डोल्पामा १ सय १ बोरा पदमचालसहित ४ जना पक्राउ

दुई वटा ट्याक्टरमा लोड गरिएको करिब ३५ क्विन्टल (१०१ बोरा) पदमचाल जडीबुटी पनि बरामद

चैत्र ९, २०८२

रामचन्द्र न्यौपाने

4 arrested with 101 bags of padmachal in Dolpa

डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा ठूलो परिमाणमा जडीबुटी संकलन गरी ओसारपसार गर्दै गरेका ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सोही वडाका ३३ वर्षीय विकास रोकाया, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा (चालक) र रुकुम पश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विक (चालक) रहेका छन्।

निकुञ्ज सुरक्षार्थ बसेको संग्राम शार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमान्डमा खटिएको नेपाली सेना र निकुञ्जका सिनियर गेम स्काउटसहितको टोलीले पक्राउ गरेर शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाएको हो ।

निकुञ्जका अनुसार संयुक्त गस्ती टोलीले आज बिहान ३:३० बजेको समयमा त्रिपुरासुन्दरी–१ त्रिपुराकोट क्षेत्रमा छापा मार्दा दुई वटा ट्याक्टरमा लोड गरिएको करिब ३५ क्विन्टल (१०१ बोरा) पदमचाल जडीबुटी पनि बरामद गरेको छ ।

निकुञ्जले दिएको अनुमतिभन्दा बढी परिमाणमा जडीबुटी संकलन गरी रातारात ओसारपसार गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका रेन्जर किशोर महतले जानकारी दिए। 

घटनामा संलग्न व्यक्तिहरुमाथि निकुञ्ज ऐन अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनु साथै थप अनुसन्धान भइरहेको महतले बताए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully