मध्यपहाडी लोकमार्ग : १३ वर्षदेखि भेरी पुल अलपत्र

झण्डै एक सय मिटरको पुल निर्माणको काम कम्पनीले लामो समय पुल निर्माणको काम गरेन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोड्ने सूचना जारी गरेपछि उसले झण्डै ३० प्रतिशत काम सम्पन्न गरेर फेरि पुल अलपत्र पार्‍यो ।

चैत्र २२, २०८२

कृष्णप्रसाद गौतम

Mid-Hill Highway: Bheri Bridge has been abandoned for 13 years

सुर्खेत — मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी नदीस्थित पुलको निर्माणका लागि ललितपुरको वाईपी कन्ट्रक्सन प्रालिले २०६९ सालमा जिम्मा लियो । कम्पनीले ३० महिनाभित्र काम सम्पन्न गर्ने भन्दै १३ करोड ४७ लाख रुपैयाँमा जिम्मा लिएको थियो ।

झण्डै एक सय मिटरको पुल निर्माणको काम कम्पनीले लामो समय पुल निर्माणको काम गरेन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोड्ने सूचना जारी गरेपछि उसले झण्डै ३० प्रतिशत काम सम्पन्न गरेर फेरि पुल अलपत्र पार्‍यो ।

उक्त पुल निर्माणको काम अझै हुन सकेको छैन । आयोजनाले वाईपी कन्ट्रक्सनलाई कालोसूचीमा पारेर उसँगको ठेक्का तोडेको छ भने ठेकेदारलाई साढे ८ करोड ५७ लाख ९५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

त्यसयता ३ पल्टसम्म ठेक्का खोलियो । दुईपल्टसम्म कुनै पनि ठेकेदारले टेन्डर दर्ता गरेनन् भने तेस्रोपल्ट  लागतभन्दा बढीको टेन्डर परेपछि अस्वीकृत भएको आयोजनाका इन्जिनियर नविन खरालले बताए । उनका अनुसार कार्यालयले झण्डै साढे १३ करोड रुपैयाँको ठेक्का खोलेकोमा निर्माण व्यवसायीले त्योभन्दा बढी रकमको टेन्डर पेश गरेका थिए ।

पुल निर्माणको काम लामो समयदेखि अलपत्र पर्दा मध्यपहाडी लोकमार्गमार्फत जाजरकोट र रुकुम पश्चिमको सडक सञ्जाल अझै जोडिन सकेका छैनन् । पक्की पुल अलपत्र परेपछि दुवै जिल्लाका बासिन्दा झोलुंगे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीय कमल केसीले बताए । उनका अनुसार पुलकै कारण चौरजहारी नयाँ सहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ ।

‘पहिलेका ठेकेदारले जग पनि निर्माण नगरी पुल निर्माणको काम अलपत्र छाडे,’ उनले भने, ‘पुल निर्माणका लागि ल्याएको छड, गिट्टी बालुवालगायत निर्माण सामग्री अलपत्र छन्, निर्माणका लागि ल्याइएका डोजर, ट्रिपरलगायत सवारी साधन पनि नदी किनारमै बेवारिसे बनेका छन् ।’

पुल निर्माण भए जाजरकोटको भेरी नगरपालिकास्थित कुदु र रुकुम पश्चिमको चौरजहारी नगरपालिका जोडिन्छ । अहिले दुवैतर्फ सामान्य पिलर मात्रै खडा गरी निर्माण कार्य अलपत्र रहेको आयोजनाका इन्जिनियर खरालले बताए । पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डसमेत अपूरो बनेको स्थानीय अगुवा खम्वजंग शाह बताउँछन् । 

‘पुल निर्माण भए एउटै गाडीमा मध्यपहाडीको पुरै खण्ड आउजाउ गर्न सकिन्थ्यो,’ उनले भने, ‘पुल नबन्दा रुकुम पश्चिमबाट सुर्खेत आउजाउ गर्न वैकल्पिक रुपमा नेटा–कैनकाँडा सडक प्रयोग गर्नुपरेको छ ।’ उनले पुलकै कारण मध्यपहाडी लोकमार्गमा नियमित यातायातका साधन सञ्चालनमा समस्या भएको जानकारी दिए । पुल निर्माणमा खटिएका झण्डै ५० जना कर्मचारी र मजदुरले समेत पारिश्रमिक नपाएको उनको भनाइ छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully