पहिरोले गाउँमा क्षति पुगेको बारेमा प्रहरीसमेत समयमै घटनास्थलमा जान नमानेको पीडितहरुले गुनासो पोखेका छन् ।
जुम्ला — जुम्लाको हिमा गाउँपालिका–६ स्थित खलढुंगा गाउँमा मंगलबार दिउँसो सुख्खा पहिरो खस्यो । दिउँसो मध्यान्ह १२ बजे गाउँमाथिबाट एकाएक पहिरो झरेपछि गाउँमा त्रास फैलिएको छ ।
पहिरोले मानवीय क्षति भएन तर एक घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । अर्कोमा आंशिक क्षति भएको छ । ‘राति पहिरो गएको भए मानवीय क्षति हुनसक्थ्यो,’ स्थानीय ललिजन अधिकारीले भने, ‘तर फेरि अन्यत्र पहिरो खस्ने हो कि भन्ने त्रास छ ।’
घरभित्रको अन्तपात, भाँडाकुँडा लगायतका सामानहरु पूर्णरुपमा नष्ट भएको स्थानीयले बताए । पहिरोले २० लाख रुपैयाँ भन्दा धेरै क्षति भएको अनुमान स्थानीयको छ । गाउँमा एक साता अघिदेखि नै ढुंगा खस्ने जोखिमबारे युवाहरुले हिमा गाउँपालिकामा निवेदन पेस गरेका थिए ।
जनप्रतिनिधिहरुले स्थलगत निरीक्षण समेत गरे । समस्या समाधान गर्ने बचन पनि दिए तर प्रभावकारी पहल हुन नसकेको स्थानीयको आरोप छ । पहिरोले गाउँमा क्षति पुगेको बारेमा प्रहरीसमेत समयमै घटनास्थलमा जान नमानेको पीडितहरुले गुनासो पोखेका छन् । घरधनी आफैं प्रहरीचौकीमा पुगेर निवेदन दिए पनि भोलि आउने भन्दै फर्काइदिएको स्थानीयले बताए ।
पहिरो पीडितहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । कमजोर चट्टान र ठाडो भीरका कारण लामो समयदेखि यो गाउँ पहिरोको जोखिममा रहेको छ । तीन वर्षअघि असोजमा आएको वर्षाले पहिरो जाँदा गाउँका ६ घर बगाएको थियो । त्यसबेला पनि न पीडितले समयमै उद्धार पाए, नत प्रयाप्त राहत नै । पीडितहरुले आफूहरुको दुःखमा राज्यले हेलचक्र्याइँ गरिएको बताए ।
वर्षायाममा जोखिम झनै बढ्ने भन्दै तत्काल उद्धार, राहत र दीर्घकालीन समाधानको माग स्थानीयले गरेका छन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही गाउँमा सुख्खा पहिरो गएपछि प्रहरी र गाउँपालिकाको विपद् शाखाको टोली घटनास्थलमा पठाइएको बताए । टोलीले क्षतिको एकिन विवरण ल्याएपछि राहतका कार्यक्रम ल्याउने विषयमा छलफल हुर्ने उनको भनाइ छ ।
२०७९ सालदेखि नै यो बस्ती सार्ने योजना बनाइएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर प्रदेश र संघमा समेत पठाए पनि अहिले सम्म सुनुवाइ भएको छैन । जोखिम टार्न पालिकाले गाउँमाथि डाँडामा एक हजार २ सय विरुवा रोपेको छ । ‘बस्ती सारेर अर्कै स्थानमा लैजान पालिकासँग बजेट छैन । प्रदेश र केन्द्र सरकारले पठाएको योजना हेर्दैन,’ अध्यक्ष शाहीले भने, ‘अब फेरी पनि पहल गर्नेछौं । सरकारले कार्यक्रम ल्याउनु पर्यो ।’
उनले स्वयम् व्यक्तिले घर अर्को स्थानमा बनाउने र राज्यले बस्ती सार्न पहल गर्नुबाहेक विकल्प छैन । खलढुंगीमा ४९ घर छन् ।
