आर्थिक अभाव, जंगली जनावरको त्रासबीच सार्की परिवारले चार दशकदेखि जंगलको टहरोमा कठिन जीवन बिताउँदै आएको छ ।
What you should know
सल्यान — सल्यानको कालिमाटी गाउँपालिका–७ वनगाउँ नजिकै घना जंगलबीच एउटा सानो टहरो छ । टाढाबाट हेर्दा त्यो गाईबाख्रा ओत लाग्ने गोठजस्तो देखिन्छ । खर र काठले छाएको, माथि निलो त्रिपालले ढाकिएको, अगाडि न ढोका न पर्खाल । सामान्य हावाहुरीले पनि भत्किन सक्ने जस्तो कमजोर संरचना ।
यो टहरो पशुगोठ होइन, पाँच सदस्यीय परिवारसहित ५६ वर्षीय जितबहादुर सार्कीको चार दशकदेखिको आश्रय हो ।
सालैसालको रुख भएको घना जंगलबीच रहेको टहरोमा वर्षा भएका बेला पानी चुहिन्छ । अगाडिको भाग खुलै भएकाले जंगली जनावरको त्रास पनि उत्तिकै छ ।
आर्थिक अवस्था दयनीय भएका जितबहादुर आयआर्जनको माध्यम केही नभएपछि टहरोमा जीवन गुजारा गरिरहनुपरेको बताउँछन् । 'बर्सातको समय पानी, हिउँदमा हुरीबतास र चिसोले सताउँछ,' उनले भने, 'जंगली जनावरले कतिबेला आक्रमण गर्ने हो भन्ने त्रास भइरहन्छ ।'
बाँके राष्ट्रिय निकुञ्जबाट छिरेको बाघले आतंक मच्चाइरहेका बेला उनको परिवार असुरक्षित छ । सरकारले आर्थिक अवस्था कमजोर भएका विपन्न, दलित समुदायलाई जनता आवास कार्यक्रममार्फत घर बनाउँदै आए पनि उनी छुटिरहेका छन् ।
जितबहादुरले आयआर्जनका लागि छेवैमा सानो टहरो बनाएर गाईबाख्रा पालेका छन् । ‘आम्दानीको माध्यम अरु केही छैन । पुर्ख्यौली सम्पत्ति छैन । ऐलानी जग्गामा लगाएको बाली जंगली जनावरले पाक्न नपाउँदै सखाप पार्छन्,' उनले सुनाए, 'बाख्रा बेचेर र मजदुरी गरेर पाँच जनाको परिवारलाई बिहान-बेलुकी छाक टार्न हम्मेहम्मे हुन्छ ।'
बाँके राष्ट्रिय निकुञ्ज छेवैमा भएकाले यहाँ बाघको त्रास छ । पुस दोस्रो साता बाघले तीन जनाको ज्यानै लियो । दैनिकजसो किसानले पालेको गाईबाख्रा खोरमै पसेर मारेर खाने गरेको छ ।
सरकारले घरबारविहीन दलित, विपन्न परिवारलाई घर बनाउने सुने पनि अहिलेसम्म कसैले सहयोग नगरेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका कारण विभिन्न किसिमको जोखिम मोलेर टहरोमा बस्दै आएका उनले घर निर्माणको लागि सहयोग गर्न सम्बन्धित निकायसामु अपिल गरेका छन् ।
जितबहादुरकी श्रीमती पानसलीले जंगली जनावरको त्रास मात्र नभई बर्सातको समय पानी परेमा रातभर सुत्न नपाइने र हिउँदमा रातिको धेरै चिसो हुने पीडा सुनाइन् । 'वैशाख, जेठको समयमा जंगलमा डढेलो लाग्ने गर्दा बासस्थान छाडेर सुरक्षित स्थानतिर भाग्नुपर्ने हुन्छ,' उनले भनिन्, 'कहिलेकाहीँ बिरामी भएमा उपचार गराउन नसकी त्यत्तिकै थलिनुपर्छ ।’
कालिमाटी गाउँपालिका-७ का वडाध्यक्ष मित्रलाल रिजालले जितबहादुरका लागि सहयोग जुटाउन थालिएको बताए । 'उनको घर निर्माणका लागि सम्बन्धित निकाय तथा सरोकारवालाबाट आर्थिक सहयोग जुट्न थालेको छ,' उनले भने, 'पालिकाले खरको छानोमुक्त अभियान थालेकाले उनलाई कर्कटपाता उपलब्ध गराउनेदेखि जनता आवास कार्यक्रममार्फत घर निर्माणको लागि पहल भइरहेको छ ।'
