मनपरी गिटी, बालुवा उत्खननले वातावरणीय जोखिम निम्तिएको भन्दै टेन्डरबाहेकका उत्खननमा रोक लगाएको प्रहरीले जनाएको छ ।
सल्यान — सल्यानमा टेन्डरबिना अवैध रुपमा खोलाजन्य वस्तु (गिटी, बालुवा ) उत्खननमा प्रहरीले रोक लगाएको छ । अवैध तथा जथाभाबी उत्खननले विभिन्न जोखिम निम्त्याएको भन्दै उत्खननमा प्रहरीले रोक लगाएको हो ।
जिल्लाका १० स्थानीय तहमा यो वर्ष त्रिवेणी र कालिमाटी गाउँपालिकाले मात्र टेन्डर आह्वान गरी गिटी, बालुवा उत्खनन गर्दै आएका छन् भने शारदा, बाग्चौर, बन्गाड कुपिण्डे नगरपालिका, कुमाख, सिद्धकुमाख, दार्मा गाउँपालिकाले टेन्डरबिना उत्खनन गर्दै आएका छन् ।
राजस्व संकलनका नाममा जिल्लाको शारदा नदीलगायत अन्य खोलाबाट विगतदेखि नै विकास निर्माणको नाममा गिटी, बालुवा उत्खनन भइरहेको छ । मापदण्डविपरीत एक्स्काभेटरलगायत उपकरणले खोलाजन्य वस्तु उत्खनन गर्दा जलचर प्राणी मासिँदै गएका छन् ।
मनपरी गिटी, बालुवा उत्खनन गरेकै कारण विभिन्न जोखिम बढेपछि आईईई गरेर टेन्डरबाहेक उत्खननमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीले बताए । अवैध रुपमा उत्खनन गर्दै आएका झन्डै तीन दर्जन ट्र्याक्टर, एक्स्काभेटर, टिपर नियन्त्रणमा लिएर कारबाही गरेको उनको भनाइ छ ।
‘अहिलेसम्म त्रिवेणी र कालिमाटी गाउँपालिकाले शारदा र बबई नदी किनारमा गिटी, बालुवा उत्खननको टेन्डर गरेका छन् । उनीहरलाई रोकेका छैनौं,' उनले भने, 'अन्य पालिकाका सबै स्थानबाट पूर्ण रुपमा रोक लगाएका छौं । कसैले कानुनविपरीत काम गरेमा कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।'
बाग्चौर नगरपालिकाका प्रमुख जनकराज गौतमले तीन पटक टेन्डर आह्वान गर्दा कसैले ठेक्का नहालेपछि स्थानीय तहको कानुनी अमानतबाटै नगरभित्रका पाँच स्थानबाट गिटी बालुवा उत्खनन गरेर राजस्व संकलन गर्दै आएको बताए । ‘टेन्डरबाट हुन नसकेपछि अमानतबाट उत्खनन गर्न पाइने कानुनी प्रावधान छ । त्यहीअनुसार आईई गरेर सबै किसिमका मापदण्ड पालना गरी उत्खनन गरिरहेका छौं,’ उनले भने ।
बन्गाड कुपिण्डे नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्यले टेन्डर गरेर खोलाजन्य वस्तु उत्खननको प्रक्रिया अगाडि बढाए पनि ठेक्का कसैले नहालेपछि पालिकाभित्र पर्ने दुई वटा खोलाबाट उत्खननको काम भइरहेको बताए । 'विकास निर्माणका काम गर्ने ठेकेदार, उपभोक्ता समितिले गिटी, बालुवा उत्खनन गरिरहेका छन् । जिल्ला समन्वय समितिले तोकेको दररेटअनुसार पालिकालाई राजस्व तिरिरहेका छन्,' उनले भने ।
पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नवीनकुमार थापाले प्रहरीले गिटी, बालुवा उत्खननमा रोक लगाउँदा विकास निर्माणको काम प्रभावित हुने बताए ।
शारदा नदीबाट गिटी, बालुवा उत्खननमा प्रयोग गरिएको एक्स्काभेटर । फाइल तस्बिर : विप्लव महर्जन/कान्तिपुर
