महिला अटोचालकसँग ट्राफिक प्रहरी

सुर्खेतका अटो चालक महिलाले वीरेन्द्रनगरमा पार्किङ र रुटपरमिटको समस्या भएको जानकारी गराएका थिए । यसका लागि नगरपालिकासँग समन्वय गर्ने प्रतिबद्धता प्रहरीले गरेको छ ।

चैत्र २४, २०८२

तृप्ति शाही

Traffic police with female auto driver

What you should know

वीरेन्द्रनगर — सोमबार दिउँसो जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा ३० जनाभन्दा बढी महिला अटोचालक जम्मा भए । कहिलेकाहीँ काम पर्दा मात्र ट्राफिक कार्यालय पुग्ने गरेका उनीहरूलाई आज भने ट्राफिक प्रहरीले नै यहाँ बोलाएको थियो ।

पहिलोपटक जिल्लाभरका महिला अटोचालकलाई प्रहरीले कार्यालयमा बोलाउँदा उनीहरूले अचम्म माने । के गर्ने ? कस्तो गर्ने मेसो नपाएका बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित शाहीले उनीहरूका समस्या बुझ्न र समाधानका लागि पहल गर्न कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदा उनीहरू उत्साही देखिए ।

परिचयात्मक कार्यक्रमबाट सुरु भएको कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद रिजालले उनीहरूका गुनासा सुन्नका लागि कार्यक्रम आयोजना गरिएको  बताए । त्यसपछि खुल्दै गएका उनीहरूले आफ्ना धेरै समस्या निर्धक्कसँग पोखे । 

वीरेन्द्रनगर नगरपालिका–३ की शान्ति बुढाले महिला अटोचालकलाई हेर्ने दृष्टिकोण गलत भएको गुनासो गरिन् । ‘बाटोमा अटो गुडाउँदा कस्ता महिलाले अटो चलाउँछन् भन्ने कुरा आफूहरूलाई थाहा भएको’ जस्ता अभिव्यक्ति सुन्नु परेको उनले बताइन् । ‘यात्रुसँगै अन्य नागरिकले पनि हामीलाई नराम्रो नजरले हेर्छन्,’ उनले भनिन्, ‘हामीले प्रहरीबाटै पनि भनेजस्तो सहयोग पाएका छैनौं ।’Traffic police with female auto driver

आफूहरूलाई हेर्ने नजरै फरक भएको सुनाइन् वीरेन्द्रनगर नगरपालिका– ५ की सुस्मिता विकले पनि । ‘नम्बर माग्नेदेखि सँगै खाजा खाऊँ’ भन्नेसम्मका कुरा आफूले भोग्दै आएको उनको भनाइ थियो । यात्रुले नम्बर लिएर हैरानी दिने गरेको गुनासो पनि उनले सुनाइन् । गलत व्यवहार गर्ने दुई जनालाई प्रहरी कार्यालयमै ल्याएर थुनाएको पनि उनले जानकारी दिइन् । 

‘विभिन्न चुनौती छिचोल्दै पाँच वर्षदेखि अटो चलाउँदै आएकी छु,’ उनले भनिन्, ‘टाढै देख्दा डर लाग्ने ट्राफिक प्रहरीको आजको कार्यक्रमले नयाँ ऊर्जा दिएको छ ।’ ट्राफिकको कार्यक्रममा आएपछि पहिलोपटक आफूले सम्मानित पेसा गरेको महसुस भएको पनि उनले सुनाइन् । कार्यक्रममा सहभागी धेरैले आफूहरूले यात्रु र प्रहरीबाट सहयोग नपाएको बताएका थिए ।

खुलेर आफ्ना समस्या राखेका उनीहरूलाई प्रदेश ट्राफिक प्रहरी प्रमुख रिजालले नारी र पुरुषलाई समाजमा हेर्ने दृष्टिकोणलाई चिर्दै जोखिमपूर्ण व्यवसाय गर्ने महिलालाई प्रोत्साहन गर्नका लागि गुनासो सुन्ने हेतुले नै यो कार्यक्रमको आयोजना गरिएको बताए । घरको जिम्मेवारी सम्हालेर पनि व्यवसाय गर्दै आत्मनिर्भर बनेका महिलाको गुनासो सुनेपछि समाधानका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । फिल्डमा खटिने प्रहरीले महिला अटो चालकलाई गर्ने व्यवहार परिवर्तन गर्नका लागि उनले निर्देशन पनि दिए । ‘प्रहरी कर्मचारी वा अरु कसैले तपाईंहरूलाई नराम्रो व्यवहार गरेमा खबर गर्नुहोला,’ उनले भने, ‘नजिक भएमा म आफैं फिल्डमा पुग्छु । फोन गर्नुभयो भने प्रहरी कर्मचारी वा जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउने छु ।’ 

ट्राफिक नियमको पालना गर्नुपर्ने बताउँदै उनले जोखिम मोलेर यात्रा नगर्नका लागि सुझाव दिए । क्षमताभन्दा बढी यात्रु नराख्नका लागि पनि उनले आग्रह गरे । ‘प्रहरीले गर्नुपर्ने समन्वय र सहकार्यका लागि हामी सधैं तयार छौं,’ उनले भने । गलत सोच भएकाहरूविरुद्ध एकजुट हुनुपर्ने बताउँदै रिजालले प्रहरी सधैं अटोचालक महिलाको साथमा रहेको पनि बताए ।

अटो चालक महिलाले वीरेन्द्रनगरमा पार्किङ र रुटपरमिटको समस्या भएको जानकारी गराएका थिए । यसका लागि नगरपालिकासँग समन्वय गर्ने प्रतिबद्धता प्रहरीले गरेको छ ।

अटो चालक शान्ता परियारलाई ट्राफिक प्रहरीसँगको समन्वय र चालकका समस्या सहजीकरणका लागि तोकिएको छ । उनले महिला अटोचालकसँग समन्वय गर्ने र उनीहरूका समस्या प्रहरीसम्म पुर्‍याउने काम गर्ने प्रहरी निरीक्षक शाहीले बताए । 

यसका लागि सामाजिक सञ्जालमा एउटा समूह बनाइएको छ । यसमा महिला ट्राफिक कर्मचारीसँगै जिल्ला ट्राफिक प्रमुख शाही र अटोचालक महिलाहरू जोडिएका छन् । उनीहरूले अब आफ्ना समस्या यसैमार्फत राख्नेछन् र समाधानका लागि काम गर्ने प्रहरीले जनाएको छ । कार्यक्रममा महिला अटोचालकलाई सम्मान पनि गरिएको थियो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully