जुम्लामा जातीय विभेद गरेको भिडियो भाइरल

जुम्लामा खुलेआम गरिएको जातीय विभेदको भिडियो यतिबेला भाइरल बनेको छ। सदरमुकाम खलंगाको कालेखोली क्षेत्रस्थित एक होटलमा भएको उक्त घटनाले विगतका सबै विभेदप्रति क्षमायाचना गर्ने घोषणा गरेको नयाँ सरकारलाई खुला चुनौती दिएको छ।

चैत्र १६, २०८२

डीबी बुढा

Video of caste discrimination in Jumla goes viral

What you should know

जुम्ला — आइतबार बेलुकीदेखि जुम्लामा जातीय विभेद गरेको भिडियो भाइरल भइरहेको छ । सदरमुकाम खलंगाको कालेखोली क्षेत्रस्थित एक होटलमा भएको उक्त घटनाले विगतका सबै विभेदप्रति क्षमायाचना गर्ने घोषणा गरेको नयाँ सरकारलाई खुला चुनौती दिएको छ।

जुम्ला गुठिचौर –३ की कविता बुढाले होटलमा तातोपानी खान गएका राजबहादुर सुनारलाई खुलेआम डुम भनेर जातीय विभेद गरेकाे देखिन्छ । एक मिनेट ३४ सेकेण्डको उक्त सार्वजनिक भएको भिडियोमा उनले भनेकी छन्, ‘डुम भनेका डुम हुन् । भैसा मासु खान्छन् । म डुमै भुन्यौं ।  डुम किन नभुन्या । मेरा घर दसै‌ंमा पुच्छुर लिन आउँछन ।’

उनले नजिकै रहेका अन्य महिलालाई साक्षी राख्दै भन्छिन्, 'क्यान डुम नभुन्ने , डुम नभुन भुन्या मकन । आफ्नो व्यवहार नदेखाउनु पर्‍याे क्या भन्दै आक्रोश समेत पोख्छिन् । 

नजिकै उभिएका राजबहादुर तेरोमा को पुच्छर लिन आउँछ त्यही भन्नु जा भन्दै सामान्य प्रतिकार गरे जस्तो गरिरहेका देखिन्छन्। फेरि कबिताले  मैले डुम भुन्न पाएन तिमीकन तोकि कन भन्या छु । तो दाइ डुम होस् भुन्या छु भन्दै उम्किन खोजे जस्तो गर्छिन् । 'मा कसम म पनि ओभरै छु' नजिकै रहेकी एक महिला देखाउँदै उनी भन्छिन्, ‘दसैंको बेला भाउजु सूर्य कसम घरपैसो गर्ने बेला दमाह बजाउन आउने अनि मैले नभन्या । मेरो घर विवाह ताका बिउ माग्न आउने अनि मैले डुम नभुन्न पाउन्या ।'

नजिकै रहेको हाटेलमा बसेका मान्छेहरुलाई 'दाइ तपाइहरु दुःख नमान्नु होला,  मैले भन्न पाएकी पाएन' भन्दै उनी चर्काे स्वरमा बाेल्छिन् ।  याे बोल्ने तरिका राम्नो नभएको भन्दै वरिपरि बसेकाले सुझाइरहेका देखिन्छन् । 'म कत जाक ( प्रहरीमा हाल ) मेरो जेठा बा निकाली हाल्छ' भन्नै उल्टै धम्कीपूर्ण अभिव्यक्ति दिन्छिन् । 

अहिले यो जातीय विभेदको भिडियो भाइरल भए पछि दलित समुदायसंग सरोकार राख्नेहरुले आपत्ति जनाउँदै कानुनी कारबाहीकाे माग गरिरहेका छन् । तत्काल ती महिलालाई कानुनी कारबाही नगरे आन्दोलन गर्ने समेत चेतावनी दिएका छन्। 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully