ग्यास अभाव भएपछि फेरि दाउराकै जोहो गर्दै स्थानीय

ग्यासको अभाव र मूल्यवृद्धिका कारण कालीकोटका धेरै परिवार पुनः दाउरा खोज्न जंगल जान थालेका छन्, जसले महिलाहरूको जीवनमा थप कठिनाइ ल्याएको छ।

चैत्र २८, २०८२

तुलाराम पाण्डे

Locals resort to firewood again after gas shortage

What you should know

कालीकोट — खाडाचक्र–४ की नान्का विश्वकर्मा ७ वर्षदेखि एलपी ग्यास बालेर खाना पकाइरहेकी थिइन् । बस्ती आसपास दाउरा पाउन मुस्किल भएपछि उनले स्थानीय ताडी बजारबाट ७ हजार ७ सय रुपैयाँमा चुलो र रेगुलेटर जडान गरिएको ग्यास सिलिण्डर खरिद गरेको बताइन् । 

ग्यासमै खाना पकाउने उनको परिवार अहिले समस्या परेको छ । बजारमा ग्यास अभावसँगै मूल्यबृद्धि भएपछि दाउरा खोज्न परिवारका सदस्य जंगल जान थालेका छन् । ‘ग्यासमा खाना पकाउने बानी परिसकेको थियो,’ उनले भनिन्, ‘अहिले फेरि पुरानै चलन आयो ।’ ग्यास चुलोले महिलालाई सजिलो बनाएको थियो । धुवाँमा आँशु चुहाउँदै खाना पकाउनुपर्ने बाध्यता हटेको र  समय पनि बचत भएको थियो । उनका अनुसार कर्णाली राजमार्ग अन्तर्गत ताडी गाउँ हुँदै जुम्लासम्म सडक खुलेपछि अधिकांशले ज्याला मजदुरी गरेर भए पनि ग्यास र चुलो खरिद गरेका थिए । 

खाडाचक्र–४ की २८ वर्षीया रेशमा विश्वकर्माले दुःखका दिन सुरु भएको बताइन् । उनको परिवारले ९ वर्षदेखि ग्यास चुलो बालिरहेको थियो । ‘ग्यासदेखि खाद्यान्न, तरकारी, तेलको मूल्य बढेर बाँच्नै धौं हुन थाल्यो,’ उनले भनिन् ‘ग्यास चुलो बाल्ने बानी पर्‍यो, अहिले मूल्य बढेर किन्ने नसकिने भयो ।’ उनका अनुसार चुनाव अघिसम्म २ हजार रुपैयाँमा पाइने सिलिण्डरको मूल्य अहिले २ हजार ४ सय पुगेको छ । चामल र खानेतेलको मूल्य पनि बृद्धि भएको छ । दाउरा खोज्न जंगल धाउन छाडेको ९ वर्षपछि फेरि पुरानै अवस्थामा फर्किनु परेको उनले बताइन् । 

शुक्रबार बिहान घरबाट ३ घण्टा टाढा सल्लीबाडी जंगलबाट दाउरा खोजेर फर्किरहेका ८ जना महिलाको समूहमा १९ वर्षीया लाइका विश्वकर्मा पनि थिइन् । नयाँ सरकारले मूल्यबृद्धि नियन्त्रणमा ध्यान दिनुपर्ने उनले बताइन् । ‘अहिले ग्यासको मूल्य बढेर भनेर दाउरा खोज्न जंगल मात्र जानु परेको छ,’ उनले भनिन्, ‘यस्तै महंगी भइरहने हो भने गरिबले पैदल हिँड्ने दिन नआउलान भन्न सकिन्न ।’ पछिल्लो समय गाडी भाडा बृद्धि गरिएपछि खर्च पुर्‍याउन नसकिएको उनले बताइन् । ११ कक्षा पढिरहेकी उनले विद्यालय छाडेर दाउरा खोज्न धाउनु परेको गुनासो पोखिन् । 

चैत महिना लागेपछि दाउरा खोज्न जंगल जाने उपझोक्ताको संख्या दोब्बर भएको पाल्त महादेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रविलाल पाण्डेले बताए । उनका अनुसार पहिले धेरैले ग्यास बाल्ने गरेका थिए । ‘ग्यास पाउन पनि कठिन भयो,’ उनले भने, ‘मूल्य बढेपछि दाउरा खोज्न जाने बढे ।’ वन मासिँदै गएकाले दाउरा कमी रहेको उनले सुनाए । सामुदायिक वनले दाउरामा कडाइ गरेकाले ६ घण्टा टाढा पुगेर स्थानीयले दाउरा ल्याउने उनले गरेको सुनाए । दाउरा पनि नपाइने रास्कोट नगरपालिकामा ग्यासको अभावले सर्वसाधरण मारमा परेको स्थानीय सर्जु बरालले बताए । 

कर्णाली राजमार्ग र करिडोर सञ्चालनमा आएपछि कालीकोटका खाडाचक्र, तिलागुफा, रास्कोट नगरपालिका, नरहरिनाथ, पचालझरना गाउँपालिकाका ६० प्रतिशत घरधुरीले खाना पकाउन एलपी ग्यास प्रयोग गर्दै आएका छन् । शुभकालिका, महाबै, सान्नी त्रिवेणी, पलाता गाउँपालिकाका ४० प्रतिशत घरधुरीले ग्यास बाल्ने गरेको यहाँस्थित ग्यास बिक्रेता सूर्यबहादुर शाहीले बताए ।

‘गाउँ–गाउँसम्म ग्यास खपत हुने गरेको छ,’ उनले भने, ‘आजकाल आधा सिलिण्डर आउन थालेपछि विक्रीमा पनि कमी आएको छ ।’  मूल्यबृद्धि र अभाव भएकाले सहजरुपमा ग्यास पाउन कठिनाई भएको उनले सुनाए । ग्यास र तेलको मूल बृद्धिसँगै अन्य सामान पनि महंगो भएको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully