गाउँ कार्यपालिकाको शुक्रबारको बैठकले सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ पारित गरेर अनिवार्य लकबुक भर्नुपर्ने व्यवस्था गरेको हो ।
जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिकाले सरकारी सवारीसाधनको दुरुपयोग रोक्न अनिवार्य लकबुक भर्नुपर्ने व्यवस्था गरेको छ ।
गाउँ कार्यपालिकाको शुक्रबारको बैठकले सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ पारित गरेर अनिवार्य लकबुक भर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि गुठिचौरले सुशासन अभियान चलाएर सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । तर कार्यपालिका बैठकले कार्यविधि पारित गर्दै सवारी साधन मर्मतसंभार गरी सञ्चालनमा ल्याउने बाटो खुलेको हो ।
लकबुकमा प्रस्थान गरेको स्थान, गन्तव्य, सुरुको किलोमिटर, इन्धन भरिएको परिणाम उल्लेख गरेर चालकको हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । उनका अनुसार लकबुकबिनाको सवारीसाधनलाई अनाधिकृत मानिने र सो अवधिको इन्धन खर्च व्यक्तिगत रुपमा भराइने समेत कार्यविधिमा उल्लेख छ ।
कार्यालय समयबाहेक सार्वजनिक बिदाको दिन र कार्यालय प्रयोजनका लागि चलाउनु परेमा प्रमुख प्रशासकीय अधिकृतबाट अनिवार्य सवारी पास लिनुपर्ने र पास बिना सवारीसाधन चलाउन नपाइने व्यवस्था कार्यविधिले गरेको हो ।
सवारी साधनको बिमा र नवीकरण समयमै गनुपर्ने, म्याद नाघेर तिर्नुपर्ने जरिवाना सम्बन्धित कर्मचारी र चालकको तलबबाट कट्टा गर्ने, प्रत्येक ६/६ महिनामा सवारी साधनको भौतिक अवस्थामा प्रमुख प्रशासकीय अधिकृतबाट निरीक्षण गर्ने समेत कार्यविधिमा समावेश गरिएको छ ।
'सवारीसाधन सफा राख्ने, कम मर्मत खर्चमा राम्रोसँग चलाउने, दुर्घटनारहित चालकलाई वार्षिक रुपमा उत्कृष्ट चालक पुरस्कार प्रदान गरिनेछ,' कार्यविधिमा भनिएकोछ, 'सवारी साधन प्राप्त गर्न निवेदन र लाइसेन्स अनिवार्य पेस गर्नुपर्ने र लाइसेन्सबिना सवारीसाधन प्रयोग गर्न नपाइने समेत व्यवस्था छ ।’
कार्यविधिले इन्धन र मर्मतको समेत सीमा तोकेको छ । दुई पांग्रे सवारीसाधनलाई प्रत्येक महिना १० लिटर इन्धन उपलब्ध गराउने र चार पांग्रेको हकमा लकबुक भरेर आवश्यकअनुसार इन्धन प्रदान गरिनेछ । दुई पांग्रेको मर्मत गर्न २० हजार र पुरानो सवारीसाधनका लागि २५ हजार बढी नहुने गरेर मर्मत खर्च उपलब्ध गराइनेछ । चार पांग्रेको हकमा १० हजारभन्दा माथि मर्मत गर्दा कार्यपालिकाको निर्णयअनुसार मेकानिकल इन्जीनियर वा आधिकारिक ग्यारेजको लागत अनुमान स्वीकृत गराएर मात्र मर्मतको काम सुरु गर्ने कार्यविधिमा समेटिएको छ ।
कार्यविधिले सरकारी सवारी साधनको दुरुपयोग रोक्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । उनले भने, 'यो कार्यविधिले सरकारी सवारी साधनको सहीरुपमा सदुपयोग गर्न मार्ग खुलाएको छ ।’
यही चैत १५ गते बस्ने गाउँसभाले कार्यविधि पारित गर्ने र शीघ्र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले जानकारी दिए । सुशासन अभियान चलाउँदा थन्किएका सवारीसाधन यो कार्यविधिले सञ्चालनमा ल्याउने ढोको खोलेको हो ।
