घर जलेपछि आफन्तको आश्रयमा

गत बिहीबार राति आगलागीबाट दलबहादुर विकको घर र त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए ।

चैत्र १८, २०८२

विप्लव महर्जन

Sheltering with relatives after house burns down

सल्यान — घर जलेपछि कपुरकोट–५, पाङग्राङका दलबहादुर विक परिवारसहित आफन्तको आश्रयमा छन् । परिवारका ६ सदस्यसहित उनी दाइको घरमा शरण लिन बाध्य भएका हुन् । तत्काल बासको व्यवस्था गर्न नसक्दा दाइ झूपलालको घरमा आश्रय लिन बाध्य भएको उनले बताए । 

गत बिहीबार राति आगलागीबाट विकको घर र त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए । आगलागीबाट १० लाखभन्दा बढीको क्षति भएको उनले बताए । प्रहरी र स्थानीयको सहयोगमा जलेको घर भत्काएर अहिले पुनर्निर्माण थालिएको छ । निर्माणको काम सक्न अझ एक साता लाग्ने भएकाले दाइको घरमा परिवारसहित बस्न बाध्य भएको विकले बताए । 

कपुरकोट गाउँपालिका र प्रहरीले तत्काल राहतस्वरूप खाद्यान्न, तेल, दाल लगायतका सामग्री उपलब्ध गराएपछि तत्काल खानलाई त्यति समस्या नभएको उनको भनाइ छ । 

चार रोपनी जग्गामा बेमौसमी तरकारी खेती गरेर घरखर्च जुटाउँदै आएको उनले बताए । ‘केही बाख्रा पनि पालेको छु,’ उनले भने, ‘तरकारी र खसीबोका बिक्री गरेर वार्षिक तीन लाखजति कमाइ हुन्छ ।’ आमा दमको रोगी भएकाले उपचार गर्दा ७/८ लाख रुपैयाँ ऋण लागेको उनले सुनाए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully