परीक्षा सुरु भएको १२ मिनेटमै बाहिरियो प्रश्नपत्र

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश लुवारले प्रश्नपत्र बाहिरिएको थाहा पाउने बित्तिकै छानबिन गर्न केन्द्राध्यक्षलाई निर्देशन दिइसकेको बताए ।

चैत्र २४, २०८२

डीबी बुढा

The question paper was released 12 minutes after the exam started.

जुम्ला —  

जुम्लाको तातोपानी गाउँपालिमा रहेको हिमाशिखर माध्यमिक विद्यालयको केन्द्र बनाएर सुरुभएको माध्यमिक शिक्षा परीक्षामा परीक्षा सुरु भएको १२ मिनेटमै प्रश्नपत्र बाहिरिएको छ । मंगलबार सामाजिक बिषयको परीक्षामा एक विद्यार्थीले परीक्षा हलभित्रै मोबाइल प्रयोग गरेर प्रश्नपत्र बाहिर पठाएको खुलेको हो । 

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश लुवारले प्रश्नपत्र बाहिरिएको थाहा पाउने बित्तिकै छानबिन गर्न केन्द्राध्यक्षलाई निर्देशन दिइसकेको बताए ।

उनले भने, ‘सबै विद्यार्थीको मोबाइल जफत भइसकेको छ । यो प्रश्न विद्यार्थीहरुको ग्रुप च्याटमा देखियो तर व्यक्ति पत्ता लागिसकेको छैन ।’ छिटोभन्दा छिटो व्यक्ति पत्ता लगाउन समेत भनिएको छ ।

उनले प्रश्नपत्र बाहिरिएको विषयमा गम्भीर छानविन गर्न निर्देशन भइसकेको प्रतिक्रिया दिए । थाहा पाएको तीन मिनेटमै परीक्षा केन्द्रमा छानबिन अघि बढाउन निर्देशन भइसकेको उनको भनाइ छ । परीक्षा केन्द्रमा मोबाइल लैजान नदिने भनिएको भए पनि परीक्षाहलबाटै मोबाइलबाट प्रश्नपत्र बाहिरिहनु दुःखद भएको स्थानीयले बताए ।

हिमशिखर मावि तातोपानीमा पाँच विद्यालयको केन्द्र छ । यसैबीच रत्नचुडेश्वर मावि बोहोरागाउँ केन्द्रमा सोमबार विज्ञान विषयको परीक्षामा पनि प्रश्नपत्र बाहिरएको आशंका गरिएको छ । भित्रबाट प्रश्नहरु लेखेर बाहिर पठाएको र बाहिरबाट उत्तरहरु म्यासेन्जरमा पठाइएको भेटिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । 

उनका अनुसार अहिले प्रश्नपत्र बाहिरिएको विषयमा तीव्र अनुसन्धान भइरहेको छ । यता शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख लुवारले बोहोरागाउँको केन्द्रमा जुन कक्षकोठाबाट प्रश्नपत्र बाहिरियो । सो कोठामा बसेको निरीक्षकलाई बर्खास्त गर्न निर्देशन दिइसकेको बताए । पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा लापरबाही गरेको भन्दै केन्द्राध्यक्ष र निरीक्षकलाई बर्खास्त गरिएको थियो ।

प्रश्नपत्र आउट भएको सुनियो, परीक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘अनुसन्धान गर्न टोली खटिएको छ । मंगलबार बेलुकीसम्म छानबिन प्रतिबेदन सार्वजनिक गर्ने तयारी छ ।’ दोषी उपर कडा कार्वाही गर्ने उनको चेतावनी छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully