प्लास्टिक झोलाले वातावरण प्रदूषण मात्र नभई माटो, पानी र जैविक विविधतामा गम्भीर असर पारिरहेकाले यसको बिक्री वितरण, उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको कुमाख गाउँपालिकाका वन, वातावरण तथा विपद् शाखा प्रमुख जीवन शर्माले बताए ।
सल्यान — सल्यानको कुमाख गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । वातावरण प्रदूषण हुनबाट जोगाउन पालिकाले यस्ता प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
प्लास्टिक झोलाको प्रयोग बढ्दै गएकाले वातावरण प्रदूषण मात्र नभई माटो, पानी र जैविक विविधतामा गम्भीर असर पारिरहेकाले त्यसको बिक्री वितरण, उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको कुमाख गाउँपालिकाका वन, वातावरण तथा विपद् शाखा प्रमुख जीवन शर्माले बताए ।
‘वातावरण संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो । प्लास्टिक झोलाको बढ्दो प्रयोगले वातावरणमा गम्भीर असर परेको छ । यसको उत्पादन, बिक्री वितरण र प्रयोग रोक्न अति आवश्यक भएकाले हामीले प्रतिबन्ध लगाएका हौं,’ उनले भने ।
प्लास्टिकको झोलाको ठाउँमा कपडा, जुट वा कागजको झोला प्रयोग गर्न पालिकाले आग्रह गरेको उनले जानकारी गराए । प्रतिबन्ध लगाउँदा लगाउँदै पनि कसैले अटेर गरेर बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनको भनाइ छ ।
