जाजरकोटमा एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने तीन जना पक्राउ

छेडागाड नगरपालिका-१२ कार्कीगाउँस्थित नारायणी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक नाबालकले आफ्नै बुवाको नाममा परीक्षा दिएको पाइएको हो।

चैत्र २३, २०८२

ज्योति कटुवाल

Three arrested for using fake admit cards in SEE in Jajarkot

सुर्खेत — जाजरकोटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली प्रवेशपत्रको प्रयोग गरी सट्टामा परीक्षा दिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चैत १९ देखि सञ्चालन भइरहेको परीक्षामा छेडागाड नगरपालिका-१२ कार्कीगाउँस्थित नारायणी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक नाबालकले आफ्नै बुवाको नाममा परीक्षा दिएको पाइएको हो।

आइतबार गणित विषयको परीक्षा सञ्चालनको समयमा बुवाको नाममा परीक्षा दिएको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले नाबालकसँगसँगै नक्कली प्रवेशपत्र बनाउन सहयोग गर्ने छेडागाड नगरपालिका–११ झाप्रास्थित बाल माध्यमिक विद्यालयका ४२ वर्षीय लेखापाल कालीबहादुर नेपालीलाई पनि नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एक्कबहादुर नेपालीका अनुसार पक्राउ परेका तीनै जनालाई अनुसन्धानको लागि नियन्त्रणमा राखिएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully