कालिमाटी–७ स्थित बबई किनारका स्वामिबास, कुसुतरा, घुइयावारी, हात्तीढुंगा, आम्वास, र्याङका बासिन्दाको ३ सय हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ अभाव छ ।
What you should know
सल्यान — जिल्लास्थित कालिमाटी–७, काप्रेचौर बाटुलेकी अमृता पुनको घरनजिक बबई नदी कलकल बग्छ । नदीबाट ४०/५० मिटरमा उनको २० रोपनीभन्दा बढी खेत छ । खेतनजिकै खहरे खोला पनि छ । नदी र खोला नजिक भए पनि खेतीपातीका लागि आकाशे पानीको भर पर्नुपर्ने उनले बताइन् ।
धान, गहुँ, मकै, तोरी खेती गर्ने उनलाई सिँचाइ गर्ने बेला समस्या हुन्छ । नदीको पानी हेर्दै वर्षा कुर्ने गरेको उनको भनाइ छ । सिँचाइ नभएकाले ९ रोपनी जग्गा बाँझै छाडेको उनले बताइन् । यहीँको घुईयाबारीका बिर्खबहादुर रानाको पनि बबई किनारमा २५ रोपनीभन्दा बढी खेत छ । उनलाई पनि खेतीपातीका बेला सिँचाइकै समस्या हुने गरेको छ । सिँचाइको सुविधा भैदिए वर्षामा दुई बाली धान, हिउँदमा गहुँ खेती गर्न सकिने उनले बताए । पानी नभएपछि २० रोपनीभन्दा बढीमा गहुँ, मकै र मसुरो खेती मात्र गरिरहेका छन् । पर्याप्त जग्गा भए पनि परिवारको गर्जो टार्न उनी बाँकेको नेपागन्जबाट खरिद गरेर ल्याएको खाद्यान्नमा निर्भर छन् ।
कालिमाटी–७ स्थित बबई किनारका स्वामिबास, कुसुतरा, घुइयावारी, हात्तीढुंगा, आम्वास, र्याङका बासिन्दाको ३ सय हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ अभाव छ । तत्कालीन सिँचाइ डिभिजन कार्यालयले २०६४ मा १० करोड विनियोजन गरेर निर्माण थालेको सिँचाइ योजना पूरा नहुँदै २०७२ सालमा बबईको बाढीले तहसनहस बनाएको थियो । त्यसपछि सम्बन्धित कार्यालयले ठूला सिँचाइ योजना लागू नगर्दा सर्वसाधारण खेतीपातीका लागि आकाशे पानीको भर पर्न बाध्य छन् ।
विभिन्न खहरे खोला र वडा कार्यालयले वितरण गरेको पम्पसेटबाट अहिलेसम्म स्थानीयले ४ चार सय रोपनीमा मात्र सिँचाइ गर्न पाएका छन् । तर, पर्याप्त सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझिदै गएका छन् । आफ्नै जग्गाको उब्जनीले बाह्रैं महिना खान पुग्ने यहाँका बासिन्दा सिँचाइ सुविधा नभएकाले खाद्यान्न किनेर खान बाध्य छन् । बालीसमेत जंगली जनावरले स्याहार्न नदिने र स्वाहा बनाउने समस्या पनि भोग्दै आएका छन् ।
बबईमा पुल बनेको र बिजुली बाल्न पोल जडान गरे पनि सिँचाइ अभावमा खेतीयोग्य जमिन बाँझै रहेको कालिमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । किसानलाई राहत पुर्याउन सिँचाइ योजना माग गरे पनि सुनुवाइ नभएको उनले बताए । २०६४ मा सञ्चालित योजना बाढीका कारण तहसनहस हुनु र सरकारले योजना रद्द गर्दा समस्या भएको उनले बताए ।
पालिकाले २०७४ मा ३१ लाख बजेट विनियोजन गरेर २०/२५ हेक्टर खेतमा सिँचाइ गर्न सौर्य लिफ्ट सिँचाइ योजना पूरा गरेको थियो । त्यसबाट स्थानीयले दुई वर्ष सिँचाइ पनि गरे । मोटर बिग्रने समस्याले गर्दा लाभ लिन सकेनन् । गत वर्ष वडा कार्यालयले किसानलाई चार थान जेनेरेटरबाट चल्ने पम्पसेट वितरण गरेको थियो । त्यसबाट ३ सय रोपनी जग्गामा सिँचाइ गर्न पाएका छन् । कालिमाटी–७ का कृषि प्राविधिक कुमार केसीले पर्याप्त सिँचाइ व्यवस्था नहुँदा किसानका खेतीयोग्य जग्गा त्यत्तिकै खेर गएको बताए ।
