५ घण्टा पैदल हिँडेर रुप्सा पुग्नु परेको गुनासो गर्दै स्थानीय धिरेन्द्र बोगटीले सडक बनेपछि पिठ्यूको भारी बोक्नुपर्ने र पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य हुने बताए । ‘पहिलो कार्याकालका जनप्रतिनिधिले पनि सडक पुर्याउँछौं भनेर भोट मागे । दोस्रो कार्यकालकाले पनि सडक नै चुनावी नारा बनाए,’ उनले भने, ‘हामीले कहिले गाडी चढ्न पाउने हो भन्ने अझै निश्चित भइसकेको छैन ।’ 

गाउँपालिकाको केन्द्र कुमालगाउँबाट रुप्सा जोड्ने सडक आउँदो एक वर्षभित्र ट्रयाक खोल्ने गरी भएको ठेक्का अनुसार काम भइरहेको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । ‘अबको एक वर्षभित्र पालिकाका सबै बस्तीमा सडक पुर्‍याउने योजना छ,’ उनले भने, ‘कुमालगाउँसम्म त पिच नै गर्ने लक्ष्य छ ।’ 

उनले रुप्सा जोड्ने सडकको लागि विष्फोटक पदार्थ माग गर्दै गृह मन्त्रालयमा तीन पटक पत्राचार गरे पनि अझै अनुमति नआएको सुनाए । ‘पहरा फुटाउन मेसिनले मात्र नहुने अवस्था छ । विष्फोट गराउनै पर्ने देखिएको छ,’ उनले भने । 

उनले कालीकोटको खुलालीबाट लालु, माल्कोट, कुमालगाउँ, कोटवाडा, सान्नी, रास्कोट, नानीकोट हुँदै बाजुराको लैफू जोड्ने रणनीतिक सडक पनि निर्माण भइरहेको बताए । यो सडक बनेपछि कोटवाडा विमानस्थल पनि संचालनका लागि दबाब दिन पनि सहज हुने उनले बताए ।  

कुमालगाउँ–रुप्सा सडकमा कडा चट्टान भएकाले काम गर्न कठिनाइ भएको गाउँपालिकाका इन्जीनियर निरक शाहले बताए । ‘विकट ठाउँमा सडक पुर्याउनै कठिन भएको छ,’ उनले भने ‘सजिलो भूगोल भएको भए यति बजेटले कालोपत्र नै गर्न सकिन्थ्यो । विकट ठाउँमा एउटै पहरा फुटाउन करोडौं खर्चिनुपरेको छ ।’ उनले सरकारले दुर्गममा विकास मोडेल नै फेरेर ठाउँ अनुसारको बजेट विनियोजन गरिनुपर्ने सुझाए ।  

कर्णाली करिडोरको लालीघाटबाट ०७५ मा सडक निर्माण सुरु गरेर एक वर्षमै गाउँपालिकाको केन्द्र कुमालगाउँसम्म सडकको ट्रयाक खुले पनि अझै स्तरोन्नति हुन सकेको छैन । खुलालुबाट लालु हुँदै माल्कोट रातीमाटासम्म ३१ किलोमिटर सडक वडा ८, ९, ६ र ७ सडक सञ्जालमा जोडिएको छ भने लालीघाट हुँदै कोटवाडा र कुमालगाउँ वडा १, २ र ३ सम्म ६ वर्षअघि सडकको ट्रयाक खुलिसकेको गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताए । ‘विकास भनेकै सडक रहेछ । सडक बनेपछि शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारजस्ता अरु सम्भावनाका ढोका पनि खुल्ने रहेछन्,’ उनले भने ।  

साविकका लालु, माल्कोट, कोटवाडा, कुमालगाउँ र रुप्सा ५ गाविस मिलेर बनेको नरहरिनाथ गाउँपालिका जिल्लाका अन्य पालिकाभन्दा भूगोलमा र जनसंख्या ठूलो स्थानीय तह हो । कूल १ सय ४३ दशमलव ८६ वर्गकिलोमिटर क्षेत्रफल भएको नररिहनाथको जनसंख्या २१ हजार ३ सय ६६ छ । 

गाउँमा सडक पुर्याउन जनप्रतिनिधि, समुदाय सबैको सक्रियता आवश्यक रहेको नरहरिनाथ–५ रुप्सा निवासी प्रतिनिधिसभा सदस्य कालीबहादुर सहकारीले बताए । उनी कांग्रेसबाट निर्वाचित समानुपातिक सांसद हुन् । उनले रुप्सासम्म सडक पुगेपछि त्यहाँबाट अछामको रामारोशन जान पनि सहज हुने बताए । रुप्साबाट ३ घण्टामै पैदल रामारोशन पुगिन्छ । गाडी चल्न थाले एक घण्टामै पुगिनेछ । उनले नरहरिनाथको लालीघाट हुँदै रुप्सा सडक पुगेपछि बडिमालिका जाने तीर्थयात्रीलाई पनि एक दिनको दुरी छोटिने बताए ।  

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully