बुढ्यौली उमेरमा सन्तानहरू घरदेखि टाढा रहने र घरमा रहेका वृद्धवृद्धामा विभिन्न मानसिक समस्या देखा परिरहेको भन्दै मन्त्रालयले कर्णालीका जुम्ला र डोल्पाबाहेक आठ जिल्लाका ज्येष्ठ नागरिक अगुवालाई वीरेन्द्रनगरमा भेला गरेको हो ।
What you should know
वीरेन्द्रनगर — मुगुका ८० वर्षीय गगनबहादुर मल्ल करिब तीन दिन गाडीमा यात्रा गरेर बुधबार सुर्खेत पुगे । उनी आफूजस्तै अन्य जिल्लाका ज्येष्ठ नागरिकसँग र सरकारका प्रतिनिधिसँग मनका कुरा गर्नका लागि मात्रै सुर्खेत पुगेका हुन् । ‘पहिले–पहिले सुर्खेत आउन १५ दिन लाग्थ्यो,’ उनले भने, ‘तर अहिले बाटो बनेपछि तीन दिनमा सुर्खेत पुगियो, त्यही भएर पनि म यहाँ आउन सकेँ ।’
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रममा सहभागी भएर आफ्नो मनका कुरा सुनाउन मल्ल लामो यात्रा गरेर यहाँ पुगे । कार्यक्रममा सहभागी भएर मल्लले पहिलोपटक यस्तो खालको कार्यक्रममा सहभागी हुन पाएको भन्दै खुसी व्यक्त गरे । ‘उमेरले नेटो काटिसक्यो,’ उनले भने, ‘यस्तो बेलामा हाम्रा मनमा हुने चिन्ताका बारेमा यसरी कुरा गर्न पाइएको थिएन, यस्ता कार्यक्रमहरू हाम्रो जिल्लामै पुगेर गरेको भए मजस्तै अरु साथीहरूले पनि धेरै कुरा सिक्ने थिए ।’
बुढ्यौली उमेरमा सन्तानहरू घरदेखि टाढा–टाढा रहने र घरमा रहेका वृद्धवृद्धामा विभिन्न मानसिक समस्या देखा परिरहेको भन्दै मन्त्रालयले कर्णालीका जुम्ला र डोल्पाबाहेक आठ जिल्लाका ज्येष्ठ नागरिक अगुवालाई वीरेन्द्रनगरमा भेला गरेको हो ।
अन्तरक्रियामा प्रशिक्षकका रूपमा रहेकी स्वास्थ्य सेवा निर्देशनालयकी मनोविद् लक्ष्मी तामाङले सहभागीलाई ‘मनका कुरा गरौं’ भन्दै कार्यक्रम सुरु गर्दा ज्येष्ठ नागरिक प्रफुल्ल र उत्साहित देखिए । ‘तपाईंका छोराछोरी नाति–नातिनीहरू कोही घरदेखि टाढा होलान्, कोही घरमै भए पनि मोबाइल, कम्प्युटरमा व्यस्त हुन्छन् होला,’ उनले भनिन्, ‘तपाईंले उनीहरूसँग मनका कुरा गर्न नपाउँदा मन भारी भएको होला है, आज हामी त्यही मनभित्र गुम्सिएको कुरा गर्न यहाँ जम्मा भएका हौं ।’
तामाङले वृद्ध उमेरमा धेरै कुरा व्यक्त गर्न नसक्दा विभिन्न मानसिक समस्या देखिने बताइन् । ‘हामी टाउको दुख्यो, पेट दुख्यो, खुट्टा दुख्यो भनेर औषधि मागेर खान सजिलो मान्छौं,’ उनले भनिन्, ‘तर तपाईंहरूले कहिल्यै मेरो मन दुख्यो, चित्त दुख्यो भनेर भन्नुभएको छ ?’
तामाङले सहभागी ज्येष्ठ नागरिकलाई विभिन्न अभ्यास गराउँदै मन हल्का गराउनेदेखि पुराना दिनहरू सम्झिनेसम्म पुर्याइन् । उनले अभ्यास गराउँदै गर्दा सहभागी ज्येष्ठ नागरिक कोहीले आफ्नो संसार छाडिसकेकी श्रीमती सम्झिएको बताए, कोहीले छोराछोरी सम्झनामा आएको भने । कोहीले आफू २० वर्ष उमेरमा पुगेको र पुरानो मायालु सम्झिएको भन्दै ठट्टासम्म गर्न भ्याए । दुई दिनसम्म मनमा गुम्सिएका भावनालाई रमाइलो गर्दै व्यक्त गर्न पाएको भन्दै दैलेखका ज्येष्ठ नागरिक वीरबहादुर भण्डारीले खुसी व्यक्त गरे । उनले यस्ता कार्यक्रम हरेक वर्ष हरेक जिल्लामा गरिनुपर्नेमा जोड दिए । ‘हामीलाई अगुवा भनेर बोलाइयो, धेरै कुरा सिकियो,’ उनले भने, ‘हामीले धेरै कुरा हाम्रा अरु ज्येष्ठ नागरिक साथीलाई पनि भनौँला तर यहाँबाट विज्ञ नै जिल्ला–जिल्लामा पुगेर वृद्धवृद्धासँग कुरा गर्दा अझ प्रभावकारी हुन्छ ।’
कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शी र डा. पूजा बीसी कोइरालाले डिमेन्सिया र अल्जाइमरका बारेमा जानकारी गराए । उनीहरूले बुढेसकालमा विशेषगरी हरेक क्रियाकलाप बिर्संदै जाने समस्या बिस्तारै बढ्दै गएर परिवारमा ठूलो समस्या सिर्जना हुने बताए । यस्तो समयमा ज्येष्ठ नागरिक हराउने, लड्ने, चोटपटक लाग्नेजस्ता समस्या आउने र परिवारमा नै कलह उत्पन्न हुने मनोचिकित्सकको भनाइ छ ।
ज्येष्ठ नागरिकमा मानसिक समस्या आउँदा परिवारका सदस्यले समय दिनुपर्ने, ज्येष्ठ नागरिकलाई सामान्य काममा लगाउने, शारीरिक अभ्यास गर्ने, पोषणयुक्त खानपानमा ध्यान दिनुपर्नेजस्ता सुझाव उनीहरूले दिए । मानसिक समस्या देखा परेमा आफूहरूजस्ता चिकित्सक र मनोविद्सँग सम्पर्कमा आउनुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ज्येष्ठ नागरिक आफूहरूको अभिभावकसँगै प्रदेशको गहना र जिउँदो इतिहास भएको बताए । ज्येष्ठ नागरिकहरूको संरक्षणका लागि सरकारले धेरै कार्यक्रम गर्ने योजना बनाए पनि सीमित बजेटका कारण सम्पन्न गर्न नसकेको उनले स्वीकारे । मन्त्री भण्डारीले आगामी दिनमा ज्येष्ठ नागरिकमैत्री कार्यक्रम गर्ने पनि प्रतिबद्धता जनाए ।
‘म पदमा नरहे पनि व्यक्तिगत रूपमा पनि केही गर्न परे गर्नेछु,’ उनले भने, ‘तपाईंहरू हाम्रो पहिचान हो, तपाईंहरूसँग कति ज्ञान छ, हामीले धेरै सिक्नुपर्नेछ, यदि तपाईंहरू किताब लेख्न रुचाउनुहुन्छ भने किताब छपाइदेखि बजारीकरणमा सहयोग गर्नेछु ।’
मन्त्रालयका सचिव धोलकराज ढकालले आफ्नो घरमा पनि वृद्धवृद्धा भएको सम्झिँदै ज्येष्ठ नागरिकका लागि मन्त्रालयले आगामी दिनमा पनि कार्यक्रम गर्ने बताए । उनले वृद्धवृद्धाको सहज जीवनयापनका लागि सरकारका तर्फबाट गर्नुपर्ने कामका बारेमा विभिन्न निकायसँग सुझाव लिएर अगाडि बढ्ने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मानसिक स्वास्थ्य फोकल पर्सन खगेन्द्रप्र्रकाश गैरेले मानसिक स्वास्थ्य समस्या र आत्महत्या रोकथामसम्बन्धी प्रस्तुति दिँदै कर्णालीमा अशिक्षा, गरिबी, बेरोजगारीलगायत समस्याले मानसिक समस्या बढ्दै गएको बताए । उनले मानसिक समस्या बढ्दै जाँदा आत्महत्या पनि बढेको जानकारी दिए । ज्येष्ठ नागरिकमा पनि एक्लोपनले गर्दा मानसिक समस्या बढ्दै गएको भन्दै उनले परिवारका सदस्यले माया र साथ दिएमा यस्ता समस्या कम हुने उल्लेख गरे ।
कार्यक्रममा रुकुम पश्चिमका ज्येष्ठ नागरिक नारायणप्रसाद शर्माले आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्दा परिवारका एक जना सदस्यसहित दिनुपर्ने बताए । ‘हामी त बुढाबुढी भइहाल्यौं, आफ्नो हेरचाह गर्न धेरैले सक्दैनन्,’ उनले भने, ‘त्यसैले हाम्रो साथमा बस्ने हाम्रा आफन्तलाई पनि बुढाबुढी भएपछि यस्तो खालको वातावरण चाहिन्छ, यसरी ख्याल गर्नुपर्छ, केही स्वास्थ्य समस्या आए यसरी माया गर्नुपर्छ भन्ने कुरा सिकाउन जरुरी छ ।’
कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रीय उपाध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारले ज्येष्ठ नागरिकका लागि फरक–फरक कार्यक्रम गर्नुपर्ने बताए । ‘हामीले आठ वर्षदेखि भन्दै आयौं तर सुनुवाइ भएन,’ उनले भने, ‘यसपटक बल्ल कार्यक्रम भएको छ, विशेष गरी ज्येष्ठ नागरिकको स्वास्थ्य समय–समयमा जाँच गरिरहने कुरामा ध्यान दिनुपर्छ ।’ श्रेष्ठले कर्णाली प्रदेशमा रहेका वृद्धाश्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका भवन निर्माण, मर्मतलगायतमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी भएका ज्येष्ठ नागरिकले आफ्नो जिल्लामा रहेका दिवा–सेवा केन्द्रमा रहेका ज्येष्ठ नागरिकलाई पनि मानसिक स्वास्थ्यसम्बन्धी जानकारी दिऊन् भन्ने उद्देश्यले त्यहाँका अगुवालाई बोलाइएको मन्त्रालयले जनाएको छ ।
