तालिका अनुसार उडान नहुँदा जुम्लाका यात्रु अलपत्र

नेपाल एयरलाइन्सको उडान नियमित नहुँदा कर्णालीका गर्भवती, बिरामी तथा अन्य यात्रु हप्तौंसम्म विमानस्थलमा अलपत्र पर्ने गरेका छन् ।

चैत्र ९, २०८२

डीबी बुढा

Passengers from Jumla stranded as flights are not scheduled

What you should know

जुम्ला — तातोपानी गाउँपालिका–४ की संगिता सार्कीले गत चैत २ मा नेपाल एयरलाइन्सको टिकट काटिन् । उनी २४ साताकी गर्भवती हुन् । टिकट काटेपछि जहाज आउने विश्वासमा केही दिन विमास्थल धाइन् । तालिका बने पनि उडान नभएपछि दिक्क मानेर विमानस्थल जान छाडिन् । गर्भवती भएकाले जहाज चढेर नेपालगन्ज पुग्ने उनको आशा टुटेको छ । उडान रद्द भएर दैनिक हैरानी सहनु परेको उनले बताइन् ।

एक महिना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी संगिता थप उपचारका लागि नेपालगञ्जस्थित अस्पताल जान लागेकी हुन् । उनको सातमा प्रतिष्ठानले रेफर लेखेको कागजात रहेको छ । ‘जहाज उडने आशमा हरेक दिन दुःख पाइरहेकी छु,’ संगिताले भनिन्, ‘डक्टरले अवस्था जटिल छ भन्नु भएको छ । आउने भनेको जहाज पनि आइपुग्दैन । हामी त समस्यामा छौं ।’ कर्णाली राजमार्ग कच्ची भएकाले गर्भवतीलाई यात्रा असहज हुन्छ । त्यसैले जहाजको पर्खाइमा रहेको उनको परिवारले जनाएको छ । 

एक महिनादेखि खुट्टामा समस्या भएका चन्दननाथ–१० का भुवन देवकोटा बैसाखी टेकेर आइतबार विमास्थल पुगे । तर, उड्न पाएनन् । उनी फागुन १७ देखि जहाजको पर्खाइमा छन् । नेपाल एयरलाइन्सको टिकट पाए पनि उड्न पाएका छैनन् । सरकारी जहाजले दुर्गममा उडान नगरेर सास्ती दिइरहेको उनको आरोप छ ।

अहिले निजी विमान कम्पनीमा जहाज पनि चलेका छैनन् । सबै जहाज पर्यटक ओसार्न केन्द्रीत छन् । डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाकी भगवती रोकाया स्तनको शल्यक्रिया गरेर थप उपचारका लागि काठमाडौं जाँदै थिइन् । नौ दिनदेखि विमानस्थल धाइरहेकी उनले समेत उड्न पाइनन् । ‘जहाज आउने आशाले खुशी भएर विमानस्थल पुग्यौं,’ उनले भनिन्, ‘एकाएक रद्द भएको खबरले निराश बनाइदियो ।’

टिकट काटेर पनि उडान भर्न नपाएका यी प्रतिनिधि पात्र हुन् । सरकारी जहाजले नियमित उडान नभर्दा यात्रु मर्कामा परेका छन् । व्यवसायिक उडान भन्दै निजी विमान कम्पनी पूर्वतिर केन्द्रित भएपछि कर्णालीमा सरकारीले मात्रै उडान भर्ने गरेको हो । नेपालगञ्जदेखि सातामा ३ र सुर्खेतदेखि २ उडान भर्ने तालिका रहेको छ । त्यहीँ तालिका अनुसार जहाज नआउने भएपछि यात्रु अलपत्र पर्ने गरेका छन् । आइतबार नेपालगञ्जबाट जुम्लाकालागि उडान तोकिएको थियो । जहाज उड्न थालेको भन्दै यात्रुले सामान जाँच गराएर बसेका थिए । एक्कासी मौसमको खराबी देखाउँदै उडान रद्द भएको जानकारीपछि याक्रुहरु आक्रोशित बने । 

उनीहरु निरन्तर नौ दिनदेखि विमानस्थल आउँदै सामान चेक गराउँदै जहाज नआएर फर्किने गरेका थिए । ‘आइतबार त मौसम पनि ठिकै थियो । आकाशमा बादल थिएन । हावा पनि कमै लागेको थियो,’ स्थानीय चन्द्रलाल न्यौपानेले भने, ‘यहीँबेला जहाज आउन सकेन । बिरामीहरु घर फर्किए । यात्रु आन्दोलनमा उत्रिन बाध्य भए ।’ सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जहाज नियमित गराउन वायुसेवा निगम र सरोकारवाला निकायसँग छलफल भइरहेको बताए । विमान सेवा अनियमित हुँदा कर्णालीका विकट जिल्लाका जनताले ज्यान जोखिममा राखेर महंगोमा निजी जहाज वा कठिन सडक यात्रा रोज्न बाध्य भएको स्थानीयको दुखेसो छ । 

नेपाल एयरलाइन्सका स्टेशन इन्चार्ज उमाकान्त अधिकारीले मौसम खराबीका कारण उडान हुन नसकेको बताए । ‘उडान तालिका आइरहन्छ तर जहाज नआएको धेरै भइसक्यो,’ उनले भने, ‘हरेक दिन यात्रुको सामान जाँचेर यात्रुलाई विमानस्थल प्रवेश गराइदै आएको छ ।’ जहाज नियमित नआउँदा यात्रु त अलपत्र परेकै छन् । त्यो भन्दा ठूलो एयरलाइन्सको आम्दानीमा घाटा बेहोर्नु परिरहेको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully