कर्णाली प्रदेशका हिमाली जिल्लामा सुर्खेतबाट उडान नहुँदा स्थानीयलाई लुम्बिनी प्रदेशको नेपालगन्ज पुगेर मात्र हवाई यात्रा गर्नुपरेको छ ।
What you should know
सुर्खेत — गत शुक्रबार कर्णाली प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले पेस गरेको ‘पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सेवासम्बन्धी’ ६ बुँदे संकल्प प्रस्ताव प्रदेशसभामा सर्वसम्मतिले पारित भयो । कर्णालीमा हवाई सेवासम्बन्धी कार्यविधिको मस्यौदा निर्माणको काम अन्तिम चरणमा छ ।
तर कर्णालीका पहाडी र हिमाली जिल्लामा जाने जहाज चढ्न कर्णालीवासीलाई लुम्बिनी प्रदेशको नेपालगन्ज जानुपर्ने बाध्यता छ । कर्णालीमा आन्तरिक हवाई उडान सुरू हुँदै र रोकिँदै गरेपछि कर्णालीवासीलाई प्रदेश राजधानी वीरेन्द्रनगरबाट झन्डै ३ घण्टाको सडकमार्गको यात्रा गरेपछि जहाज चढ्नुपर्ने बाध्यता भएको हो ।
गत वर्ष फागुन पहिलो सातादेखि तारा एयरलाइन्सले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा उडान सुरु गर्यो । तर पर्याप्त यात्रु नपाइएको र खर्च धान्न समस्या भएको भन्दै एक महिना नबित्दै उडान बन्द गर्यो । त्यसअघि पनि दुईपल्ट कर्णालीमा आन्तरिक उडान हुँदै र रोकिँदै गरेको थियो । अहिले कर्णालीका कुनै पनि जिल्लाको प्रदेश राजधानी वीरेन्द्रनगरसँग सिधा हवाई सम्बन्ध छैन । अहिले नेपालगन्ज विमानस्थलबाट डोल्पाको जुफाल, हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्लाको खलंगा र रुकुम पश्चिमको सल्ले विमानस्थलमा उडान भइरहेको छ । आफ्नै प्रदेशमा यात्रा गर्न पनि लुम्बिनी प्रदेश भएर जानुपर्ने बाध्यताका कारण यात्रुहरू मारमा परेको प्रदेश सांसद महेन्द्र केसीले बताए ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/८९ देखि आन्तरिक उडान नियमित गर्नेगरी एयरलाइन्सलाई इन्धनमा सुविधा दिन १ करोड २० लाख रुपैयाँ विनियोजन गर्यो । त्यसयता ७ करोड २० लाख रुपैयाँ विनियोजन भए पनि अधिकांश रकम फ्रिज भएको थियो । गत वर्ष यही शीर्षकमा १ करोड रुपैयाँ छुट्याएको सरकारले यो वर्ष ४० लाख रुपैयाँ विनियोजन गरेको छ । कर्णाली सरकारले आन्तरिक उडानको विषय अहिलेसम्मका सबै वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दै आइरहेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले हवाई सेवासम्बन्धी कार्यविधिको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै रकम अपुग भए थप बजेटको व्यवस्था गरिने बताए ।
नयाँ सरकार गठन हुँदा सबै मुख्यमन्त्रीहरुले पनि यसलाई प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । ‘नयाँ मुख्यमन्त्री आएपछि बढीमा १/२ हप्ता आन्तरिक उडान सुरु हुन्छ, फेरि बन्द हुन्छ,’ हुम्लाको सिमकोट–७ का पदमबहादुर रोकायाले भने, ‘जनतालाई सुविधा दिनेभन्दा पनि सरकारले चर्चामा आउन मात्र आन्तरिक उडानको काम गर्दा अब हामीलाई जहाज चढ्न सुर्खेतबाट तीन घण्टाको गाडी यात्रा गरेर लुम्बिनी प्रदेशको नेपालगन्ज जानुपर्ने बाध्यता छ ।’ त्यसअघि सरकारले कर्णालीका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा एक हजार रुपैयाँ सहुलियत निर्णय गरेको थियो । तर सुर्खेत विमानस्थलबाट उडान नभएपछि निर्णय कार्यान्वयन भएन ।
सुर्खेत विमानस्थलबाट अहिले संघीय राजधानी काठमाडौंमा दैनिक चार उडान हुने गरेको छ भने नेपाली सेनाले एयर बेस स्थापना गरी हेलिकोप्टरमार्फत उद्धारको काम गरिरहेको छ । गत भदौमा कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा हुने हवाई उडानलाई व्यवस्थित गर्न र भाडादरलाई समायोजन गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
२०७४ सालसम्म जुम्ला, मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा सुर्खेत विमानस्थलबाट नियमित उडान हुन्थ्यो । आन्तरिक हवाई सेवा सञ्चालन नहुँदा अध्ययन, रोजगारी, औषधि उपचार तथा विभिन्न प्रशासनिक कामकाजका लागि वीरेन्द्रनगर आउजाउ गर्ने नागरिकले सास्ती भोग्दै आएको अर्का प्रदेश सांसद हिक्मतबहादुर बिष्टले बताए ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सुर्खेतबाट हुम्ला, जुम्ला, डोल्पा र मुगुमा उडान नभर्दासम्म आन्तरिक उडानले निरन्तरता नपाउने देखिएको उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले बताए । ‘निजी जहाजले त फाइदा मात्रै हेर्ने हुन्,’ उनले भने, ‘यसमा प्रदेश सरकारले पनि केही सहुलियत दिन जरुरी छ, यहाँबाटै आन्तरिक उडान भए व्यापार व्यवसाय फस्टाउँथ्यो, अनावश्यक झन्झट र महँगीको मार घट्थ्यो ।’
झन्डै ३ महिना आन्तरिक उडान सञ्चालन गरेको हिमाली टुर एन्ड ट्राभल्सका निर्देशक मिनबहादुर रावलले खर्च थेग्न नसक्दा उडान बन्द गर्नुपरेको बताए । उनका अनुसार प्रतिउडान जुम्ला र मुगुमा १ लाख ७५ हजार र हुम्लामा २ लाख ७५ हजार रुपैयाँ खर्च आउने गरेको थियो । ‘हामीले नेपालगन्जभन्दा सस्तो दरमा यात्रु उडाइरहेका थियौं,’ उनले भने, ‘यात्रु नभएपछि धेरै उडानमा त्यो रकम हामीले तिर्नुपर्यो, सधैं ठूलो रकम तिर्न सक्ने अवस्था भएन ।’ उनका अनुसार सुर्खेत–सिमकोट–सुर्खेत ८ हजार, सुर्खेत–मुगु–सुर्खेत ६ हजार ५ सय र सुर्खेत–जुम्ला–सुर्खेत ५ हजार ५ सय रुपैयाँ भाडादर तोकिएको छ । उनले नेपालगन्जभन्दा झन्डै एक हजार रुपैयाँ कम भाडादर सुर्खेतका लागि कायम गरिएको जानकारी दिए ।
कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण हुँदा अहिले पनि जहाजकै भर छ । सुर्खेत–जुम्ला जोडिएको कर्णाली राजमार्ग ‘सिंगल लेन’को हुँदा स्थानीयलाई जहाजकै भर पर्नुपरेको जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटा बताउँछन् । ‘सामान्य पानी परे पनि गाडी नरोकिएको र हिलोले गाडी नफसेको दिनै हुँदैन, जसका कारण एउटा गाडी रोकिए घण्टौं जाम हुने समस्या छ,’ उनले भने, ‘त्यसमा पनि ५ वर्षअघि गरिएको राजमार्गको कालोपत्र पूरै उप्किएपछि हिउँदको समयमा पनि धुलाम्मे यात्राले यात्रुहरु सास्ती भोग्न बाध्य छौं ।’
अर्को हिमाली जिल्ला कालीकोटमा विमानस्थल भए पनि उडान लामो समयदेखि ठप्प छ । दैलेख, जाजरकोट र सल्यानमा विमानस्थल छैन । रुकुम पश्चिममा चौरजहारी र सल्ले गरी २ विमानस्थल भए पनि चौरजहारीमा भने लामो समयदेखि उडान हुन सकेको छैन ।
कर्णालीका हिमाली जिल्लाहरूमा उडान गर्न निजी जहाज कम्पनी तारा, सीता र समिट एयरलाइन्सले नेपालगन्जमा २/२ वटा जहाज राखेका छन् । यात्रुहरू भने जहाज नहुँदा सास्ती भोगिरहेको बताउँछन् । ‘न सडक गतिलो छ न प्लेन नै आउँछ,’ मुगुको गमगढीका रत्नबहादुर शाहीले भने, ‘कोही जटिल बिरामी भए भने ज्यान गुमाउनुको विकल्पै छैन ।’ उनका अनुसार २०६९ सालमा कर्णाली–राजमार्गअन्तर्गत उक्त सडकको ट्रयाक खोलेर नेपाली सेनाले सरकारलाई हस्तान्तरण गरेको थियो ।
झन्डै ९४ किलोमिटर लामो नाग्मा–गमगढी सडक कालोपत्र नहुँदा बर्सेनि जीर्ण बन्दै गइरहेको उनको भनाइ छ । जसका कारण कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल आउने पर्यटकहरू पनि जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । कर्णालीमा सडक दुर्घटनामा एक वर्षको अवधिमा ९० जनाले ज्यान गुमाए भने १ हजार ३ सय २१ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार यो अवधिमा ६ सय २२ सडक दुर्घटना भएका छन् ।
कर्णालीमा अझै पनि गर्भवती र सुत्केरी उद्धारका लागि हेलिकोप्टर ‘रेस्क्यु’ कै भर छ । एक वर्षको अवधिमा कर्णालीका विभिन्न जिल्लाबाट २२ जना गर्भवती र सुत्केरी महिलालाई उद्धार गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । निर्देशनालयका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती र सुत्केरी महिलाको उद्धार भइरहेको हो ।
