योगी नरहरिनाथ पोषण उन्मुख स्वास्थ्य संस्था

पोषण मैत्री घोषणाका १६ मध्ये १३ सूचक पूरा गरेपछि समुदायमा सचेतना जगाउन अस्पताललाई पोषण उन्मुख घोषणा गरिएको अस्पताल प्रमुख डा. शिवनाथ यादवले बताए ।

चैत्र १९, २०८२

तुलाराम पाण्डे

Yogi Narharinath Nutrition Oriented Health Institution

What you should know

कालिकोट — यहाँस्थित योगी नरहरिनाथ आधारभूत अस्पताल जिल्लाकै पहिलो पोषण उन्मुख स्वास्थ्य संस्था घोषणा गरिएको छ । हरेक बार खाना चार अवधारणालाई घरघरसम्म पुर्‍याएर कुपोषण अन्त्य गर्ने उद्देश्यले पोषण उन्मुख स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

जिल्ला अस्पतालपछि एमबीबीएस चिकित्सक दरबन्दी भएको यो पुरानो अस्पताल हो । स्थानीय स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष कटकबहादुर बुढाको अध्यक्षतामा आयोजित घोषणामा गाउँपालिका उपाध्यक्ष कमलकुमार शाह, स्वास्थ्य शाखा प्रतिनिधि सिर्जना महत, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता विष्ट, महिला स्वास्थ्य स्वयंसेवी, आमा समूह, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता थियो । 

पोषण मैत्री घोषणाका १६ मध्ये १३ सूचक पूरा गरेपछि समुदायमा सचेतना जगाउन अस्पताललाई पोषण उन्मुख घोषणा गरिएको अस्पताल प्रमुख डा. शिवनाथ यादवले बताए । १३ वटा सूचक पूरा भएकाले ९० प्रतिशत भन्दा बढी सफलता हासिल गरेको उनले बताए । एक वर्षभित्र बाँकी सूचक पनि पूरा गरेर पोषण मैत्री घोषणा गरिने उनले बताए । 

उनका अनुसार अस्पतालको सेवा क्षेत्र पूरै गाउँपालिका भए पनि पोषण उन्मुखका लागि ३ नम्बर वडालाई आधार मानिएको हो । अस्पतालले अझै पनि सबै किशोरीलाई आइरन चक्की खुवाउन, कम तौल भएका शिशुको जन्म शून्यमा झार्न, सबै बालबालिकाको नियमित वृद्धि अनुगमन र सबै गर्भवती महिलाले ८ पटक गर्भ जाँच अनिवार्य गराउनु पर्ने सूचकमा सुधार गर्नुपर्ने उनले बताए । 

नरहरिनाथको पोषण अवस्था सुधार्न स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेसनल र किर्डाक नेपालको सहकार्यमा संचालित सशक्त बालिका परियोजनाले दुई वर्षअघि वडा नं १ कोटवाडादेखि वडा नं ४ गोठीसम्म ६ महिनादेखि ६ वर्षसम्मका ५ सय ३८ जना बालबालिकाको पोषण अवस्थाको सर्वे गर्दा ४३ जना कुपोषित भेटिएकामा यस वर्षको सर्वेमा १७ जनामा मात्र मध्यम खालको कुपोषण भेटिएको कार्यक्रम अधिकृत हिमाल आचार्यले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully