चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिनमा सार्वजनिक बिदा

चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले लिंगो बोक्ने दिनमा सार्वजनिक बिदा दिएर प्रदेश सरकारले यहाँको धार्मिक आस्थालाई अझै बलियो बनाएको प्रतिक्रिया दिए ।

चैत्र २४, २०८२

डीबी बुढा

Public holiday on the day of carrying the linga of Chandannath temple

What you should know

जुम्ला — कर्णाली प्रदेश सरकारले जुम्लास्थित कर्णालीको प्रमुख धार्मिक पर्यटकीयस्थल चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिनमा सार्वजनिक बिदा दिने भएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जंगलबाट लिंगो बोकेर ल्याउने दिनका रूपमा आगामी असोज २२ गतेलाई मेलाका रूपमा मनाउने निर्णय गरेको हो । यो दिनको बिदा जुम्लाका लागि मात्रै लागू हुनेछ । 

कर्णाली प्रदेशमा गरिएको यो निर्णयले धार्मिक पर्यटनलाई अझै उत्साहित बनाइरहेको जुम्लाबासीले बताएका छन् । चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले लिंगो बोक्ने दिनमा सार्वजनिक बिदा दिएर धार्मिक आस्थालाई अझै बलियो बनाएको प्रतिक्रिया दिए । उनले भने, ‘जंगलबाट लिंगो ल्याउन सरकारी तथा गैरसरकारी निकायको सहभागितासमेत रहने गरेको छ । यो बिदाले उनीहरूलाई समेत राहत मिल्नेछ ।’ कर्णाली प्रदेश सरकारले चैत १२ गते जुम्लामा मात्र धान दिवस बनाउने गरेर सार्वजनिक बिदा दिँदै आएकामा लिंगो बोक्ने दिनमा समेत बिदा दिइएको हो ।

परम्परादेखि चन्दननाथ नगरपालिका–३ स्थित लामासिम रडिखेल्ला जंगलबाट चन्दननाथ मन्दिरको लिंगो बनाएर ल्याउने चलन छ । चन्दननाथ मन्दिरका लागि ५२ हातका दुई लिंगा र भैरवनाथका लागि ४८ हातका लिंगा हाल्ने चलन छ । ऋषि पञ्चमीका दिनमा जंगलमा लिंगा निकालेर आश्विन कृष्ण त्रयोदशीमा सदरमुकाम खलंगामा ल्याइपुर्‍याउनुपर्ने धार्मिक मान्यता छ । Public holiday on the day of carrying the linga of Chandannath temple

घटास्थापनाको दिनमा पूजापाठ गरेर चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा खडा गर्ने चलन रहेको गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।  पहिलेका मानिसहरू लिंगा हातहातमा राखेर खलंगाको चन्दननाथ भैरवनाथ मन्दिरसम्म लिंगा ल्याइपुर्‍याउँथे । बीचमा काँधमा बोकेर ल्याउने चलन बस्यो । सदरमुकाम खलंगामा गाडी पुगेसँगै दुई–चार वर्ष त ट्याक्टरमा समेत बोकेर लिंगा ल्याउन थालियो । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आमनागरिकले सडकमा घिसारेर लिंगा खलंगामा पुर्‍याउने गरेका छन् । 

जंगलमा लिंगा बनाउन जाँदाको पहिलो दिनमा जंगलको पुजा हुन्छ । त्यहाँ बोको चढाएर मात्र रुख काट्ने चलन छ । लिंगा तान्न पूजापाठ गरेर बाजागाजासहितको टोली नै जंगल जाने गर्छ । 

पहिले लिंगा तान्न प्रयोग गर्ने लठ्ठाहरू चौरी फुर्काहरू मुगु जिल्लादेखि ल्याउने गरेका थिए । चौरी फुर्काहरू बाँध्ने डोरी हुम्लाबाट आइरहन्थ्यो । लिंगा खडा गर्न चाहिने बाबियोका डोरी कालिकोटबाट पठाइन्थ्यो । अहिले यी सबै जिल्लाबाट सबै सामान आउन छाडेका छन् । तर प्रदेश सरकारले यो दिनमा बिदा नै दिने भएपछि धार्मिक आस्था बढ्दै जाने विश्वास गरिएको छ । स्थानीय नवराज अधिकारीले भने, ‘लिंगा बोकेर ल्याउने दिनमा प्रदेश सरकारले बिदा दिँदा यो मन्दिरको अझै महत्त्व बढेको छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully