कुडा कर्नालीका : वातावरण, विकासदेखि उद्यमबारे मन्थन

प्रतिनिधिसभा सदस्य केपी खनालले गाउँमा डोजर पुग्नु र बाटो छिचोल्नुलाई मात्र विकास मान्ने हो भने त्यही बाटो भएर युवाहरू श्रम बेच्न विदेशिनु विडम्बना भएको बताए ।

चैत्र ३०, २०८२

कृष्णप्रसाद गौतम

Kuda Karnalika: Brainstorming on environment, development, and entrepreneurship

What you should know

सुर्खेत — वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको दोस्रो दिनको दोस्रो चरणका सत्रहरूमा वातावरण, विकासदेखि उद्यमबारे विचार मन्थन गरिएको छ । 

आइतबारको चौथो बहस ‘विकासको गोरेटोः प्रकृतिको ओत’ मा वक्ताहरूले संरक्षणलाई समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य केपी खनालले गाउँमा डोजर पुग्नु र बाटो छिचोल्नुलाई मात्र विकास मान्ने हो भने त्यही बाटो भएर युवाहरू श्रम बेच्न विदेशिनु विडम्बना भएको बताए । ‘कर्णालीमा पानी, अक्सिजन, जडीबुटी र संस्कृतिको फिक्स डिपोजिट छ,’ उनले भने, ‘हाम्रो मानसिकतालाई बदलेर कर्णालीको भूगोलले चाहेको विकास गर्न सके त्यो दिगो हुन्छ ।’

प्रकृतिमा जे छ, त्यसलाई बचाएर बुद्धिमत्तापूर्वक विकास गरे त्यसले जोखिम नहुने  राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य-सचिव डा. नरेश सुवेदीले बताए । ‘प्रकृतिलाई बुद्धिमत्तापूर्वक प्रयोग गरी एकीकृत संरक्षण र विकासको मोडेलमा जानुपर्छ,’ उनले भने, ‘अबका पूर्वाधार ५० वर्षपछिको वातावरणीय अवस्था हेरेर डिजाइन गर्नुपर्ने आवश्यक्ता छ ।’ 

कर्णाली प्रदेश सरकारका सिनियर डिभिजनल इन्जिनियर रुपक थापाले सडक अन्य पूर्वाधारको पनि पूर्वाधार भएकाले सबैतिर सडक खन्ने लहर चलेको बताए । ‘सडकले नै अन्य विकासका स्रोतलाई जोड्ने हो,’ उनले भने, ‘तर डोजर जता जान्छ, त्यतै खन्दा हामीले विनाश भोग्यौं ।’ सडक निर्माण गर्दा ‘ग्रिनरी एरिया’ र वन्यजन्तुको जैविक मार्गलाई ध्यान दिनुपर्ने मध्यपश्चिम विश्वविद्यालयकी उपप्राध्यापक पवन थापाले बताइन् ।

अर्को सत्र ‘उद्यमको उडानः स्थानीय उद्यमीका सुख–दुःख’ मा बोल्दै कर्णालीमा अथाह सम्भावना भए पनि झन्झटिलो सरकारी प्रक्रिया, गुणस्तरीय कच्चा पदार्थको अभाव र राज्यको उदासीनताले उद्यमीहरूलाई निरुत्साहित गरिरहेको होटल व्यवसायी पोषण रेग्मीले बताए ।

रत्नपत्थर व्यवसायी शीला नेपालीले सरकारले खानीहरू बन्द गरिदिँदा कच्चा पदार्थ पाउन समस्या भएको गुनासो गरिन् । यस्तै सर्जिकल व्यवसायी कल्पना विष्टले बैंकिङ कर्जामा पहुँचवालाको मात्रै हालीमुहाली अन्त्य गर्नुपर्ने बताइन् ।

आधुनिक मेसिन र दक्ष जनशक्तिको अभावमा अन्तर्राष्ट्रिय बजारबाट आएको अर्डरसमेत पूरा गर्न नसकिएको उद्यमीहरूको गुनासो थियो । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully