जुम्लामा २ हजार २ सय ५५ जनाले एसईई दिइरहेका छन् । उत्तरपुस्तिका परीक्षणमा अहिलेसम्म कुनै समस्या नदेखिएको शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश लुवारले बताए ।
What you should know
जुम्ला — जिल्लामा माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण कडा सुरक्षा घेराभित्र भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानीमा उत्तरपुस्तिका परीक्षण भइरहेको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश लुवारले अधिकांश विद्यालयमा सुरक्षाकर्मी र सीसी क्यामराको निगरानीमा परीक्षण भइरहेकामा केही विद्यालयमा सुरक्षाकर्मीहरूको निगरानी मात्रै रहेको बताए । ‘उत्तरपुस्तिका परीक्षणलाई सहज र प्रभावकारी बनाउन सबै साधनस्रोतको प्रयोग भइरहेको छ । पहिलोपटक आफैंले परीक्षा दिइरहेको केन्द्रमै उत्तरपुस्तिका परीक्षण भइरहेको देख्दा विद्यार्थीहरू उत्साहितसमेत छन्,’ उनले भने ।
जिल्लाका माध्यमिक शिक्षा परीक्षाका लागि १४ वटै परक्षा केन्द्र तोकिएको छ । तिनै परीक्षा केन्द्रमै छुट्टै परीक्षण केन्द्रसमेत स्थापना गरिएको छ । ‘परीक्षण केन्द्र स्थापना गरेर उत्तरपुस्तिका जाँच भइरहेको छ,’ उनले थपे । हालसम्म अंग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका जाँच भइसकेको छ । परीक्षण भइसकेका उत्तरपुस्तिका परीक्षक र समपरीक्षकले दस्तखत गरेर खामबन्दी गरी शिक्षा विकास तथा समन्वय इकाइ जुम्लामा पठाइसकेका छन् ।
उत्तरपुस्तिका परीक्षणमा अहिलेसम्म कुनै समस्या नदेखिएको शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख लुवारले बताए । जुम्लामा २ हजार २ सय ५५ जनाले एसईई दिइरहेका छन् । हरेक परीक्षा र परीक्षण केन्द्रमा कडा अनुगमनसमेत भइरहेको छ ।
जिल्ला परीक्षा समिति, शिक्षा विकास तथा समन्वय इकाइ र गाउँ शिक्षा समितिले छुट्टाछुट्टै अनुगमन गरिरहेका छन् । ‘यो पटकको परीक्षा अवसर पनि हो र चुनौती पनि,’ सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले भने, ‘यो पहिलो अभ्यासका रूपमा भइरहेको परीक्षालाई नमुना बनाउनुपर्नेछ । जसका लागि शिक्षक, अभिभावक सबै सचेत हुनु जरुरी छ ।’
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले एसईई परीक्षालाई प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय भइरहेको बताए । उनले भने, ‘परीक्षा सुरु हुनुअघि नै केन्द्राध्यक्षको बैठक बोलाएर सचेत गराइएको थियो । तर पनि केही छिटफुट समस्या देखिएका छन् ।’
अहिले परीक्षा केन्द्रमा पनि अभिभावकहरूको भीडभाड छैन । उत्तरपुस्तिका सम्बन्धित केन्द्रमै परीक्षण हुने भएकाले अभिभावकहरूको भीडभाड हटेको सरोकारवाला बताउँछन् । उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकहरूको व्यवस्थापन केन्द्रभित्रै हुने भएकाले आफ्नो काम नसकिँदासम्म बाहिर जान पाउँदैनन् ।
