खेल मैदान भत्किएपछि विद्यालय पनि जोखिममा परेको प्रधानाध्यापक तपेन्द्र महताराले बताए ।
कालिकोट — यस वर्षको बेमौसमी वर्षाले जिल्लाको नरहरिनाथ–३ स्थित रमा माविमा ७० लाख लगानीमा निर्माणाधीन खेल मैदान भत्किएको छ ।
कर्णाली प्रदेश सरकार र नरहरिनाथ गाउँपालिकाको लागत साझेदारीमा दुई वर्षदेखि खेल मैदान निर्माण भइरहेको थियो । बुधबार मैदान भत्किएको हो ।
निर्माण सकिने बेला खेल मैदान भत्किएपछि विद्यालय पनि जोखिममा परेको प्रधानाध्यापक तपेन्द्र महताराले बताए । ‘९० प्रतिशत पूरा भइसकेको थियो,’ उनले भने, ‘फिल्ड सम्याउन मात्र बाँकी रहेको अवस्थामा कामै नलाग्ने गरी पर्खाल भत्कियो ।’ उनका अनुसार भू तथा जलाधार संरक्षण कार्यालयले ८ लाख रुपैयाँ खर्च गरेर दुई वर्षअघि ग्याबिन जाली लगाएको थियो । त्यसबेला जग कमजोर भएकाले वर्षा हुनासाथ मैदान भत्किएको उनले बताए ।
चालु वर्ष मैदान निर्माणका लागि प्रदेशअन्तर्गत सामाजिक विकास कार्यालयले १५ र गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेका थिए । विद्यालयको पर्खाल अग्लो भएकाले भार धान्न नसकेर भत्किएको स्थानीय कालीबहादुर बुढाले बताए । ‘कमजोर जगमा ठाडै पर्खाल हालियो,’ उनले भने, ‘वर्षाले रातो माटो गलेर पर्खाल ढल्यो ।’ यस वर्ष मैदान तयार गरेर वैशाखमा गाउँपालिका स्तरीय राष्ट्रपति रिनिङ शिल्ड संचालन गर्ने तयारी भइरहेको अवस्थामा भत्किएपछि समस्या परेको शिक्षा शाखाका स्रोत व्यक्ति अनिपाल विश्वकर्माले बताए ।
२०१६ सालमा स्थापना भएर प्रावि, निमावि हुँदै ०६६ मा मावि र ०७० मा उच्च माविको अनुमति पाएको विद्यालयमा माथिल्लो तहमा शून्य स्थायी दरबन्दी छ । संघीय अनुदान र पालिका अनुदान तथा राहत शिक्षक मात्र रहेका छन् ।
