घरमा हजुरआमाको संरक्षणमा रहेकी बालिकाको महिनावारी रोकिएपछि सोधीखोजी गर्दा बलात्कारमा परेर गर्भवती भएको खुलेको थियो ।
What you should know
कालीकोट — यहाँको रास्कोटकी १३ वर्षीया बालिका बलात्कारका आरोपित बलबहादुर भनिने बले कामीलाई पुर्पक्षकालागि कारागार चलान गरिएको छ ।
गत माघमा बालिका बलात्कारको आरोपमा फागुन २७ मा पक्राउ परेका कामीलाई कालीकोट जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको हो ।
प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेपछि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए । उनका अनुसार बालिका बलात्कारपछि गर्भवती भएको जाहेरी परेपछि कामीलाई पक्राउ गरिएको हो । ‘पीडकले आत्माग्लानीसहित अपराध स्वीकारेको अवस्था छ,’ उनले भने,‘आवश्यक अनुसन्धान गरेर मुद्दा अघि बढाइएको छ ।’
प्रहरीले अनुसन्धान गरेर रायसहित जर्बरजस्तीकरणी मुद्दा सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरेपछि जिल्ला अदालतले थुनामा राखी पुर्पक्ष गर्न प्रहरीलाई अनुमति दिएको अदालतका निमित्त स्रेस्तेदार सुनील खाँडले बताए ।
बालिकाको संरक्षणमा कठिनाई
बुवाले कान्छी आमा भगाएर भारत गएपछि उनकी आमाले दोस्रो विहे गरिन् । घरमा हजुरआमाको संरक्षणमा रहेकी बालिकाको महिनावारी रोकिएपछि सोधीखोजी गर्दा बलात्कारमा परेर गर्भवती भएको खुलेको थियो । फुपूको सहयोगमा प्रहरीमा मुद्दा दिएकी बालिकालाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रले आवश्यक मेडिकल सहयोगसहित मनोविमर्श सेवा दिएर हाल सोसेक नेपालको आपतकालीन आवासमा बसालेको छ ।
संस्थाले बजेट अभावले लामो समय आवासमा राख्न नसकिने जनाएपछि बालिकाको संरक्षणका लागि चुनौती देखिएको छ । ‘बालिकालाई गाउँ फर्काउन झनै जोखिम छ,’ सोसेक नेपालका मनोविर्मशकर्ता अपेक्षा सिंह बस्नेतले भनिन्, ‘हालसम्म मनोविमर्श सेवासहित खानेबस्ने ब्यवस्था गर्यौं, धेरै समय राख्न सकिने अवस्था छैन।’ उनले बालिकालाई सुरक्षित आवास र शिक्षाको आवश्यकता रहेको सुनाइन् ।
