कर्णाली उत्सवको दोस्रो दिन : पूर्वाधार विकास, शैक्षिक गुणस्तरदेखि जातीय सशक्तीकरणबारे बहस

‘प्रतिरोधी पाइला’ विद्वत् प्रवचनमा बोल्दै अभियानकर्मी उमा वादीले आफ्नो समुदाय वर्षौंदेखि जातीय विभेद झेल्दै अझै पनि आफ्नो आत्मसम्मानका लागि लडिरहेको गुनासो गरिन् ।

चैत्र २९, २०८२

कृष्णप्रसाद गौतम

Second day of Karnali Festival: Debate on infrastructure development, educational quality, and ethnic empowerment

What you should know

सुर्खेत — कर्णाली उत्सव ‘कुडा कर्नाली’को सातौं संस्करणको दोस्रो दिन पूर्वाधार विकास, शैक्षिक गुणस्तरदेखि सशक्तीकरणबारे बहस गरिएको छ । कार्यक्रमका सहभागीले कर्णालीको विकासलाई मूलप्रवाहीकरणमा अझै जोड्न नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

कार्यक्रमको पहिलो सत्र ‘कनेक्टिङ कर्नालीमा’ बोल्दै पूर्वसचिव केशवकुमार शर्माले उत्तर–दक्षिण सडकमार्फत चीन सीमाको हिल्सा नाका जोडिनु सुखद भएको बताए । ‘त्यहाँबाट सक्नेजति फाइदा त लिन सकिएको छैन, तर भेरी करिडोरले धो–तिन्जे तथा मुगुबाट नाग्चेनाग्ला जोडिन सके कर्णालीको विकासले फड्को मार्नेछ,’ उनले भने, ‘नमिलेको भूगोल र कमजोर पहाडका कारण कर्णालीमा सडक सञ्चालनमा समस्या छ, अब मोर रोडभन्दा पनि बेटर रोडको निर्माणतर्फ जानुपर्छ ।’ उनले सडक सुरक्षामा पनि ध्यान दिन जरुरी रहेको बताए । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) की कार्यकारी सदस्य सुमन जोशीले १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको कर्णालीमा १० मेगावाट मात्र विद्युत् उत्पादन हुनु दुर्भाग्यपूर्ण रहेको बताइन् । ‘कर्णाली–तिलादेखि भेरीसम्म यही कर्णालीमै छन्, जगदुल्ला, नलगाडजस्ता खोलाहरूबाट पनि ठूलो परिणाममा बिजुली निकाल्ने प्रयास भइरहेको छ,’ उनले भनिन्, ‘तर रोड कनेक्टिभिटी र ट्रान्समिसन करिडोरको अभावमा यहाँका गाउँहरू अँध्यारा छन्, लाइसेन्स होल्ड गर्ने प्रवृत्ति अन्त्य गरे केही वर्षमै जलविद्युत‍्मा राम्रो प्रगति गर्न सकिन्छ ।’ 

एफवानसफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले डिजिटल कर्णाली निर्माणका लागि तीव्र गतिको इन्टरनेट महत्त्वपूर्ण हुने बताए । ‘बाटोले दिनेजति सुविधा त प्रविधिले दिन सक्दैन होला, तर घण्टौंको बाटो हिँडेर गर्नुपर्ने कामलाई प्रविधिले सहज बनाएको छ,’ उनले भने, ‘एउटा फोन र इन्टरनेट भए संसारसँग जोडिन गाह्रो छैन ।’Second day of Karnali Festival: Debate on infrastructure development, educational quality, and ethnic empowermentउमा वादी, अभियानकर्मी

अर्को सत्र ‘शिक्षाको उकाली ओराली’मा बोल्ने वक्ताहरूले विद्यालय शिक्षालाई राजनीतिबाट मुक्त गर्न जरुरी रहेको बताए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले संघीय शिक्षा ऐन नआउँदासम्म प्रदेश र स्थानीय तहको प्रयासले मात्र शैक्षिक गुणस्तर सुधार्न नसक्ने गुनासो गरे ।

‘राजनीतिक रूपमा संघीयता आयो तर प्रशासनिक र आर्थिक अधिकार केही भएन,’ उनले भने, ‘विद्यार्थीलाई विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने योजनासहित एकीकृत योजना बनाइएको छ, त्यही आधारमा शैक्षिक गुणस्तर सुधार्न प्रयास गरिरहेका छौ ।’ कक्षा ५ सम्म कक्षा र त्यसभन्दा माथि विषयगत शिक्षक हुनु जरुरी रहेको चौकुने गाउँपालिका अध्यक्ष खड्क विकले बताए । उनले शिक्षा, सीप र विकासलाई एकआपसमा जोड्न जरुरी रहेको बताए । 

‘प्रतिरोधी पाइला’ विद्वत् प्रवचनमा बोल्दै अभियानकर्मी उमा वादीले आफ्नो समुदाय वर्षौंदेखि जातीय विभेद झेल्दै अझै पनि आफ्नो आत्मसम्मानका लागि लडिरहेको गुनासो गरिन् ।

‘आज पनि वादी समुदाय ओडारमा, खोलामा र नदीको किनारको झुप्रोमा बस्न बाध्य छन्, उनीहरूका लागि गाँस, बास र कपासकै ग्यारेन्टी छैन, अरू सेवा–सुविधा त टाढाको कुरा,’ उनले भनिन्, ‘वादी समुदायसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन, तर अरूभन्दा बढी जीवनको भोगाइ र पीडाको डिग्री भने अवश्य छ ।’ 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully