स्याउ बगैंचामा आगलागी हुँदा तीन सय विरुवा नष्ट

जुम्लाको गुठिचौर गाउँपालिका- ३ स्थित धापाखेतमा स्याउ बगैंचामा आगलागी हुँदा तीनसय स्याउका विरुवा नष्ट भएका छन् ।

चैत्र ३०, २०८२

डीबी बुढा

What you should know

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका- ३ स्थित धापाखेतमा स्याउ बगैंचामा आगलागी हुँदा तीनसय स्याउका विरुवा नष्ट भएका छन् । गुठिचौर गाउँपालिका–५ का हरिबहादुर भण्डारीको स्याउ बगैंचामा आगलागी भएको हो ।

उनी गुठिचौर गाउँपालिकाका पूर्वपालिका अध्यक्ष समेत हुन् । बगैंचामा स्याउ फुलेर सेताम्य भइरहेको थियो । यो पटक फल राम्रै दिने अपेक्षा गरिएको थियो तर आगो लागेर विरुवाहरु नष्ट भए । 

आइतबार दिउँसो १२ बजेतिर बगैंचामा आगो लागेको हो । आगो लागेर लाखौंको क्षति भएको भण्डारीले बताए । आगो  कसरी लाग्यो भन्ने एकिन हुन सकिरहेको छैन । आगलागीपछि धलमुडी प्रहरी चौकी इन्चार्ज ताराबहादुर डाँगीको टोली पुगेको थियो । प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए । 'आगोले फल दिने तीन सय स्याउका विरुवा पूर्णरुपमा नष्ट भए',हरीबहादुरले भने,‘प्रारम्भीक अनुमान अनुसार ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।’

दुई हजार क्षेत्रफलमा फैलिएको बगैंचामा रोपिएको स्याउमा क्षति पुगेको हो । 'बर्षौंदेखिको मेहनत आगोले सकिदियो',भण्डारीले भने,‘आम्दानी हुने बेलामा विपत्ति आइलाग्यो ।’ बगैंचामा सुख्खा घाँस धेरै भएकोले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 

झण्डै ६१ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस बगैंचामा १ हजार ६ सय बिरुवा छन्, जसमा ९ सय स्थानीय र ७ सय फुजी जातका स्याउ छन् । ०६९ सालमै घेराबन्दी र पूर्वाधार निर्माणमा १२ लाखभन्दा बढी खर्च भएको यो बगैंचामा हालसम्म कुल ५० लाख रुपैयाँ लगानी भइसकेको छ । 

अघिल्लो वर्ष ७५ हजार रुपैयाँ, गत वर्ष करिब डेढ लाख आम्दानी भएकोमा यस वर्ष ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको थियो । तर बगैंचामै आगो लागेपछि उनको सपना असफल बनेको छ । बगैंचा स्याउ फुलेर सेताम्य थियो । पटकपटक बर्षा भएकोले यो पटक राम्रै स्याउ फल्ने अनुमान गरिएको थियो ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully